सडक भाँसिदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-थर्पु खण्ड अवरुद्ध (तस्विर सहित)
भञ्ज्याङन्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-५ स्थित कन्टारमा सडक भाँसिदा राजमार्ग अवरुद्ध भएको छ । बुधबार करिव साढे १२ बजेको समयमा सडक भाँसिदा दमौली-थर्पु सडकखण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजिव विष्टले जानकारी गराए ।
मुग्लिङ-पोखरा सडक विस्तार आयोजना अन्तर्गत उक्त स्थानमा सडक फराकिलो बनाउने काम भइरहेको छ । मंगलबार परेको झरीका कारण उक्त सडकको कुनापट्टी पानी जमेको र सोही पानीले निकास खोज्दै जाँदा सडक भाँसिएको उनले बताए ।

सडक भाँसिदा दुवै तर्फ सवारी आवगमन अवरुद्ध भएका छन् । ‘अहिले सडक मर्मतको काम भइरहेको छ’, ट्राफिक प्रहरी प्रमुख विष्टले भने, ‘सडक मर्मतको लागि करिव ५ घण्टा लाग्ने अनुमान गरेका छौं । हाल ह्युम पाइप राखेर सडक सञ्चालनमा ल्याउने तयारी भएको छ ।’
यस्तै, दुवै तर्फी सवारी साधन बन्द हुँदा यस सडक भएर सञ्चालन हुने साना सवारी साधनहरूले बकैल्पिक बाटो दमौली-कलेस्ती-दुइपिप्ले-पोल्याङ हँदै पोखराको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

पृथ्वीराजमार्गको मुग्लिङ-पोखरा सडक विस्तारको काम भइरहेको र वर्षाका कारण ठाउँठाउँमा सानाठुला पहिरो तथा सडक भाँसिदा गन्तव्यका लागि हिडेका यात्रुहरुले सकस झेल्नुपरेको छ ।

तस्विर सौजन्य : जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँ ।










