गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

  • भञ्ज्याङ समाचारदाता (पोखरा)

गण्डकी प्रदेशसभाको चालु छैठौं अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रदेशसभाको सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसमा चालु अधिवेशन सोमबारै रातको १२.०० बजेदेखि अन्त्य गर्नुभएको पत्र पढेर सुनाउनुभयो ।

यस अघि बैठकमा प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले चालु अधिवेशनले बजेट ल्याउनुका साथै विभिन्न १४ वटा विधेयक पारित गरेको जानकारी गराउनुभयो । प्रदेशको समृद्धिका लागि सरकार क्रियाशिल रुपमा लागि परेको बताउँदै उहाँले लक्षित कार्यक्रम सम्पन्न गर्नेतर्फ निरन्तर क्रियाशिल बनेको उल्लेख गर्नुभयो । पार्टीहरू सत्ता वा प्रतिपक्ष सबल भएमा लोकतन्त्र बलियो बन्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पार्टीहरू सुदृढ बन्दै गएमा जनताले पनि सुख पाउने बताउनुभयो । संस्थागत, संरचनागत सुदृढीकरणसँगै आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा मुख्यमन्त्रीको जोड थियो। बहुवर्षीय आयोजनाका कारण शुरुमा पेश्की दिनुपर्ने र काम सम्पन्न भैनसक्ने अवस्थाका कारण प्रदेशमा बेरुजुको अवस्था बढी देखिएको उहाँले बताउनुभयो । कोरोना महामारीसँग नेपाल नहारेको बताउँदै मुख्यमन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा यसको रोकथाम र नियन्त्रणमा सफलता प्राप्त भएको बताउनुभयो ।

वर्तमान सरकारले लिम्पियाधुरा लगायतका स्थानमा सुरक्षा जाँच पोष्टहरू स्थापना गरेको उल्लेख गर्दै उहाँले सरकारले सार्वभौमिकताका लागि महत्वपूर्ण पहल गरेको बताउनुभयो । कुटनीतिक संवादका माध्यमबाट सीमा लगायतका समस्या समाधान गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । वर्तमान सरकारले शुन्यबाट काम शुरु गरेको बताउँदै उहाँले अत्यावश्यक संरचनाको व्यवस्थाका लागि संरचना निर्माणका साथै जनशक्तिमा खर्च भए पनि फजुल खर्च नगरिएको स्पष्ट पार्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना महामारीले काठमाडौंको अवस्था भयावह बनेको बताउनुभयो । अस्पतालहरूमा कोरोनाका बिरामी राख्ने अवस्था नभएको बताउँदै उहाँले यसको व्यवस्थापन सरकारले गर्न नसकेको बताउनुभयो । भेन्टीलेटर एवं आइसोलेशन बेडको अभावको अवस्था आएको बताउँदै उहाँले यसले कठिन अवस्था सिर्जना गरेको बताउनुभयो । गण्डकी प्रदेशमा विगतमा पर्ने गरेका अप्ठेरामा सत्ता र प्रतिपक्षबीच एकता कायम गर्दै अघि बढीएको उहाँको भनाइ थियो । राष्ट्रियताका सन्दर्भमा पार्टीबीच एकता कायम हुनुले सकारात्मक सन्देश दिएको बताउँदै उहाँले गुमेका भूभागलाई कुटनीतिक संवादका माध्यमबाट ल्याउनुपर्नेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो । लगभग दुइ तीहाइ बहुमतको वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेपनि त्यो पूरा हुन नसकेको बताउँदै उहाँले यसले संघीय व्यवस्थाप्रति वितृष्णा आउने अवस्था सिर्जना हुँदै गएको उल्लेख गर्नुभयो । बलात्कार, जातीय छुवाछुत जस्ता घटना २१ औं शताव्दीको युगमा लज्जास्पद कुरा भएको भएको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा सदस्य कृष्ण थापाले अहिलेको अधिवेशनमा निर्वाचन क्षेत्र र जनताका समस्यामा गहन छलफल गरिए पनि अझै ती समस्यालाई समाधान गर्न नसकिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र राज्यले पूर्ण रुपमा जिम्मेवारी लिन नसकेको बताउँदै उहाँले महङ्गी, भ्रष्टाचार जस्ताघटना दिन प्रतिदिन बढीरहेको उल्लेख गर्नुभयो । जनता समाजवादीका तर्फबाट प्रदेशसभा सदस्य हरिशरण आचार्यले देशमा भ्रष्टाचार दिनानुदिन बढीरहेको बताउनुभयो। कोरोनाको प्रक्रियामा भष्टाचार भएको बताउँदै उहाँले जनताले उपचारका बेलामा भेन्टीलेर र आइसियु नपाउने अवस्था सिर्जना भएको बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker