तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै

दमौली : जिल्लामा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा एक वर्षमा ५९ हजार ७१ सर्वसाधारणले सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा चिकित्सालयबाट २१ हजार १८३ महिला र ३७ हजार ८८८ पुरुषले आयुर्वेद सेवा लिएका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइँले जानकारी दिनुभयो । गत आव २०८०/८१ मा २० हजार र आव २०७९/८० मा १९ हजार २१७ जनालाई सेवा प्रदान गरिएको थियो ।

कार्यालयले बिहान ६ बजेदेखि ११ बजेसम्म स्नेहन, श्वेदन, बस्ती कर्म, नस्य, जलनेती र शिरोधारा सेवा प्रदान गर्दै आएको छ । पछिल्ला केही वर्षयता जिल्लामा आयुर्वेद चिकित्साबाट गरिने उपचार पद्धतिमा सर्वसाधारणको विश्वास बढ्दै गएको चापागाइँले उल्लेख गर्नुभयो । उहाँका अनुसार केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षित गरी थेरापी गर्ने उपकरण पनि सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी उपकरण खरिद गरेर सञ्चालनमा ल्याएपछि ढाड तथा हड्डीसम्बन्धी समस्या भएका बिरामी आउने क्रम बढेको उहाले बताउनुभयो । “हाडजोर्नी, नशा च्यापिएका बिरामीको आकर्षण आर्युर्वेदमा बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरलगायत रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको कविराज निरीक्षक चापागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको आवश्यकता र रोग अनुसारको दैनिक योग पनि सञ्चालन हुँदै आएको छ । आर्युर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि भएको चापागाइँको भनाइ छ ।

गत एक वर्षको अवधिमा बहिरङ्ग (ओपिडी)तर्फ १५ हजार ९३२, ज्येष्ठ नागरिक सेवातर्फ चार हजार २२८, योगसेवातर्फ १४ हजार ११९, पूर्वकर्म, पञ्चकर्म सेवातर्फ १६ हजार ३७६, स्तनपायी आमा तथा शिशु सेवातर्फ १८८, क्षारसुत्र सेवातर्फ ३३, प्रयोगशाला सेवातर्फ दुई हजार ३४०, फिजियो थेरापीतर्फ पाँच हजार ६२१ र बाँकीले शिरोधारातर्फको सेवा लिएका उहाँले जानकारी दिनुभयो ।

चिकित्सालयले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै जिल्लाका स्थानीय तह, सरोकार भएका निकायलगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवर्द्धन गरिरहेको चापागाइँले उल्लेख गर्नुभयो । उहाँका अनुसार कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक कविराज, दुई वैद्य, एक सहलेखापाल र दुई कार्यालय सहयोगी कार्यरत छन् ।

“बिरामीको नाम दर्ताका लागि रु १० शुल्क निर्धारण गरिएको छ । बिरामी परीक्षण, औषधि वितरण, प्राथमिक उपचार सेवा निःशुल्क छ । पञ्चकर्म तथा पूर्वकर्म सेवाका लागि रु १५० निर्धारण गरिएको छ भने ज्येष्ठ नागरिकका लागि रसायन औषधि वितरण, स्तनपायी आमाका लागि दुग्धवर्द्धक औषधि वितरण, योग सेवा निःशुल्क गरिएको छ”, चापागाइँले भन्नुभयो । उहाँका अनुसार क्षारसुत्र सेवाका लागि शल्य चिकित्सा सेवातर्फ रु पाँच हजार निर्धारण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker