तनहुँमा मानवअधिकार उल्लंघन तथा ज्यादतीबाट ९५ जना पीडित
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा मानवअधिकार उल्लंघन तथा ज्यादतीबाट ९५ जना पीडित भएका छन् । इन्सेक तनहुँले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२४ को लागि संकलित घटनाहरुको उक्त विवरण र्सार्वजनिक गरेको हो ।
वर्ष पुस्तकको लागि संकलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव संकलन गर्ने उद्देश्यले मंगलबार दमौलीमा आयोजित कार्यक्रममा तनहुँमा सन २०२३ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ८७ वटा घटनाबाट ९५ जना पीडित भएको बताइएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले सन २०२३ मा तनहुँ भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु सार्वजानिक गर्दै यो अवधिमा भएका ९५ वटा मानवअधिकार उल्लंघनका घटनामा ७४ महिला र २१ पुरुष सहित ९५ जना पीडित भएको बताएका छन् ।
उनका अनुसार घरेलु हिंसा तर्फ सबैभन्दा धेरै ४३ वटा घटना भएका छन् । त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुर्व्यहवार तर्फ २३ वटा घटना भएका छन् । कुटपिट दुर्व्यहवारमा ६ वटा, हत्यामा ७, सम्पत्ती कब्जा २, सम्पत्ती तोडफोड २, जातिय विभेदको १, गिरफ्तार, १ स्वास्थ्यको अधिकार सम्बन्धी २ वटा घटना भएका छन् ।
उक्त कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सरकारले मानवअधिकारको उल्लंघन गर्ने नभई संरक्षण गर्ने बताए । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी हुनु अघि नै सरकारले मानवअधिकारको संरक्षणकोलागि काम गरेको उनले बताए ।
इन्सेक जस्ता मानवअधिकार संघ संस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनको लागि समय समयमा खबरदारी गरिरहनु पर्ने बताउँदै उनले भने, ‘मानवअधिकार र मौलिक हकलाई व्यवस्थित गर्न राज्यले कानुनहरु बनाएको र ति कानुनहरुको कार्यान्वयन भएमा मात्र मानव अधिकारको पनि प्रत्याभुती हुन्छ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकाले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । उनले मानवअधिकारको संरक्षण र सम्बर्द्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको र राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए ।
महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला प्रवक्ता हर्रि्रसाद वाग्ले, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिताराम सुर्खाली, नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव बसन्त दरै, गैसस महासंघकी सचिव एवं नेपाल बार एसोसियसनको मानवअधिकार तथा जनसरोकार समितिका संयोजक सरिता थापा भण्डारी लगायतले लक्षित सुदायमा मानवअधिकार प्रति सचेतना जगाउन सकेमा मानवअधिकारको संरक्षण र सम्बर्द्धन हुने बताए ।










