रोटर्याक्ट क्लवद्वारा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री
भञ्ज्याङ न्यूज

रोटर्याक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ सैंबु भैसेपाटीले विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । बन्दिपुर-५ भुजेल गाउँ स्थित आधिबाराही प्राथमिक विद्यालयका ६० जना बालबालिकालाई न्यानो कपडा संगै शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।
दुवै क्लबले संयुक्त रुपमा गरेको सहयोग ८० हजार रुपैयाँ बराबरको रहेको क्लबले जनाएको छ । रोटर्याक्ट दमौली र सैंबु भैसेपाटी टि्वन क्लब हुन् । विद्यार्थीलाई स्विटर, टोपी, मोजा लगायतका न्यानो कपडा, शैक्षिक सामग्री र सरसफाईको लागि ब्रस र साबुन वितरण गरिएको रोटर्याक्ट क्लब अफ सैंबु भैसेपाटीकी अध्यक्ष सनम घिमिरेले बताए ।
न्यानो कपडाको लागी सामाजिक कार्यका लागि खेलिएको देउसी भैलो कार्यक्रमका साथै क्लबको अन्य कार्यक्रमबाट संकलन गरेको रकमबाट आर्थिक व्यवस्थापन गरेको रोटर्याक्ट क्लब अफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी गराए ।
कार्यक्रममा रोटर्याक्ट डिस्टि्रक ३२९२ का पूर्व डिआरआर सुशिल कुमार कार्कीले जहा आवश्यक छ त्यहा रोटर्याक्ट क्लबले सहयोग गर्ने बताए । उनले सहि समयमा उचित काम गरेको बताउदै निरन्तरता दिन आग्रह गरे ।










