तीज : मौलिकताभन्दा विकृति धेरै

रासस/ढोरपाटन

महिलाको महान चाड तीजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलिबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा, पोते लगाउने, नाचगान गर्ने र गीतको माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो तर अहिले तीजको मौलिकता हराउँदै गएको छ ।
तीज नजिकिएसँगै बागलुङका बजारदेखि गाउँसम्ममा यसको रौनक बढेको छ । तीज आउन १५ दिन बाँकी छँदै यहाँ दर खाने र नाचगानका कार्यक्रम दिनदिनै भइरहेका छन् । हिजोआज तीज भडि्कलो हुनाका साथै पश्चिमेलीशैली पनि मिसिन थालेको बुढापाकाको गुनासो छ । बागलुङकी ७३ वर्षीया तेजदेवी सापकोटालाई अहिलेको तीज मनै पर्दैन ।
तीजलाई परम्परागत र मौलिक रूपमा मनाउन छोडेर विदेशी संस्कारलाई अँगाल्दा  स्थानीय संस्कार, संस्कृति र परम्परा मेटिन थालेकामा उहाँमा चिन्ता छाएको छ । पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान गरिन्थ्यो तर अहिले एक महिना अगाडिदेखि दर खाने र त्यसमा पनि मदिराका साथै महँगा परिकार खान गरिएको सापकोटाको गुनासो छ । “उतिबेला तीजमा टाढाटाढा भएका दिदीबिहिनीसँग भेट हुन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर गीत आउने गथ्र्यौँ, घरमा पाएको दुःखसुखका कुरा तीजका गीतमा समेटर गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि जीवनमा भएका घटनाका आधारित हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “अहिले त त्यस्ता गीत गाउनै छोडे, मादल, डम्फु र मुजुरा बज्नै छोडे, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमका बाहेक अरु छैनन्, हामीले त दर भनेर केरा, दही मिसाएर खान्थ्यौँ, अहिले ठूलो-ठूलो होटलमा बसेर रक्सी खान्छन्, यस्तो चलनले हाम्रो संस्कृति नै मास्यो ।”
स्थानीयवासी तिलकुमारी खत्रीले परम्परादेखि धार्मिक शास्त्रअनुसार पतिको सु-स्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गरिएकामा अहिले त्यो चलन हराउँदै गएको बताउनुहुन्छ । संस्कृतिका नाममा हुने छाडा गतिविधिले चाडपर्वको महत्वलाइ नै विकृत बनाइदिएको उहाँको भनाइ छ । महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभइ, वर्षभरको दुःख भुलेर नयाँ ढङ्गले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनुपर्नेमा खत्री जोड दिनुहुन्छ । “हाम्रा चार्डपर्वलाई मौलिक रुपमै मनाउनुपरछ, हामीहरूले विदेशीको नक्कल गर्ने होइन तर विदेशीलाई हाम्रो संस्कार संस्कृतिको नक्कल गर्न सिकाउनुपर्छ, पहिले-पहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भडि्कलो रूपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ,” उहाँ भन्नुहुन्छ, “अहिले त दिनदिनै दर खाने कार्यक्रम हुन्छ, दिनदिनै नयाँ कपडा लगाउनु पर्नेहुँदा हुने खानेले त लगाउलान्, खालान्, तर हुँदा खानेलाई कस्तो असर परेको होला ?”
बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी गाउँमाभन्दा सहरी क्षेत्रमा तीज भडि्कलो बन्दै गएको छ भन्नुहुन्छ । बुढापाकाले अहिले पनि पुरानै शैलीमा चाडपर्व मनाउने गरे पनि युवा पुस्ताले आधुनिकता अँगाल्दा तीज पर्वको मौलिकता हराउँदै गएको बताउनुहुन्छ । प्रविधिको बढ्दो प्रयोग र पश्चिमा संस्कृतिको अनुकरणले तीजलगायत चाडपर्व भड्किलो बनेको र अहिले बजारमा आएका गीत पनि परिवारसँग बसेर सुन्न र हेर्न नमिल्ने खालका हुन थालेको उहाँको भनाइ छ ।
“चाडपर्व आफूसँग जे छ, त्यसैमा रमाउन जान्नुपर्छ, अरुको देखासिकीले क्षणिक रमाइलो त होला तर त्यसको असर धेरै लामो समय पर्नसक्छ, तीजको रमझम त जताततै छ, तर सहरमा बढी विकृति भयो भन्ने गुनासो आउँछ, यो साँचो हो, तर गाउँमा अहिले पनि दिदीबहिनी मादल बजार मौलिक गीत गाउनुहुन्छ,” अध्यक्ष अधिकारी भन्नुहुन्छ, “हाम्रा पुराना संस्कार, संस्कृतिलाई युवापुस्ताले ग्रहण गरेर पुरानै शैलीमा मनाउने हो भने युगौँसम्म संस्कृति जीवित रहन्छ, यही हिसाले गयो भने त भावी पुस्ताले तीज वर्षको महत्व र इतिहास नै थाहा पाउने छैनन् ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker