शुक्लागण्डकीका माध्यमिक विद्यालयहरुले नियम विपरित विद्यार्थीसंग शुल्क असुल्दै

राजकुमार आले (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले शिक्षा ऐन तथा नगरपालिकाको निर्णय विपरित विद्यार्थीहरुबाट शुल्क असुल्ने गरेको गुनासो बढ्न थालेको छ । विशेष गरी नगरपालिका भित्र ±२ सञ्चालन गरेका विद्यालयहरुले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने क्रममा सहयोगका नाममा नियम विपरित अतिरिक्त शुल्क लिने गरेको अभिभावक तथा विद्यार्थीहरुले गुनासो गरेका छन् ।

तनहुँका १०±२ कक्षा सञ्चालन गरेका अधिकांश विद्यालयहरुले ±२ उत्तीर्ण पश्चात् प्रमाणपत्र लिने क्रममा विद्यार्थीहरुबाट सहयोगको नाममा शिक्षा नियमावलीमा उल्लेख गरिए भन्दा बढि शुल्क लिने गरेको आरोप खेप्न थालेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा स्थित पञ्चमुनिदेव, खैरेनी, गाउँफर्कोदय लगायतका माध्यमिक विद्यालयहरुले विद्यार्थीहरुबाट बढि शुल्क लिएको अभिभावकहरुले गुनासो गरेका छन् ।

विद्यालयले शिक्षा नियमावलीमा व्यवस्था गरिएको र शुक्लागण्डकी नगरपालिकाको शिक्षा समितिले तोकेको शुल्क भन्दा छ गुणासम्म शुल्क असुलेको अभिभावकहरु बताउँछन् । कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुसंग सहयोगको नाममा पाँच सय पर्ने प्रमाणपत्रको ३ हजार रुपैयाँसम्म लिने गरेको अभिभावक जानकी कार्की बताउँछिन् ।

विद्यालयहरुले सेवाको नाममा विद्यार्थी तथा अभिभावकहरुमाथि आर्थिक भार थुपारेको अभिभावक कार्कीको गुनासो छ । उनले भनिन् ‘दुइ छोरीहरुलाई पञ्चमुनिदेव माध्यमिक विद्यालयमा पढाएकी छु, स्कुलले धुरुक्कै रुवाएको छ । मेरो मन असाध्यै दुखेको छ, किनभने त्यहाँ डिपोजिट राख्ने भन्दै अतिरिक्त पैसा तिर्नु परेको छ, उनले भनिन्, हामी अभिभावकहरुलाई गाह्रो छ, कमाई पनि छैन घरको अवस्था पनि कम्जोर छ । कक्षा १२ उत्तीर्णको प्रमाणपत्र लिन पनि तीन हजार रुपैयाँ तिर्नु पर्‍यो, यो त महंगो भयो नि । बिल नतिरेसम्म छोरीहरु विद्यालय नै जान मान्दैनन् ।’

‘छोराछोरीहरु स्कुलमा विल नतिरेसम्म हामी स्कूल जान्नौं मम्मी भन्छन्’, अभिभावक कार्कीले भनिन् किनभने सरहरुले साथीहरुको अगाडि उभ्याउने, परीक्षामा सहभागी हुन नदिने भनेर डर, त्रास देखाउनुहुन्छ भन्दै स्कुल जानसमेत मान्दैनन्, यो भन्दा दुःखको कुरा के हुन सक्छ ? शिक्षा क्षेत्रमा त यस्तो छ भने अरु क्षेत्रमा कस्तो होला ?’

त्यस्तै अर्की अभिभावक लक्ष्मी क्षेत्रीले विद्यालयले सहयोगको नाममा आफुहरुमाथि आर्थिक भार थपेको गुनासो गर्छिन । ‘सहयोग भनेर मागे त हामीले आफ्नो क्षमता अनुसार जसले पनि सहयोग गर्न सक्छ नि हैन, तर यहाँ जबरजस्त छ, सबैले तिरेपछि तिर्नै पर्‍यो, पेट पोल्छ, के गर्नु-‘, उनले भनिन् ‘हामी त दुखै गरेर खाछम, पैसाको दुखै छ, सरकारी स्कुल भन्छ, जेमा पनि पैसा लिएको छ, नियम अनुसार केही छैन ।’

यस्तै, एक महिना पनि नपढेका विद्यार्थीहरुबाट पाँच हजार रुपैयाँ उठाएर एक रुपैयाँ पनि फिर्ता नगरेको, कक्षा १२ को दाईदिदीलाई विदाइ गर्ने भन्दै हरेक विद्यार्थीबाट एक/एक हजार रुपैयाँ उठाएर कार्यक्रम पनि नगरेको विद्यार्थी अनिशा मगरले बताइन् । अर्की विद्यार्थी सुविना थापाले विद्यार्थीसंग पैसा उठाएर स्कुलले पार्टी प्यालेसमा गएर खर्चिलो कार्यक्रम गर्ने गरेको बताइन्। उनले कार्यक्रमका लागि विद्यार्थीबाट संकलन भएको र खर्च गरेको रकमबारे विद्यार्थीहरुलाई र्सार्वजनिक रुपमा केही जानकारी पनि नदिने लगायतका कार्यहरु गरेकोमा उनको गुनासो छ ।

विद्यार्थीहरुबाट बढि शुल्क लिएको विषयमा पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्लले अभिभावकहरुकै मञ्जुरीमा शुल्क लिइएको बताए । ‘विद्यार्थी संख्या अनुसार सरकारले दरबन्दी नदिंदा अभिभावकहरुबाट सहमतीमै सहयोग संकलन गरिएको हो’, उनले भने, ‘तपाईलाई थाहा छदैछ, विद्यालयमा ११७ जना स्टाफहरु हुनुहुन्छ । सरकारी दरबन्दीमा जम्मा ४१ जना छन् । स्टाफको तलब भत्ता विद्यालयले नै व्यहोर्नुपर्छ । हामीले सहयोगका लागि बाध्य गरेका छैनौं । कसैले सक्दैनम् भन्यो भने, हामीले निःशुल्क पनि उपलब्ध गराएका छौं । विद्यार्थीहरुबाट शुल्क लिनु हाम्रो बाध्यता पनि बनेको छ ।’

‘अभिभावकले नै खुसी साथ दिनु भएको हो’, उनले भने, ‘विद्यार्थीलाई गुणस्तरी शिक्षा प्रदान गर्न अभिभावकको सहयोगको खाँचो पर्ने हुँदा अभिभावकले नै सहयोग गर्र्छौ भनेपछि हामीले अतिरिक्त शुल्क लिने गरेका छौं ।’ त्यस्तै, विद्यार्थीहरुबाट चारित्रिक प्रमाणपत्रको २५ सय रुपैयाँ असुल्दै आएको खैरेनी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरले विद्यालय व्यवस्थापन समितिबाट निर्णय भए अनुसार शुल्क लिइएको बताए । ‘आफु निःशुल्क रुपमा प्रमाणपत्र वितरण गरौँ भने पनि मान्ने मान्छे हो’, प्रधानाध्यापक घिमिरेले भने, ‘समितिले जे निर्णय गर्छ त्यो विद्यालयले कार्यान्यवन गरेको हो । हामी त निःशुल्क भने निःशुल्क, दुइ सय भने दुइ सय, पाँच सय भने पाँच सय लिन्छौ, समितिले २ हजार ५ सय रुपैयाँ लिने भनेर निर्णय गरेको छ ।’

नगरकै गाउँफर्कोदय माध्यमिक विद्यालय घारी तालवेशीले पनि विद्यार्थीबाट प्रमाणपत्रको ३ हजार रुपैयाँ लिदै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डण्डबहादुर केसी (विशाल)ले शुल्कका विषयमा नगरबाट कुनै परिपत्र नभएको र सबैले सोही हाराहारीमा शुल्क लिएकाले आफुहरुले ३ हजार रुपैयाँ लिने निर्णय गरेको बताए । उनले भने, ‘हामीले नीतिलाई अमान्य गर्नै मिल्दैन, उताबाट निर्देशन गर्‍यो भने हामीले लिनै मिल्दैन र लिदैनौँ ।’

यसैगरी शुक्लागण्डकीको जनप्रेमी माध्यमिक विद्यालय लामागाउँ र छब्दी माध्यमिक विद्यालय छब्दीदेउरालीले पनि २ हजार ५ सय रुपैयाँ, हंशबाहिनी माध्यमिक विद्यालय एक्लेखेतले १ हजार ७ सय, गाउँफर्कोदय माध्यमिक विद्यालय गणपते, आधारभुत माध्यमिक विद्यालय साँखे, संस्थागत विद्यालय सुर्योदय माध्यमिक विद्यालय भुरुङ्गेले समान १ हजार पाँच सय रुपैयाँ शुल्क लिने गरेका छन् । यसरी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई पढाइ पुरा गरेको प्रमाणपत्र उपलब्ध गराउँदा नियम विपरित सहयोग भन्दै अतिरिक्त शुल्क लिने गरेको गुनासो बढेपनि नियमनकारी निकायले यस तर्फ खासै चासो देखाएको पाइदैन ।

विद्यालयले अतिरिक्त शुल्क लिएको विषयमा शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले शिक्षा क्षेत्रमा धेरै बेतिथिहरु देखिएको बताए । उनले यस विषयमा नागरिक समाजबाट पटक पटक आवाज उठाइरहेको बताउँदै सम्बन्धित निकायलाई घच्घच्याई रहेको र निःशुल्क भएपछि निःशुल्कै हुनुपर्छ भन्ने नागरिक समाजको धारणा रहेको बताए । उनले भने, ‘सरकारले निःशुल्क भनेको छ, विद्यालयहरुले अनेक बाहाना बनाएर पैसा उठाइरहेका छन्, सरकारले कानमा तेल हालेर बस्छ, अभिभावकहरुलाई परेको मार्कामा कसलाई कहाँ गुहार्ने भन्या, राज्यको नीति नियम कार्यान्यवन गर्ने निकाय नै मौन छ । एउटै विद्यालयको हाताभित्र फरक फरक पोशाक, पढाइले गर्दा विद्यार्थीहरुबीच विभेद गरेको देखिन्छ ।’

यस्तै, शुक्लागण्डकी नगरपालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख एवं नगर शिक्षा समितिका संयोजक उपसचिव नवराज चापागाइले नेपाल सरकारले जति राजश्व लिन्छ त्यो भन्दा बढी प्रमाणपत्र शुल्क लिन नपाइने व्यवस्था गरिएको बताए । उनले भने, ‘२५० रुपैयाँ नेपाल सरकारलाई राजश्व तिर्नुपर्ने र विद्यालयले पनि २५० भन्दा बढी लिन नपाउने गरी पाँच सय रुपैयाँ सर्टिफिकेट सबै उपलब्ध गराउने, त्यो हामीले पनि निर्णय गराएका छौं ।

‘विद्यालयहरुले प्रमाणपत्र उपलब्ध गराउँदा बढि शुल्क लिने गरेको गुनासो आउने गरेको छ’, उपसचिव चापागाईले भने, ‘विद्यालयका प्रधानाध्याकहरुलाई राखेर सरकारले तोकेको भन्दा बढी शुल्क नलिनु, नियममा यी कुरा छ भनेर सचेत गराएका छौं । अभिभावक र विद्यार्थीहरुबाट आएको गुनासोलाई सम्बोधन पनि गरेका छौँ, नियम विपरीत भएको भए कारवाहीको दायारामा ल्याउँछौं ।’

नियम विपरीत विद्यार्थीसंग शुल्क लिएको पाइए तत्कालै फिर्ता गराउँछौं : नगरप्रमुख गुरुङ

यता, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नियममा नै नभएको विषयलाई शिक्षकहरुले जबरजस्त लाद्न खोज्नु दुःखद पक्ष भएको बताए । ‘यस विषयमा विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र लेखापालसंग तुरुन्तै स्पष्टिकरण सोध्छौ’, नगरप्रमुख गुरुङले भने, ‘विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी नभएकाले निजी श्रोतमा राखिएकालाई तबल भुक्तानीका लागि उठाइएको भन्ने गरिन्छ भने विद्यालयको आम्दानीको खोजि गर्न जरुरी छ ।’

नगरप्रमुख गुरुङले भने, ‘विद्यार्थीबाट शुल्क लिएर शिक्षकलाई व्यवस्थापन गर्ने कुरामा हाम्रो सहमती हुँदैन, विद्यार्थीबाटै विभिन्न बाहानामा त्यसरी शुल्क लिन पाउने नियममा छैन, यदि लिएको हो भने तुरुन्तै विद्यार्थीलाई लिएको शुल्क फिर्ता गर्नुपर्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker