पद सकियो, सम्बन्ध होइन : आदिकवि भानुभक्त क्याम्पससंगका आठ वर्षका सम्झनाहरू

महाप्रसाद हड्खले

कहिलेकाहीँ जीवनका केही जिम्मेवारीहरू पदका रूपमा सुरु हुन्छन्, तर समयसँगै ती आत्मीय सम्बन्धमा रूपान्तरण हुन्छन् । आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस प्रमुखका रूपमा बिताएका ८ वर्ष मेरा लागि त्यस्तै एउटा अविस्मरणीय यात्रा रह्यो । केही दिनअघि म पदबाट विदा भएको छु । पदबाट बिदा भए पनि तर यो संस्थासँगको आत्मीयता, जिम्मेवारीबोध र सम्बन्धबाट कहिल्यै अलग हुन सक्दिनँ ।
यसपटक भोटेकोशीको अकल्पनीय बाढीले देशलाई शोक र समवेदनामा डुबाएका कारण हरेक वर्ष भदौ १८ गते उत्साह र रौनकका साथ मनाइँदै आएको क्याम्पसको वार्षिक उत्सव तथा अभिभावक भेला पनि आयोजना हुन सकेन । सामुदायिक स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, सांस्कृतिक नृत्य प्रतियोगिता, सम्मान तथा पुरस्कार र शुभकामना सहितका कार्यक्रम स्थगित भए । त्यसैले साधारण सभा पनि सार्नुपर्यो । मङ्सिर ८ गते आयोजना हुन लागेको वार्षिक साधारण सभाका अवसरमा उपस्थित सम्पूर्ण अतिथि, साधारण सभा सदस्य, अभिभावक तथा शुभेच्छुकमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यही अवसरलाई आफ्ना आठ वर्षका केही अनुभूति र सम्झना सार्वजनिक गर्ने अवसरका रूपमा लिएको छु ।
वि.सं. २०४४ सालमा स्थानीय समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी र समुदायको अग्रसरतामा स्थापना भएको यस क्याम्पसको उद्देश्य केवल शैक्षिक प्रमाणपत्र प्रदान गर्नु थिएन । आर्थिक, सामाजिक र भौगोलिक कारणले गुणस्तरीय उच्च शिक्षाबाट वञ्चित ग्रामीण क्षेत्रका महिला, दलित, आदिवासी जनजाति, विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई आफ्नै ठाउँमा उच्च शिक्षाको अवसर प्रदान गर्नु यसको मूल भावना थियो। यही सामाजिक उद्देश्यलाई आत्मसात् गर्दै हामीले ‘समृद्धिका लागि जनसहभागितामा गुणस्तरीय शिक्षा’ र ‘गुणस्तरीय जीवनका लागि शिक्षा’ भन्ने मान्यतालाई अघि बढाउने प्रयास गर्यौं ।
म यहाँ एउटा कुरा स्पष्ट भन्न चाहन्छु– यी आठ वर्षमा मैले एक्लै केही गरेको होइन । मैले त केवल जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको हुँ । उपलब्धि क्याम्पस परिवारको हो । विगतमा निर्माण भएको जगमा उभिएर हामीले साना–ठूला काम निरन्तर अघि बढायौं । मेरो कार्यकालमा सबैको मन जित्न सकिएन होला। केही असन्तुष्टि, आलोचना, आरोप र अपजस पनि सहनुप¥यो । नेतृत्व सम्हाल्दा वातावरण सहज थिएन । कतिपय सञ्चालक समितिका सल्लाहकार, सदस्य, प्राध्यापक र कर्मचारीसँग लामो समय संवादसमेत हुन सकेन । तर असहजताका बीच पनि जिम्मेवारीबाट पछि हटिनँ । क्याम्पसलाई कसैको असन्तुष्टि वा व्यक्तिगत आग्रहको बन्धक बनाउनु हुँदैन भन्ने मेरो मान्यता रह्यो । आज पछाडि फर्केर हेर्दा मेरो विवेकले भन्छ– मैले आफ्नो क्षमताले भ्याएसम्म क्याम्पसलाई बिग्रन दिइनँ, बरु उपलब्ध स्रोत र सहकार्यबाट सुधारको बाटो खोजिरहेँ । मेरो कामको अन्तिम मूल्याङ्कन समय र संस्थाले गर्नेछन् ।
यी वर्षमा क्याम्पसको संस्थागत विकासलाई व्यक्ति केन्द्रित नभई प्रणाली केन्द्रित बनाउने प्रयास ग¥यौं । गुरुयोजना, रणनीतिक योजना, संस्थागत विकास योजना, नीति तथा बजेट, गुणस्तर सुनिश्चितता योजना र विभिन्न समितिका कार्ययोजनालाई संस्थागत निर्णय र कार्यान्वयनसँग जोड्यौँ। प्राज्ञिक परिषद्, विभाग, आन्तरिक गुणस्तर सुनिश्चितता समिति, अनुसन्धान व्यवस्थापन समिति, स्ववियु तथा विद्यार्थी क्लबलाई सक्रिय बनाउने प्रयास गरियो। मेरो विश्वास छ– नेतृत्व परिवर्तन हुन सक्छ, तर संस्थाको प्रणाली, स्मृति र विकासको गति रोकिनु हुँदैन ।
शैक्षिक विस्तार पनि हाम्रो यात्राको महत्त्वपूर्ण उपलब्धि रह्यो । शिक्षा, व्यवस्थापन तथा मानविकी र सामाजिकशास्त्र संकायअन्तर्गत बी.एड., बीबीएस, बीबीए, बीआईसीटीई, बीए, एमबीएस, एमए र एम.एड.का कार्यक्रम सञ्चालन तथा सुदृढीकरण गरियो। विशेषगरी बीबीए कार्यक्रम थपिनु र बीआईसीटीई तथा स्नातकोत्तर कार्यक्रमको सबलीकरणले क्याम्पसको शैक्षिक दायरा फराकिलो बनायो । शैक्षिक सत्र २०८२/०८३ मा स्नातक र स्नातकोत्तर तहमा २,०९९ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये १,३०२ छात्रा छन् । बहुसंख्यक जनजाति र दलित समुदायका विद्यार्थी, ग्रामीण क्षेत्रका युवा तथा अपाङ्गता भएका विद्यार्थीको उल्लेख्य उपस्थितिले यस क्याम्पसको सामाजिक महत्वलाई पुष्टि गर्छ। समग्र उत्तीर्ण दर ८४.५५ प्रतिशत पुगे पनि केही कार्यक्रममा नतिजा सुधार्नुपर्ने चुनौती बाँकी  छ। विद्यार्थी भर्ना गर्नु मात्र होइन, उनीहरूलाई सफलतापूर्वक अध्ययन पूरा गराउनु हाम्रो वास्तविक दायित्व हो ।
गुणस्तर सुनिश्चितताको क्षेत्रमा दोस्रो चक्रको क्युएए उपलब्धिलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्दै तेस्रो चक्रको तयारी अघि बढाइएको छ । अनुसन्धान व्यवस्थापन समितिको सक्रियता, ‘द जर्नल अफ आदिकवि’ को निरन्तरता, प्राध्यापक तथा विद्यार्थीका अनुसन्धान कार्य, सम्मेलनमा सहभागिता र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित अनुसन्धान लेखले क्याम्पसलाई ज्ञान उत्पादनको दिशामा अघि बढाएका छन्। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सामुदायिक क्याम्पसका प्राध्यापकका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने अवसर पाउनु पनि हाम्रो संस्थागत विश्वसनीयताको महत्त्वपूर्ण परिचय बन्यो । गण्डकीलगायत विभिन्न प्रदेशका सामुदायिक क्याम्पससँग साथी तथा मितेरी क्याम्पसका रूपमा सहकार्य गर्न पाउनु गर्वको विषय हो ।
भौतिक पूर्वाधार निर्माणमा पनि उल्लेखनीय काम भए। क्याम्पस र लायन्स इन्टरनेसनलको स्रोतमा विज्ञान प्रयोगशाला भवन, क्याम्पस, गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको त्रिपक्षीय सहकार्यमा व्यास भवन तथा विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको लगानीमा प्रशासनिक भवन र आदिकवि इन्नोभेटिभ कम्प्लेक्स गरी चारवटा महत्वपूर्ण भवन निर्माण गरी सञ्चालनमा ल्याइयो । क्याम्पस र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम केन्द्र निर्माण भयो। सहिद चन्द्र नेपाली छात्रावास निर्माण समितिबाट निर्मित भवनमा छात्रावास सञ्चालनमा आयो। व्यास नगरपालिकाको सहयोगमा सभाहल निर्माण, स्मार्ट पानी संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन तथा बीबीए कार्यक्रमका लागि पूर्वाधार, कम्प्युटर र सौर्य प्रणालीको व्यवस्था गरियो। कक्षाकोठा सुधार, कम्प्युटर प्रयोगशाला, स्मार्ट टिभी, मल्टिमिडिया र इन्टरनेट विस्तारसँगै प्रशासनिक कार्यलाई डिजिटल बनाउने दिशामा पनि प्रगति भयो । ईएमआईएस प्रणाली, शिक्षक तथा विद्यार्थी पोर्टल र मोबाइल एपले प्रशासनिक पारदर्शिता र अभिलेख व्यवस्थापनलाई नयाँ आधार दिएका छन् ।
क्याम्पसको अर्को सुन्दर पक्ष यसको समुदायसँगको सम्बन्ध हो। दुबुङ मितेरी गाउँ, रुम्सी तथा टुटेपानी होमस्टे प्रवद्र्धन, व्यास नगरको भूमि अभिलेख डिजिटलीकरणमा सहयोग, सामुदायिक स्वास्थ्य शिविर, जलवायु परिवर्तनसम्बन्धी सचेतना, उद्यमशीलता प्रवद्र्धन र सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीको क्षमता विकासजस्ता कार्यक्रम सञ्चालन गरिए। मगर भाषाको प्रशिक्षण, मगर संस्कृतिसम्बन्धी सचेतना तथा गुरुङ भाषा, साहित्य, कला र संस्कृति वर्ष २०८३ का कार्यक्रमले स्थानीय पहिचान संरक्षणमा योगदान पु¥याएका छन् ।
यसका साथै शहीद परिवार, द्वन्द्वपीडित, अपाङ्गता भएका, असहाय तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति र शुल्क सहुलियत प्रदान गर्ने कामलाई निरन्तरता दिइयो । दुर्गम क्षेत्रका छात्राका लागि छात्रावास सुविधा, विद्यार्थी क्लब, खेलकुद, साहित्य, संस्कृति र सामाजिक सेवाका गतिविधिले क्याम्पसलाई पढाइको थलो मात्र नभई व्यक्तित्व विकासको साझा मञ्च बनाउने प्रयास गरे ।
यति धेरै कामका बीच चुनौतीहरू पनि छन् । विषयगत विशेषज्ञ प्राध्यापकको पर्याप्तता, अनुसन्धानका लागि स्रोत, आर्थिक आत्मनिर्भरता, विद्यार्थीको नियमित उपस्थिति र नतिजा सुधार, डिजिटल अभिलेखको विश्वसनीयता तथा मानित विश्वविद्यालयको सम्भावनाका लागि आवश्यक थप जग्गा व्यवस्थापन गर्नुपर्नेछ। तेस्रो चक्रको क्युएए, शैक्षिक स्वायत्तता, रोजगारमुखी कार्यक्रम, डिजिटल पुस्तकालय, भाषा प्रयोगशाला, साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ताको शैक्षिक उपयोग आगामी नेतृत्वका प्राथमिकता बन्नुपर्छ । यी चुनौती कसैको कमजोरी मात्र होइनन्, संस्थालाई अझ उन्नत बनाउने अवसर पनि हुन् ।
अन्त्यमा, सञ्चालक समितिका अध्यक्ष तथा पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी, स्थानीय समुदाय, राजनीतिक तथा सामाजिक व्यक्तित्व, दातृ निकाय, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय र सम्पूर्ण सहयोगी संस्थाप्रति हृदयदेखि आभार व्यक्त गर्दछु। विशेषगरी दिनरात क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधिमा खटिने प्राध्यापक र कर्मचारी साथीहरू तथा प्रश्न गर्न, सिक्न र सपना देख्न कहिल्यै नछाड्ने विद्यार्थीप्रति मेरो विशेष सम्मान छ । आलोचना गर्नेहरूलाई पनि धन्यवाद दिन चाहन्छु, किनकि आलोचनाले आत्मसमीक्षाको अवसर दिन्छ ।
सुरु गरेका सबै काम पूरा भएका छैनन् । केही सम्पन्न भए, केही अघि बढिरहेका छन् र केही काम नयाँ नेतृत्वको प्रतीक्षामा छन। तर आगामी नेतृत्वले विगतका उपलब्धिलाई संस्थागत पुँजीका रूपमा ग्रहण गर्दै अझ नयाँ ऊर्जा र दृष्टिकोणका साथ क्याम्पसलाई अघि बढाउनेछ भन्ने विश्वास छ ।
आज म क्याम्पस प्रमुखको पदबाट बिदा भएको छु, आदिकवि भानुभक्त क्याम्पसको परिवारबाट होइन । पदावधि समाप्त भएको छ, प्रतिबद्धता होइन । नेतृत्वको सफलता आफूले कति काम ग¥यो भन्नेमा मात्र होइन, आफू पछाडि कस्तो संस्था, कस्तो संस्कार र कस्ता सम्भावना छाडेर गयो भन्नेमा निहित हुन्छ । संस्था व्यक्तिभन्दा ठूलो हुन्छ । यही विश्वासका साथ म क्याम्पसको उज्ज्वल भविष्यका लागि सधैँ शुभेच्छुक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
आदिकवि भानुभक्त क्याम्पसको यात्रा अझ उचाइमा पुगिरहोस । यहाँबाट दीक्षित विद्यार्थीले समाज र राष्ट्रको नेतृत्व गरुन । यही मेरो आठ वर्षको यात्राको सबैभन्दा ठूलो सन्तुष्टि र आगामी दिनको सबैभन्दा सुन्दर सपना हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker