दमौली अस्पतालमा कोरोनासंग मिल्दाजुल्दा लक्षणका बिरामी बढे
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँमा कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षणका बिरामीको संख्या बढ्दै गएको छ । सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा केही दिन यता उपचारका लागि आएका बिरामीमध्ये करिव २० प्रतिशत भन्दा बढि बिरामीमा यो समस्य देखिएको अस्पतालले जनाएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा पनि यस प्रकृतिका बिरामीको संख्या बढ्दै गएको छ । पछिल्लो सममय एकै परिवारका २/३ जना सदस्यसम्मलाई रुघाखोकी, ज्वारो जस्ता समस्य देखिएकाले स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।
गत बिहीबार जेठो छोरालाई ज्वारो आएपछि विद्यालयबाट घर पठाइएको व्यास नगरपालिका-१ भादगाउँका दिपक पन्थले बताए । उनले भने, ‘छोराको स्वास्थ्य चेकजाँच गरेको २ दिनमा केही सामान्य बन्दै थियो, श्रीमति र कान्छो छोरालाई पनि अहिले ज्वारो देखिएको छ ।’ नीजि स्वास्थ्य संस्थामा उपचार गर्दा डाक्टरले भाइरल ज्वारो भनेपनि कोरोनाको आशंक गर्दै परिवारको सबै सदस्यको पिसिआर परीक्षणका लागि दिएको बताए । ‘पहिले रुघा लागेको जस्तो भएको थियो, भागदौडका कारणले होला भनेर त्यती वस्ता गरिएन’, उनले भने, ‘एक्कासि परिवारका अन्य सदस्यलाई पनि ज्वारोले समात्यो ।’
यस्तै, व्यास-४ की ६८ वर्षीया ज्ञानु श्रेष्ठ आइतबार बिहानबाट झाडापखला भएर दमौली अस्पतालमै भर्ना भएकी छिन् । झाडापखलासंगै वान्ता, टाउको दुख्ने र रिघाउनाले कमजोरी महशुस भएको उनी बताउँछिन् ।
व्यास-७ कलेस्तिकी अनिता बोटे आफ्नो १० दिनको बच्चा बोकेर ३ दिनदेखि अस्पतालमै उपचार सेवा लिइरहेकी छिन् । बच्चालाई अचानक श्वासप्रश्वासमा समस्य आएपछि दमौली अस्पताल आएको उनी बताउँछिन् । कोरोना नेगेटिभ देखिएपनि बच्चाको स्वास्थ्य सामान्य नभएसम्म चिकित्सककै निग्रानीमा राखिएको अस्पतालले जनाएको छ ।

उनीहरुजस्तै अन्य १० जना पनि स्वास्थ्यमा समस्य देखिएपछि अस्पतालमै चिकित्सकको न्रि्रानीमा उपचारसेवा लिइरहेका छन् । अहिले दैनिक अस्पतालमा २५० देखि ३ सय जनासम्म बिरामी उपचार सेवा लिनका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यलले बताए । ‘भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तै लक्षण देखिए पनि परीक्षण गर्दा नेगेटिभ देखिएको छ’, उनले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनीहरुको स्वास्थ्यमा सुधार नआएसम्म चिकित्सकको निग्रानीमा राखिएको छ ।’
उपचारमा आएका बिरामीमध्ये दैनिक ३०/४० जनासम्म भारइल ज्वरोका बिरामी आउने गरेको उनले बताए । उनले भने, ‘रुघा, खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, श्वास फेर्न समस्य हुने, वान्ता आउने, आँखाको भित्री भाग दुख्ने जस्ता लक्षण भएका बिरामीहरु आउने गरेका छन।’ ‘मौषम परिवर्तन संगै आएको भाइरल ज्वरो चिकित्सकको सल्लाह अनुसार घरमै बसेर पनि निको हुन सक्छ’, उनले भने, ‘ज्वरोका कारण केही बिरामीको स्वास्थ्यमा समस्य देखिएकालाई मात्र अस्पतालमै राखेर सेवा दिइरहेका छौं ।’
यस्तै, ज्वरो आएमा सिटामोल खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो खानेकुरा खाने, नियमित बाफ लिनाले पनि स्वस्थ रहन सकिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘भाइरल हो केही दिनमा आफै निको हुन्छ भनेर व्यवस्ता गर्न थालियो भने स्वास्थ्यमा गम्भिर समस्या ल्याउन सक्छ ।’










