समुदायमा कोरोना संक्रमण देखिएपछि भीमाद नगरपालिका अनिश्चितकालका लागि बन्द

भञ्ज्याङ समाचारदाता (भीमाद)
तनहुँको भीमाद नगरापलिकाले मंगलबार राती १२ बजेबाट नगर क्षेत्र अनिश्चितकालका लागि बन्द गरेको छ । समुदायस्तरमा संक्रमण जोखिम बढेको भन्दै अनिश्चितकालका लागि नगरक्षेत्र बन्दको घोषणा गरेको हो ।
यस अघि एक जनामा संक्रमण देखिएकामा हाल उनको सर्म्पर्कमा रहेका भीमाद-६ का चार जनामा एकैसाथ संक्रमण भेटिए पछि नगरपालिकाले सूचना जारी गरेर सबै वडा क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा रोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले जानकारी गराएका छन् ।

नगरपालिकाले जारी गरेको जरुरी सूचनामा मंगलबार राती १२ बजेबाट अर्को सचना नभएसम्मको लागि नगर कार्यपालिकाको कार्यालयबाट कोभिड-१९ संग सम्बन्धित स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कार्यहरु बाहेक सम्पूर्ण कार्यहरु बन्द रहने र भीमाद नगरपालिकाका सबै वडाहरु (१-९) को सम्पूर्ण सेवाहरु पूर्णरुपमा बन्द गर्ने नगरप्रमुख स्तरीय निर्णय भएकाले सोही बमोजिम गर्न गराउन नगरबासीमा अपिल गरिएको छ ।
सार्वजनिक सूचनामा नगर क्षेत्रका सबै संघ संस्था बन्द गर्न तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन भनिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम एवं नियन्त्रणमा सबैले आ-आफ्नो तर्फाट सहयोग एवं समन्वय गर्न आग्रह गरिएको छ ।










