औधोगिक ग्राम निर्माणका लागि भानुले बजेट पायो
भञ्ज्याङन्यूज
तनहुँको भानु नगरपालिकामा औधोगिक ग्राम निर्माणका लागि १ करोड बजेट प्राप्त भएको छ । नगरपालिकाको वडा नं. ३ को खहरे बजारदेखि ६ सय मिटर नजिकै करिब ५८ रापनी क्षेत्रफलको जग्गामा औधोगिक ग्राम निर्माणाधीन अवस्थामा छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औधोगिक ग्राम निर्माणका लागि १ करोड रकम बिनियोजन गरेको हो । यही असार मसान्त काम सक्न टेन्डर प्रक्रिया समेत शुरु हुन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।
नगरपालिकाले सो स्थानमा औधोगिक ग्राम निर्माणका लागि २४ करोड २८ लाख २५ हजार रुपैंयाको डिपिआर तयार गरिसकेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
औधोगिक ग्रामका लागि पहुँचमार्गको स्तरोन्नती गर्ने, औधोगिक ग्राम भित्र सडकको ट्रयाक खोल्ने, जग्गा सम्याउने र रिटर्निङ वाल लगाउने कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने र औधोगिक प्रयोजनका लागि ट्रस निर्माण गरिने भएको छ ।
नगरपालिका भित्र औधोगिक ग्राम स्थापना गरी विभिन्न उद्योग संचालन गर्न अनुमति दिने र नगरपालिकाका जनशक्तिलाई रोजगारी सृजना गरी नगरबासीको आर्थिक अवस्था उकास्ने नगरपालिकाको मुख्य उद्देश्य रहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।