तनहुँ कारागारका महिला कैदीबन्दीलाई मानसिक सचेतना कार्यक्रम
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ कारागारका महिला कैदीबन्दीहरुका लागि मानसिक सचेतना कार्यक्रम गरिएको छ । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानअर्न्तर्गत कारागारका महिला कैदीबन्दीहरुलाई लक्षित गरी उक्त कार्यक्रम गरिएको हो ।
कोशिस नेपाल, सञ्चारिका समूह नेपाल तनहुँ, क्रियाशील पत्रकार महिला तनहुँ, सामाजिक विकास कार्यालय तनहुँ, एकद्वार संकट व्यवस्थापन संयन्त्र सेवा केन्द्र -ओसिएमसि)ले संयुक्त आयोजना तथा जिल्ला कारागार कार्यालय तनहुँको समन्वयमा मानसिक सचेतना कार्यक्रम गरिएको हो ।
कारागारमा रहेका १४ महिला कैदीबन्दीलाई कोशिस नेपालका मनोविद सीता भण्डारी र आरती अधिकारीले परामर्श दिएका छन् । उनीहरुलाई विचलन भएको मनलाई व्यवस्थापन गर्ने विधि प्रयोगात्मक रुपमा सहजिकरण गरिएको थियो ।
कारागारमा रहेका कैदीबन्दीले मानसिक विचलनले गर्दा नै आपराधिक क्रियाकलापमा संलग्न भएर सजायको भागिदार बनेकाले उनीहरुको मानसिकतामा व्यवस्थापन गर्न सहयोग पुर्याउन कार्यक्रम उपलब्धी मुलक बन्ने मनोविद भण्डारीले बताइन् । कोशिस तनहुँका परियोजना संयोजक महेन्द्र आचार्यले मानसिक विचलन भएका व्यक्तिलाई मनोपरामर्शको सचेतनाको अभावले अपराधिक गतिविधिमा संलग्न हुने भएकाले मनलाई व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।
तनहुँ कारागारका निमित्त प्रमुख नारायण प्रसाद अधिकारीले कैदीबन्दीको मानसिक सन्तुलनका लागि सीपमुलक तालिमको व्यवस्थापन गरिएको जानकारी गराए । सचेतना कार्यक्रममा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । सिटामोल, रुघाखोकी, जीवनजल लगायतका औषधी समेत कैदीबन्दी वितरण गरिएको छ । महिला कैदीबन्दीका लागि अत्यावश्यक सामग्रीको रुपमा रहेको एक सय थान सेनेटरी प्याड पनि उपलब्ध गराइएको थियो ।










