तनहुँको देवघाट गाउँपालिकाद्वारा कृषक समुहलाई बोयर बोका वितरण

- भञ्ज्याङ समाचारदाता (देवघाट)
तनहुँको देवघाट गाउँपालिकाले गाउँपालिका भित्रका कृषक समुहलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले ७ वटा कृषक समुहलाई १४ वटा उन्नत जातको बोयर बोका वितरण गरेको हो ।
व्यवसायीक बाख्रा पालनमा कृषकलाई आबद्ध गराउन कृषक समुह मार्फत बोका वितरण गरिएको गाउँपालिकका अध्यक्ष दुर्गबहादुर थापाले बताए । विभिन्न वडा बाख्रा पालनको लागि पकेट क्षेत्र भएपनि कृषकहरुले त्यसबाट लाभ लिन नसकेको भन्दै अध्यक्ष थापाले अब उन्नत जातको बाख्रा पालनबाट प्रसस्त आम्दानी लिनु पर्ने बताए । समुह मार्फत बितरित ब्याड बोकाबाट सबै कृषकहरुले लाभ लिनु पर्ने अध्यक्ष थापाले बताए ।
गाउँपालिकाले खरिद गरेर बाख्रा पालन पकेट घोषित क्षेत्रहरु मास्दी दोभान, जैथुम छेराङ, घन्टाचुली, आइलुङ, नाल्बुङ, कोटा र बगन्दीका कृषक समुहलाई २ वटाको दरले बोयर जातको ब्याड बोका अनुदानमा वितरण गरिएको गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पुर्णचन्द्र अधिकारीले बताए ।










