सम्पादकीय : कोदो खेतीको प्रवर्द्धन गरौं

नेपाली पहाडी जीवनशैलीसँग अभिन्न रुपमा जोडिएको एउटा परम्परागत अन्न बाली हो कोदो । कहिले चामलको विकल्प बनेर त कहिले जीविकोपार्जनको एक मात्र आधार। केही दशक अघिसम्म गाउँघरको प्रमुख खाजाबाट विस्थापित हुँदै गएको यो बाली पछिल्ला वर्षहरूमा फेरि आफ्नो गरिमा फर्काउँदैछ। कारण हो–स्वास्थ्य लाभ, पोषण तत्व र परिवर्तित उपभोक्ता प्रवृत्ति । एक समय थियो, जब कोदो ‘गरिबको खाना’ भनेर चिनिन्थ्यो। समाजमा आर्थिक हैसियत र खानपानलाई जोडेर हेर्ने दृष्टिकोणका कारण कोदो, फापर, सिस्नो, टुनीजस्ता रैथाने परिकार हेपिएका थिए । तर आज त्यो सोचमा आमूल परिवर्तन आएको छ । चामल, मैदा, चाउचाउ, फास्टफुडजस्ता ‘आकर्षक’ खानाका विकल्पसँगै बढ्दो मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटु रोग जस्ता समस्याहरूले अहिलेको पुस्तालाई सताइरहेका छन्। यिनै रोगबाट बच्नका लागि पोषणयुक्त, प्राकृतिक र पाचनमैत्री खाद्यान्नको खोजी सुरु भएको हो। त्यही खोजीले कोदोको महत्त्व फेरि उकासेको छ ।

कोदो नेपाली भुभागको उच्च पहाडी र लेकाली क्षेत्रको प्रमुख वर्षे बाली हो। यो बाली सिंचाइ नहुने भेग, झरनाको भर पर्ने उबड–खाबड जमिनमा पनि सजिलै फस्टाउँछ। जलवायु परिवर्तनका सन्दर्भमा हेरिँदा पनि कोदोले उच्च सहनशीलता प्रदर्शन गरेको छ । स्वास्थ्यका हिसाबले कोदो एक ग्लूटेन–फ्री, लो ग्लाइसेमिक इन्डेक्स भएको अन्न हो। मधुमेह भएका मानिसका लागि कोदोको ढिडो वा रोटी चामल वा मैदाभन्दा धेरै उपयोगी मानिन्छ । कोदोमा आइरन, फस्फोरस, फाइबर, प्रोटिन र मिनिरलहरू प्रशस्त पाइन्छन्। पेटको सफाइ, पाचन प्रणाली सुधार, तौल नियन्त्रण तथा ऊर्जा दिन कोदो उत्कृष्ट स्रोत हो । नेपालमा कृषि उत्पादनको विविधता हुँदाहुँदै पनि वर्षेनी ठूलो परिमाणमा चामल, गहुँ, दाल आयात हुने गरेका छन्। आयातित खाद्यान्नले उपभोक्ता बजार त भर्नेछ, तर त्यसको असर भने नेपाली कृषि प्रणाली, भूमिको उपयोग र आत्मनिर्भर अर्थतन्त्रमा नकारात्मक देखिएको छ ।

कोदो, फापर, कागुनो, झोक्रा, टुनीजस्ता बालीहरूलाई उपेक्षा गरिँदा यिनको खेती गर्ने जमिन बाँझो बन्दै गएको छ। ग्रामीण युवाहरू वैदेशिक रोजगारतर्फ लागेपछि यस्ता बालीहरू झन्झटिलो, कामदार अभाव र बजार नपाउने बालीका रूपमा हेर्न थालिएको हो। तर पछिल्लो समय होमस्टे, रिसोर्ट र शहरी रेष्टुराँहरूले कोदोका परिकारहरूलाई प्राथमिकता दिन थालेपछि यसको माग पुनः बढेको छ । तनहुँ जिल्ला कोदो उत्पादनका हिसाबले उर्वर छ । यहाँका ग्रामीण क्षेत्रका पाखो बारीमा कोदोको उत्पादन राम्रो हुने गर्छ । जिल्लाका सामुदायिक होमस्टे र घरबासहरूले कोदोको ढिडो, रोटी, सेलरोटी, खीरजस्ता परिकारलाई प्रमुख परिकारका रूपमा पस्किन थाले पनि खेती भने लोपको संघारमै पुग्न थालेको छ । पाहुनाहरूले स्वास्थ्यका लागि कोदोको विकल्प खोजेपछि गाउँलेहरूले फेरि कोदो खेतीमा चासो दिन थालेका छन्। पहिला गरिबले कोदो खाने, धनीले चामल खाने चलन थियो, अहिले ठीक उल्टो भएको छ । कोदोको माग र महत्वसँगै प्रविधिको प्रयोगमार्फत उत्पादन लागत घटाउन सकिने सम्भावना देखिएको छ । विद्युतीय चक्की, कोदो छोड्ने मेशिन, थ्रेसरजस्ता उपकरणहरूले किसानलाई नयाँ जोश दिएका छन् ।

रैथाने बाली संरक्षण अभियान कुनै नारा मात्रै होइन, यो हाम्रो मौलिकता जोगाउने अभियान हो। कोदोका उन्नत बीउ, प्रविधि, प्रशिक्षण र बजार पहुँचको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता हो । ग्रामीण पोषण सुधार कार्यक्रम अन्तर्गत कोदो, सिस्नो, फापर लगायतका उत्पादनलाई प्राथमिकतामा राखेर पोषणयुक्त खाद्य सुरक्षाको आधार बनाउने प्रयास गर्नुपर्दछ । यसबाहेक, सामुदायिक घरबासहरूमार्फत पर्यटनसँग कोदोको सीधा सम्बन्ध गाँसिएको छ। यस्ता घरबासहरूमा पाहुनालाई परम्परागत खाना खुवाउने प्रचलनले स्थानीय बालीको मूल्य र सम्मान बढाएको छ। नीतिगत रूपमै रैथाने बाली संरक्षण ऐन वा कार्यक्रम ल्याउनु आवश्यक छ । कोदो उत्पादन हुने प्रमुख क्षेत्रमा कृषकलाई उन्नत बीउ, मल, उपकरण र अनुदानमा सहुलियत प्दान गर्दै कोदो लगायत बालीको खरिद सुनिश्चित गर्न स्थानीय निकाय वा सहकारीमार्फत भण्डारण तथा वितरण केन्द्र खोल्नुपर्छ। कोदोजन्य उत्पादनमा आधारित लघु–उद्योग स्थापना गरी गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । शिक्षा तथा सञ्चार माध्यमबाट स्वास्थ्य लाभमा आधारित जानकारी प्रवाह गरी उपभोक्तामा चेतना जगाउन तर्फ पनि सरोकारवाला निकायले ध्यान दिनुपर्छ । कोदो केवल अन्न मात्र होइन, यो हाम्रो संस्कार, स्वास्थ्य र स्वावलम्बनको प्रतीक हो । आयातित चामलको चमकमा ओझेल परेको यो बाली फेरि आफ्नो उचाइमा फर्कन थाल्दा हामी सबैले साझा उत्सव मनाउनु पर्छ। यो रैथाने धरोहर जोगाउनु केवल किसानको काम होइन, हामी सबैको दायित्व हो–हिजोको खानालाई भोलिको सम्भावना बनाउने यात्रामा सामेल हुने । विशेषता स्थानीय सरकारले कोदो खेती प्रवद्र्धनका लागि विशेष कार्यक्रम अगाडि ल्याउनुपर्ने देखिन्छ । साथै उत्पादित उपजको बजारीकरणका साथै उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने वातावरण सृजना गर्नुपर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker