भूकम्पको जोखिमबाट कसरी जोगिने ?

डा. रमेश गुरागाई

नेपाल भूकम्प गइरहने क्षेत्रमा पर्छ । यो जहाँ पनि जहिले पनि भूकम्प जान सक्ने अवस्थामा छ । भूकम्प जाने ठाउँको अवस्थितिको कारणले हो त्यसलाई रोक्न सकिँदैन । जहाँसम्म भूकम्पबाट बच्ने भन्ने कुरा थाहा पाउनलाई भूकम्पले सबैभन्दा बढ्ता असर केले गर्छ भन्ने कुरा थाहा पाउनुपर्‍यो । अहिले पनि जाजरकोटमा जति मानिसहरू तथा धनजनको क्षति भयो त्यसको मुख्यतया कमजोर घरहरूले भत्किएर किचिएर नै मृत्यु र घाइते भएका छन् । यद्यपि भूकम्पको बेला अप्ठ्यारो ठाउँमा ढुंगाहरु लडेर पहिरो गएर पनि केही मान्छेहरूलाई प्रभावित बनाउँछ । तर, त्यो संख्याको हिसाबले अत्यन्त न्यून हुन्छ ।

आगलागीबाट पनि क्षति हुन सक्छ त्यो पनि प्रतिशतको हिसाबले अत्यन्त न्यून हुन्छ । भूकम्पको बेला धनजनमा सबैभन्दा बढी क्षति घर, भवन संरचनाहरू भत्किएर त्यसले किचिएर हुने हो । त्यसैले गर्दा पूर्व तयारीको प्रमुख कुरा भनेको हामीले बनाउने घर संरचनाहरू बलियो, भूकम्प आउँदा नलड्ने, भूकम्प प्रतिरोधी बनाउने हो । हाम्रो मुलुकमा, गाउँघर जस्तै जाजरकोटमा पनि ढुंगामा माटोका घर छन् । ती घरहरूलाई सजिलैसँग भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । यो पैसा भन्दा पनि ज्ञानको कुरा हो । निश्चित उपाय अपनायो भनेदेखि घर संरचना बलियो बनाउन सकिन्छ । हाम्रो नेपालमा बलियो घर बनाउन नीतिगत हिसाबले सरकारको भवन निर्माण संहिता छ, जसमा यी सबै हिसाबले सबै कुरा प्रष्ट उल्लेख छ, बनाउने तरिका पनि उल्लेख छ ।

तर, त्यो ज्ञान गाउँ गाउँमा, नगरमा जसले घर बनाउँछन्, ती घर बनाउने डकर्मीहरूमा पुगेको छैन । इन्जिनियरिङ क्षेत्रमा, इन्जिनियरको माझमा अलिकति यो ज्ञान छ । तर, त्यही कुरा गाउँ गाउँमा पुगेका छैनन् । सबै जनाले बुझेको अवस्था छैन। त्यसैले सबै क्षेत्रमा भूकम्प प्रतिरोधी घर भवन, संरचना बनाउने ज्ञानको कमी छ । त्यसैले ज्ञान, चेतना र क्षमतामा कमी भएको कारणले हाम्रो घर संरचनाहरू कमजोर भइरहेको छ । भूकम्पको बेला सबैभन्दा बढी क्षति त्यसैले गरिरहेको छ ।

समग्र हिसाबमा मुलुकको भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि नयाँ बन्ने घर संरचनाहरू सजिलैसँग सुरक्षित बनाउन सकिने भएकोले त्यसमा थप आर्थिक भार पनि पर्दैन । त्यो नै एउटा मात्र प्रमुख भूकम्प प्रतिरोधी क्षमता बढाउने उपाय हो। तर, घरहरू पहिले नै बनिसकेका छन् । तिनीहरू सबै भूकम्प प्रतिरोधी छैनन् । सबै ठाउँमा नयाँ बन्ने घर थोरै मात्रै हुन्छ । त्यसैले भूकम्प प्रतिरोधको दोस्रो उपाय पनि अपनाउनु पर्दछ । दोस्रो उपाय भनेको बनिसकेका घरलाई बलियो बनाउने हो। त्यसको लागि खर्च अलि बढी लाग्छ । भत्काएर नयाँ बनाउन जति त थप खर्च लाग्दैन । तर, बनिसकेका घरलाई सयकडा २० देखि ३० प्रतिशत थप खर्च गरी प्रबलीकरण गर्न सकिन्छ ।

त्यसको लागि खर्च चाहिँ गर्नुपर्छ । जस्तो १५ लाखको घर छ भने ४ लाख खर्च गर्नुपर्‍यो । त्यो भनेको ठूलो खर्च पनि हो। आज भूकम्प जाने बित्तिकै सबै घरहरूलाई प्रबलीकरण गर्न सकिँदैन । त्यसको लागि तेस्रो उपाय अपनाउन जरुरी छ । त्यो भनेको भूकम्प आउँदा कसरी सुरक्षित रहने, के गर्दा अलिकति सुरक्षित भइन्छ ? घरको तुलनात्मक हिसाबले सुरक्षित ठाउँ कुन हो ? असुरक्षित ठाउँ कुन हो । के गर्‍यो भने बचिन्छ भन्ने कुरालाई बुझेर भूकम्प आउँदा त्यही अनुसारको व्यवहार गर्ने । त्यो सुरक्षाको उपाय चाहिँ घरको प्रकार, सुत्ने ठाउँ अनुसार फरक पर्छ । ठूला घर छ वा ढुंगा माटोको घर छ भने मुख्य बच्ने उपाय भनेको बाहिर दगुर्नु नै हो । किनकि एक तलाको घरमा थोरै समयमा बाहिर जान सकिन्छ । धेरै तले घर छ । आफू माथि छ भने भुँइचालो आउन थालेपछि तल गए भुँइचालोले किच्छ ।

त्यस्तो अवस्थामा घरभित्रकै अलि सुरक्षित ठाउँहरू जस्तो भित्री कुनाहरू, ठूलो बलियो टेबल छ भने टेबलको मुनि तुलनात्मक हिसाबले सुरक्षित ठाउँ हो । यदि त्यसले मात्रै सुरक्षित भइन्थ्यो भने त घर सुरक्षित पनि बनाउनु पर्थेन, प्रबलीकरण पनि गर्नु पर्थेन । तिनले बचेको बच्यै गर्ने भन्ने हुँदैन । तर, तुलनात्मक हिसाबले जीउधनको क्षति हुने सम्भावना अलि कम हुन्छ ।

यी कुराहरूलाई विचार गर्ने सुरक्षाको उपाय हो । यो सँगै आफूलाई सहज हुने गरेर पहिल्यै पूर्व तयारीको रूपमा केही पाल, अत्यावश्यक साधन जोहो गर्नु नियमित रूपमा पनि आवश्यकीय कुरा हो । जुन हामीलाई विपद् पर्दा प्रयोग गर्न सकिन्छ । यो यो चाहिन्छ भनेर लिष्टहरु पनि बनाइएका छन् । तर, त्यही नै चाहिन्छ पूर्व तयारीको लागि भन्ने होइन । आफूले पनि आवश्यकता अनुसारको प्रयोग र तयार गर्ने कुराहरू तयारी अवस्थामा राख्न सकिन्छ ।

जस्तो प्राथमिक उपचारका कुराहरू सिक्नु, खोज उद्धार कसरी गरिन्छ भनेर सिक्नु पनि आवश्यक कुरा हो । उपकरणहरू राख्ने सबै बचिन्छ नै भनेर ग्यारेन्टी गर्ने भन्दा पनि जोखिममा बच्नको लागि जोखिम घटाउने पक्षहरू हुन् । भूकम्पबाट सुरक्षित हुन यी तीनै उपाय पहिलो कुरा नयाँ संरचनाको बलियो बनाउने, दोस्रो भनेको भइरहेको भवन संरचनालाई प्रबलीकरण गर्ने हो । जस्तो अस्पताल, विद्यालय लगायतलाई भूकम्पबाट बच्न भवन प्रबलीकरण गर्न सकिन्छ। भने तेस्रो के गर्ने के नगर्ने भनेर जनचेतना जगाउन आवश्यक छ ।

यी सबै तयारीमा सरकार, अरू संघ संस्था र व्यक्ति सबैको उत्तिकै भूमिका हुन्छ । नीति निर्माण, जनचेतना अभिवृद्धि र नीति नियम कार्यान्वयनको हिसाबले प्रमुख कर्तव्य त सरकारकै देखिन्छ । संघीय सरकारको मात्रै नभएर भवन निर्माण संहिता लागु गराउन स्थानीय सरकारको भूमिका हुन्छ । कार्यान्वयनमा लागु गर्न स्थानीय सरकारको भूमिका हो, उहाँहरूको क्षमता अभिवृद्धिको पनि खाँचो छ । यसमा सबैको भूमिका बराबरी छ । (भूकम्प इन्जिनियर गुरागाईँसँग नेपाल प्रेसले गरेको कुराकानीमा आधारित)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker