जनप्रतिनिधि र कर्मचारीलाई छोराछोरी सामुदायिक विद्यालयमा पढाउन व्यासको निर्देशन
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने निर्णय गरी निर्देशन जारी गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने संकल्प गर्दै शिक्षक, कर्मचारीका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिने निर्णय गरेको हो ।
सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि यो निर्णय गरिएको प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङले जानकारी दिए । बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आगामी जेठ मसान्तसम्म नगर शिक्षा ऐन नियम अनुसार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
प्रवक्ता गुरुङका अनुसार नगरपालिकाभित्रका केही विद्यालयमा अत्यन्त न्यून विद्यार्थी भएकाले त्यस्ता विद्यालयमा कक्षा व्यवस्थापन एवं समायोजन गर्ने गरी दरबन्दी मिलान प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ ।

यस्तै, नगरपालिका अन्तर्गत वडा नम्बर ११, १०, ९, ७ मा रहेको पराशर मार्ग (घाँसीकुवा-फराकचौर-अधेरीभञ्ज्याङ-माझफाँट, नरङ्गा कलेस्ती)को १०.५ किलोमिटर विश्व बैंकको सहयोगमा निर्माण हुने मार्गको टेण्डर प्रक्रिया पूरा भई निर्माण अघि बढाउने सम्बन्धमा सम्बन्धित आयोजनाका परामर्शदाताबाट प्रस्तुतीकरण भई उक्त योजनाको बाँकी रहेका करिब २२ करोड रुपैयाँलाई अर्को प्राथमिकताका योजनामा लगानी गर्न शहरी विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ ।
यसैगरी व्यास नगरपालिकाको फोहर व्यवस्थापन गर्न, वर्गीकरण गर्ने काममा जनस्तरमा परामर्श दिन नियुक्त विज्ञ कृष्णप्रसाद भण्डारीबाट हाल सम्पन्न प्रगति विवरण, सुझावहरु बैठकमा पेश भएको र १५ गतेदेखि वडाहरुमा फोहर वर्गीकरण अभियान प्रारम्भ गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाले हालसम्म कुल बजेटको हालसम्म ६६ प्रतिशत प्राप्त भएकोमा आन्तरिक तर्फ ५९ प्रतिशत, चालु तर्फ ५६ प्रतिशत, पुँजीगत तर्फ २५ प्रतिशत वित्तीय प्रगति भएको र कुल खर्च ४३ प्रतिशत रहेको बैठकमा जानकारी गराइएको थियो ।










