लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि खारेज गर्न पत्रकार महासंघ तनहुँको माग

दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले लोककल्याणकारी विज्ञापनसम्बन्धी संशोधित कार्यविधि खारेज नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न जिल्ला हुलाक कार्यालय तनहुँलाई आग्रह गरेको छ । महासंघ तनहुँ शाखाले सोमबार जिल्ला हुलाक कार्यालय तनहुँमा ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।
सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्ने व्यवस्था गरे पनि त्यससँग बाझिने गरी कार्यविधि संशोधन गरिएको महासंघको भनाइ छ । संशोधित कार्यविधिका कारण छापामाध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती हुने भन्दै महासंघले असहमति जनाएको हो ।
नेपाल पत्रकार महासंघले संशोधित कार्यविधि खारेज गर्न निरन्तर माग गर्दै आए पनि विज्ञापन बोर्डले त्यसलाई बेवास्ता गर्दै लोककल्याणकारी विज्ञापनको बिल बुझ्ने प्रक्रिया अघि बढाएको भन्दै महासंघ तनहुँले आपत्ति जनाएको छ ।
संशोधित कार्यविधि खारेज गरी सञ्चारमाध्यमलाई पूर्ववत् रूपमा लोककल्याणकारी विज्ञापनको सुविधा उपलब्ध गराउन दबाब दिने उद्देश्यले विरोधका कार्यक्रम अघि बढाउने महासंघले जनाएको छ ।
महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संशोधित कार्यविधि खारेज नभएसम्म लोककल्याणकारी विज्ञापनबापतको बिल नबुझ्न जिल्ला हुलाक कार्यालय तनहुँलाई आग्रह गरिएको छ ।










