बन्दीपुरहिलमा ‘शिव महिम्नाहा उत्सव’ हुँदै

जिल्लाको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुरहिलमा ‘शिव महिम्नाहा उत्सव’ हुने भएको छ । बन्दिपुरहिलले श्रावण १ देखि ३२ गतेसम्म उक्त सांस्कृतिक एवं धार्मिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
भगवान् शिवको आरधना गर्ने महिनाको अवसर पारेर धार्मिक भावना प्रवद्र्धन गर्ने उद्देश्यले ‘शिव महिम्नाहा उत्सव’ आयोजना गरिएको कार्यक्रम आयोजक समितिका संयोजक किरण पोख्रेलले बताए । उनले भने, ‘श्रावण महिनाको प्रत्येक साँझमा बन्दीपुरहिलको वटम स्टेशनमा रहेको सिद्धेश्वर महादेवको मूर्ती अगाडि शिव सन्ध्या आरती हुनेछ । प्रज्वलित आरती केवलकारको माध्यमबाट भजन किर्तन गर्दै बन्दीपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिरसम्म पु¥याईने छ ।’
यस मन्दिरमा भगवान् शिवजीले न्यायीक राज्य प्रशासनको सुरक्षा कवँचको रुपमा तत्कालीन पराक्रमी राजा मणि मुकुन्द सेनलाई वरदान स्वरुप दिएको साक्षात तरवार रहेको कथन छ । यस मन्दिरमा ल्याएर दिव्य देवी आरती गर्ने र भजन किर्तन सहित सांस्कृतिक कार्यक्रम गर्ने उनले बताए ।
यस्तै, प्रत्येक सोमबार “वोलवम पद तथा रोप यात्रा” को विशेष कार्यक्रमहरु रहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । योे यात्रा मस्र्याङ्गदी नदीबाट जल ल्याएर सुरुवात हुने उनले बताए । उनका अनुसार जल लिएर पद यात्रा गरी केवलकार चोकमा पुगेर शिवको आरधाना, प्राङ्गणमा रहेका ३३ कोटी देवी देवताको मुर्तीको दर्शन गरी भजन कृतनगर्दै केवलकार चढी माँ खड्गादेवी मन्दिर परिक्रम गरिने छ । बन्दिपुरको तिनधारामा रहेको तिनधर्के महादेवको ज्योतिर्लिङ्गको दर्शन गरिने बताइएको छ ।
यस अवधिमा बिहान ९ बजे देखि १० बजे सम्मका वोलवममा सहभागी तिर्थयात्रीहरुको लागी केवलकारको टिकट मुल्य दुई सय रुपैयाँ राखिएको बताइएको छ ।










