दमौलीको आदिकवि भानुभक्त क्याम्पसलाई प्रदेशको उत्कृष्ट क्याम्पसको पुरस्कार

दमौली : तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस गण्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रूपमा पुरस्कृत भएको छ । क्याम्पसलाई राष्ट्रिय शिक्षा पुरस्कार–२०८१ बाट सम्मानित एवं पुरस्कृत गरिएको छ ।
राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा बुधबार शिक्षा विकास निर्देशनालय, कास्की पोखराले आयोजना गरेको एक कार्यक्रममा क्यम्पसलाई सम्मान गरिएको हो। निर्देशनालयले राष्ट्रिय शिक्षा पुरस्कारका लागि सिफारिस तथा प्रदेश शिक्षा पुरस्कार वितरण मापदण्ड २०८१ बमाजिम सामुदायिक क्यम्पस तर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा सम्मान एवं पुरस्कृत गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
कार्यक्रममा सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु थापा, मन्त्रालयका सचिव प्रकाश पौडेल र शिक्षा विकाश निर्देशक अम्विका आचार्यले क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई सम्मान पत्र, नगद सहित पुरस्कृत गरिएको थियो ।
सो अवसरमा मन्त्रालयबाट गण्डकी प्रदेशमा सञ्चालन भइरहेको उच्च शैक्षिक संस्थाहरु मध्ये गुप्तेश्वर बहुमुखी क्याम्पस कास्की, द्रव्य शाह बहुमुखी क्याम्पस गोरखा, मध्यविन्दु बहुमुखी क्याम्पस पूर्वी नवलपुर र जनप्रिय बहुमुखी क्याम्पस कास्कीलाई पनि पुरस्कृत गरिएको थियो ।










