दमौलीको भोर्लेटार चोकमा घुम्ती शौचालय
भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका कार्यालयले पहिलोपटक दमौलीको भोर्लेटार चोकमा सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ । महिलाका लागि दुइ र पुरुषका लागि दुइ गरी चारवटा प्यानसहितको घुम्ती शौचालय सञ्चालमा ल्याएपछि सर्वसाधारणलाई सहज भएको छ ।
उक्त शौचालयमा वासवेसन, ऐना, साबुन लगायतको सुविधा राखिएको छ । सदरमुकाम दमौलीको व्यस्त बजार क्षेत्र भोर्लेटार चोकमा राखेपछि सर्वसाधारणले राहतको महसुस गरेको व्यास नगरपालिकाका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमारकञ्चन जिसीले बताए । नाफा कमाउनुभन्दा पनि सेवा दिने उद्देश्यले र्सार्वजनिक शौचालय सञ्चालन गरिएको हो ।
दमौलीमा आमसभा, जुलुस, मेला महोत्सवलगायतका कार्यक्रम हुँदाको समयलाई समेत मध्यनजर गरी सेवा प्रवाह गरिने व्यास नगरपालिका वन वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए ।
उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिणपूर्वी बुद्धसिं मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको बाक्लो चहलपहल हुने भएकाले उक्त क्षेत्रलाई केन्द्रित गरिएको हो । त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेकाले घुम्ती शौचालय राखिएपछि यत्रतत्र आउने जाने सर्वसाधारणलाई सहज भएको छ ।
उक्त शौचालय रु चार लाख ९८ हजारको लागतमा खरिद गरी ल्याइएको हो । घुम्ती सेवा भएकाले आवश्यकतानुरूप आवश्यक स्थानमा लैजान सकिनेछ । विशेषगरी दमौली बजार क्षेत्रलाई प्राथमिकता दिएर घुम्ती शौचालयको अवधारणा ल्याइएको नगरपालिका कार्यालयले जनाएको छ ।
बजार क्षेत्रमा जथाभावी हुने फोहोरमैलालाई व्यवस्थित गरी वातावरण स्वच्छ राख्नका लागि नगरपालिका कार्यालयले घुम्ती शौचालय सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो ।










