बन्दिपुर गाउँपालिकाद्वारा विषयगत समिति गठन, वडा नं. १ का अध्यक्ष श्रेष्ठ प्रवक्तमा चयन
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले विभिन्न विषयगत समिति गठन गरेको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको पहिलो बैठकले विभिन्न विषयगत समिति गठन गर्दै संयोजक र सदस्य समेत चयन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले आर्थिक विकास समितिको संयोजकमा परमेश्वर भट्टराइ र सदस्यहरुमा भिम घले, प्रेमबहादुर शाही, हर्कबहादुर राना रहेका छन् । शिवकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएको सामाजिक विकास समितिको सदस्यमा कृष्णबहादुर घर्ती, छविलाल गुरुङ, डिलबहादुर गुरुङ रहेका छन् ।
गाउँपालिकाको पूर्वाधार विकास समितिको संयोजकमा परमेश्वर भट्टराइ र सदस्यहरुमा रवि श्रेष्ठ, कुमार रोका सार्की, मिनबहादुर गुरुङ छन भने सार्वजनिक लेखा प्रवाह तथा क्षमता विकास समितिको संयोजकमा तिलकबहादुर कुंवर र सदस्यहरुमा निशा गुरुङ, मन्जु विक र निरकाजी आलेलाई चयन गरिएको छ ।
विधायन समितिको संयोजकमा बलबहादुर गुरुङ र सदस्यहरुमा मिनराम परियार, भगवती विक र रञ्जिता श्रेष्ठ राना, लेखा समितिको संयोजकमा धु्रवप्रसाद लामिछाने र सदस्यहरुमा हरिमाया विक, जीवन भुजेल र रोशन बराकोटी चयन भएका छन् । दानबहादुर थापाको संयोजकत्वमा गठन गरिएको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको सदस्यहरुमा विजय राना, विन्दु नेपाली र ममता राना रहेका छन् ।
कार्यपालिका बैठकले उपाध्यक्ष पञ्चमाया गुरुङको संयोजकत्वमा स्थानीय न्यायिक समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा दानबहादुर थापा र दमयन्ती थापा मगरलाई चयन गरिएको छ ।
उपाध्यक्ष पञ्चमाया गुरुङको संयोजकत्वमा गठन गरिएको स्थानीय राजश्व परामर्श समितिको सदस्यमा कौशिला परियार विक रहेका छन भने स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिमा शिवकुमार श्रेष्ठ, बलबहादुर गुरुङ, उमा घर्ती, जीवन भुजेललाई सदस्यमा चयन गरिएको छ ।
गाउँपालिकाले भूमि सम्बन्धी आयोग पालिकास्तरीय सहजीकरण समितिमा हरिमाया विक, जीवन भुजेल, स्थानीय शिक्षा समितिमा पञ्चमाया गुरुङ र ध्रुवप्रसाद लामिछाने सदस्य तोकिएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन भई सम्पन्न भएका र सम्पन्न हुन बाँकी रहेका योजनाहरुको म्याद औचित्य र प्राविधिक प्रतिवेदनको आधारमा एक पटकलाई असार मसान्तसम्म थप गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै विभिन्न आर्थिक वर्षमा सम्पन्न भएका तर अख्तियारमा उजुरी परी भुक्तानी दिन बाँकी रहेका योजनाहरुको स्थलगत प्रतिवेदनका आधारमा सर्वपक्षीय र्सर्जिमन मुचुल्काको आधारमा भुक्तानीको प्रक्रिया अगाडी बढाउने बैठकले निर्णय गरेको छ । कार्यपालिका बैठकले गाउँपालिकाको कार्यापालिका र गाउँ सभामा भएका निर्णयको बारेमा जानकारी दिन वडा नं. १ का अध्यक्ष शिव कुमार श्रेष्ठलाई प्रवक्ताका रुपमा चयन गरेको छ ।










