आदिकवि भानुभक्त क्याम्पसको पूर्वाधार मूल्याङ्कन

दमौली : त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यालय, कीर्तिपुर काठमाडौँबाट आएको एक सम्भाव्यता अध्ययन टोलीले आदिकवि भानुभक्त क्याम्पसको पूर्वाधार मूल्याङ्कन गरेको छ। सहायक डिन डा. बामदेव अधिकारीको नेतृत्वमा आएको टोलीले शनिबार क्याम्पसको स्थलगत निरीक्षण तथा अन्तरक्रिया गरेको हो।
डिनको कार्यालयबाट २०८२ असोज २७ गते जारी गरिएको सार्वजनिक सूचना बमोजिम क्याम्पसले Bachelor in Computer Application (BCA) कार्यक्रम थपका लागि पेश गरेको निवेदनको आधारमा सम्भाव्यता अध्ययन गर्न टोली आएको जनाइएको छ। त्रिविको सम्बन्धन सम्बन्धी विनियम अनुसार क्याम्पसको पूर्वाधार, जनशक्ति तथा शैक्षिक क्षमता मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने उद्देश्यले भ्रमण गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
टोलीले क्याम्पसका प्रशासनिक कार्यालय, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, कक्षा कोठा, सेमिनार हल, तालिम कक्षा, बैठक कक्ष लगायत विद्यार्थी प्रयोगका सुविधा तथा क्याम्पसको भवन, जग्गा, चमेना गृह, शैक्षिक तथा प्रशासनिक जनशक्तिको अवस्थाबारे विस्तृत अवलोकन गरेको थियो ।
सम्भाव्यता अध्ययन टोलीमा इन्जिनियरिङ अध्ययन संस्थान का पूर्व डिन प्रा.डा. शशिधर राम जोशी र संकाय डिनको कार्यालयका मुख्य लेखा सहायक दयाराम जोशीको समेत सहभागिता रहेको थियो। भ्रमणका क्रममा टोलीले क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, आर्थिक समितिका संयोजक चिजबहादुर दरै, क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखहरू, प्रशासन तथा प्राविधिक कर्मचारी र अन्य सरोकारवालासँग अन्तरक्रिया गरेको थियो। टोलीले संकलित विवरणका आधारमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्ने जनाएको छ ।










