तनहुँका १४ हजार २७८ जना किशोरीहरुलाई एच.पि.भी. खोप लगाइदै

दमौली : महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापुलीना भाइरस) विरुद्धको खोप तनहुँका १४ हजार बढी किशोरीहरुलाई लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँका कक्षा ६ का २ हजार ७८३, कक्षा ७–१० सम्मका ११ हजार २९५ जना गरी १४ हजार ७८ जना र विद्यालय नजाने १० वर्ष उमेर समुहका ५० जना र ११–१४ वर्ष उमेर समुहका १५० जना गरी २०० जनालाई यो खोप लगाइदै ।
प्रदेश जनस्वास्थ्य कार्यालयले तनहुँमा पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म भानु, व्यास नगरपालिका र देवघाट, बन्दीपुर, आँवुखैरेनी गाउँपालिकाका किशोरीहरुलाई खोप लगाउने कार्यक्रम तय गरेको छ । यस्तै, दोश्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी, भिमाद नगरपालिका र म्याग्दे, घिरिङ, ऋषिङ गाउँपालिकाका किशोरीहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
विद्यालय जाने किशोरीहरुलाई विद्यालयमै तयार गरिएको खोपकेन्द्रबाट र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई परिचय खुल्ने कागजपत्र सहित पायक पर्ने विद्यालयमा गएर खोप लगाउन सक्ने व्यवस्था गरिएको उनले बताए । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुने भएकाले अभियानकै रुपमा यो खोप कार्यक्रम अगाडि बढाइएको उनले बताए ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले मंगलबार जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारी र पत्रकारका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले एचपिभी खोपबाट लक्षित समूहको कुनै पनि छोरीहरु नछुट्ने गरी लगाउन आग्रह गरे ।
उनले जिल्लास्तरका सरकारी, गैरसरकारी निकाय एवं निजीस्तरका अस्पताल, नर्सिङ्ग होम, शिक्षण संस्थाहरु, सरकारी सामुदायिक शिक्षण संस्थाहरु, स्थानीय तहहरुसंग समन्वय गरी स्थानीय स्रोतको पहिचान र परिचालन गर्ने र अभियानको अनुगमन गर्ने तयारी गर्न समेत आग्रह गरे ।
खोप अभियानलाई प्रभावकारी बनाउन र लक्षित समुहसम्म पु¥याउनका लागि आवश्यक प्रचार प्रसार गर्न, खोप पश्चात हुनसक्ने अवान्छित घटनाको तुरुन्त व्यवस्थापनका लागि सम्बन्धित पालिकास्तरमा मेडिकल अधिकृतको संयोजकत्वमा गठित एईएफआई व्यवस्थापन समितिलाई परिचालन गर्न, प्रादेशीक अस्पताल दमौली तनहुँबाट सहयोग पु¥याउन सबै सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।
यस्तै, कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पाठेघरको मुखको क्यासरको डरलाग्दो अवस्थामा सरकारले यो वर्ष खोप अभियानकै रुपमा देशैभर सञ्चालन गरिएको हुँदा यसको प्रभावकारिता देखाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
एचपिभी खोप अभियान २०८१ मा जिल्लाभर २५९ खोप केन्द्रबाट २५९ जान स्वास्थ्यकर्मीहरुले खोप लगाउने छन भने ५१८ जान स्वास्थ्य स्वयंसेवक खटिने कार्यालयले जनाएको छ । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप नेपालसहित ४५ राष्ट्रमा प्रयोगमा ल्याइएको बताइएको छ । पछिल्लो समय नेपालमा पनि समस्याका रूपमा देखा परेको यो रोग नियन्त्रणका लागि फलदायी हुने अपेक्षाका साथ नेपाल सरकारले यस वर्षदेखि देशब्यापी रुपमा कार्यक्रम सञ्चालन गरेको छ ।
एचपिभी संक्रमणले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्दछ । पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा धेरै जसोमा लक्षण र चिन्हहरु नदेखिने र अन्तिम अवस्थामा मात्र पहिचान हुन सक्ने विज्ञहरुले बताएका छन् । यसको संक्रमण पश्चात तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्तअल्पत्ता जस्ता लक्षणहरु देखिने बताइएको छ ।
यो रोगबाट बच्ने प्रमुख उपाय भनेको किशोरी अवस्थामा एचपिभी खोप लगाउने नै हो । यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएको छ । संक्रमित पुरुषबाट महिलामा असुरक्षित यौन सम्पर्क हुँदा सर्ने भएकाले सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउनु सुझाइएको छ । समयमै संक्रमण पहिचान गर्न पाठेघरको मुखको नियमित जाँच गराउनु पर्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
यस्तै, विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त एचपिभी खोप एक सुरक्षित तथा प्रभावकारी खोप भएको बताइएको छ । सधारणतया यो खोपको प्रयोग पश्चात अवान्छित घटनाहरु देखिने सम्भावना अत्यन्त न्यून रहेको बताइएको छ । यसबाट हुन सक्ने सामान्य असरहरु खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु, टाउको दुख्नु, वाकवाकी लाग्नु थकान महसुस हुनु, रिंगटा लाग्नु, ज्वरो आउनु, एलर्जी रियाक्सन आदि हुने सकने बताइएको छ ।
यी सामान्य असरहरु भएकाले केही समयमा आफै हराएर जाने बताइएको छ । खोप लगाएपश्चात देखा पर्नसक्ने यस्ता सामान्य असरहरुको अनुगमन तथा व्यवस्थापनका लागि खोप लगाएको कम्तिमा ३० मिनेट खोप केन्द्रमै विश्राम गर्नुपर्छ । यदी यस्ता असरहरु रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाइएको छ । हाललाई यो खोप १४ वर्ष पुगी १५ वर्ष ननाघेका किशोरीहरुलाई लक्षित गरी अभियान सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।