घिरिङमा ओठ–तालु फाटेका बालबालिकालाई निःशुल्क सर्जरी

घिरिङ : तनहुँको घिरिङ गाउँपालिकामा जन्मजात ओठ, जिब्रो फाटेका र तालुमा प्वाल भएका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी सेवा उपलब्ध गरिने भएको छ । सेवा फाउण्डेशन र बयोधा अस्पताल काठमाडौँको विशेषज्ञ टोलीले गाउँपालिकाको समन्वयमा बिहीबार सुन्धारा स्वास्थ्य चौकीमा बिरामी छनोट शिविर सम्पन्न गरेको हो ।
शिविरबाट घिरिङ गाउँपालिकाका दुई जना बिरामी छनोट गरिएका छन्। उनीहरूको निःशुल्क शल्यक्रिया तथा उपचार बयोधा अस्पताल, काठमाडौँमा गरिने स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए । स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रम वडा नं. ३ का अध्यक्ष तहलसिंह थापाको अध्यक्षता र गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

शुभारम्भ कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले भने, “कुनै पनि बिरामी आर्थिक अभावका कारण उपचारविहीन हुनु हुँदैन । गाउँपालिकाले यस्ता सेवामा निरन्तर साथ दिन्छ ।” साथै उनले यस्ता निःशुल्क शिविरहरूमा सहभागिता जनाउन सबैमा अपिल गरिन् ।
शिविरमा वडा नं. ५ का अध्यक्ष विष्णुवीर आले, वडा नं. ४ का अध्यक्ष भीमबहादुर कुमाल, स्वास्थ्यकर्मीहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको समेत सक्रिय उपस्थिति थियो । स्थानीय तह र सामाजिक संस्थाको सहकार्यमा यस्तो सेवा प्रवाह हुनु समुदायमैत्री स्वास्थ्य सेवाको सशक्त उदाहरणका रूपमा लिइएको छ ।










