गण्डकीमा ९६ प्रतिशत रोपाइँ, तनहुँमा ९६ दशमलव २२

गण्डकी : गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिनुभयो ।
कास्कीमा ९८ दशमलव ५०, म्याग्दीमा ९८ दशमलव ३०, लमजुङमा ९८, स्याङ्जामा ९८, बागलुङमा ९७, तनहुँमा ९६ दशमलव २२ र नवलपुरमा ९४ प्रतिशत रोपाइँ भएको हो । यस वर्ष प्रदेशभरिमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने अनुमान निर्देशनालयको छ । गत वर्ष ९७ हजार सात सय ६९ हेक्टरमा धानखेती गरिएको थियो । प्रदेशको कुल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धानखेती हुँदै आएको छ ।
यही साताभित्रमा प्रदेशभर रोपाइँ सकिने अनुमान गरिएको कृषि अधिकृत पोखरेलले बताउनुभयो । गत असार १५ सम्ममा प्रदेशमा जम्मा १५ प्रतिशत रोपाइँ भएकामा त्यसयता बढेर ९६ प्रतिशत पुगेको हो । पछिल्लो समय मनसुन सक्रिय भएकाले रोपाइँ सहज भएको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यस्त छन् ।
बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने यहाँका फाँटमा मध्यजेठदेखि नै रोपाइँ सुरु हुन्छ । यस वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको उहाँको भनाइ छ ।
नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट र सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार र करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट र कलेस्तीफाँट तथा कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानका पकेट क्षेत्र हुन् ।
पर्वतको फलेवास र जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला र गल्याङ, म्याग्दीको भगवती, पिप्ले र घतान, बागलुङको बडिगाड, गलकोट र जैमिनी तथा नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker