मौरतीको उपचारका लागि आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिका-१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारका लागि विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन गरी सहयोग गरिएको छ ।
जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि भानु-१३ कै युवा एवं जिल्ला समन्वय समिति तनहुँका पूर्व सदस्य गल गुरुङको सक्रियतामा आर्थिक संकलन गरी सहयोग गरिएको हो ।
सोही वडास्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत मौरतीका बाबुको निधन भइसकेकाले घरका अन्य सदस्यको आयस्रोत नहुँदा उपचारमा समस्या भएकाले आर्थिक सहयोग संकलन गरी उपलब्ध गराएको गुरुङले बताए ।
आर्थिक अवस्था अत्यन्त न्यून रहेका मौरती परिवारले उपचार खर्च जुटाउन नसकेपछि गुरुङले विभिन्न व्यक्तिहरुसंग संकलन गरिएको १ लाख ७८ हजार ४८४ रुपैयाँ विहीबार पीडित मौरातीलाई हस्तान्तरण गरेका छन् ।
बालक मौरतीको उपचारको लागि खर्च जुटाउन सोही वडा निवासी देशविदेशमा रहेका व्यक्तिले सहयोग गरेका कारण उपचारमा केही सहज भएको गुरुङले बताए। उनका अनुसार हालसम्म करिब ३ लाख ५० हजार रुपैयाँ संकलन भएको छ ।
फोक्सो र कलेजोमा समस्या भएपछि काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पहिलो फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने दोस्रो पटक कलेजो पाइपमार्फत शल्यक्रिया गरिएको थियो ।
चिकित्सकले पुनःफलोअप गर्दा बालकको कलेजोको पनि ओपन अप्रेशन गर्नुपर्ने बताएको छ । कलेजोको पाइप मार्फत उपचार गरेता पनि सफल नभएपनि पुनः ओपन अप्रेशन गर्न आर्थिक संकलन भइरहेको गुरुङले बताए ।
१७ वर्षीय मौरतीलाई सुरुमा खोकी लाग्ने वान्ता आउला जस्तो समस्या देखिनुका साथै सास फेर्न समेत गाह्रो हुने गरेको थियो भदौ महिनाबाट स्वास्थ्यमा समस्या देखिएपछि असोजबाट औषधी प्रयोग गरी उपचार गरिएको थियो ।
गुरुङले यस अगाडि पनि भानु नगरपालिका-१२ छहरेका मृगौला पीडित याम गुरुङलाई करिब १० लाख रुपैयाँ आर्थिक संकलन गरी उपलब्ध गराएका थिए भने भानु-१३ का मृगौला पीडित विष्णु भुजेलको उपचारका लागि पनि विभिन्न संघ संस्था तथा व्यक्तिबाट आर्थिक संकलन गरी उपलब्ध गराएका थिए ।










