स्थानीय निर्वाचन : तनहुँ कांग्रेसलाई जोशी समुहको चुनौती

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न स्थानीय निर्वाचनका कारण यतिबेला तनहुँको राजनीतिक माहोल तातेको छ । वैशाख ३० गतेको मिति नजिकिदै जाँदा अहिले तनहुँका १० वटै पालिकालाई चुनावी गतिविधिले तताएको छ । चुनावी माहोल तातेसंगै अहिले तनहुँ कांग्रेसलाई भने जोशी समुह चुनौतीको पहाड बनेर अगाडि खडा भएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाहीमा परेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूह अहिले तनहुँ कांग्रेसका अगाडि चुनौतीको पहाड बनेर खडा भएको छ ।

२०७६ साउन १० गते नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । पटकपटक मन्त्री हुँदा विकास निर्माणमा जोशीले खेलेको भूमिकाका कारण उनको जनाधार गाउँगाउँमा समेत भएको पाइन्छ । जोशी पक्षका कार्यकर्तालाई आसन्न स्थानीय तहको निर्वाचनमा सम्मानजनक भूमिका नदिदा अहिले तनहुँ कांग्रेसलाई चुनौती थपिएको छ ।

जोशीले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह बनाएर आफ्नो शक्ति परीक्षणमा उत्रिएका छन् । कांग्रेसले एमालेबाहेक सत्तासीन दलसँग चुनावी गठबन्धन गरिरहँदा तनहुँमा भने जोशीले एमालेसँग गठबन्धन कसेका छन् । उनले आफ्ना छोरा दीपकराजमात्र होइन, गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन कांग्रेसको भोट काट्ने रणनीति बनाएर अगाडि बढेका छन् ।

दमौलीमा चुनावी प्रचारमा सक्रिय ७० वर्षीय जोशीले भने, ‘गलत नेताहरू पार्टीमा हाबी हुँदा बीपीको विचार बेचिएको छ, कांग्रेसको आत्मा मरेको छ ।’ पार्टीले कारबाही गरे पनि आफूलाई सच्चा कांग्रेस भएको उनले दाबी गर्दै आएका छन् ।

व्यास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका उनका छोरा दीपकराजले कैंची चुनाव चिन्ह लिएर एमालेसंग तालमेल गरी चुनावी मैदानमा होमिएका छन् । ‘कांग्रेसको भोट काट्नका लागि कैंची रोजेको हुँ,’ उनले कारण खुलाउँदै भने, ‘मैले जित्ने भनेकै कांग्रेसको भोटले हो ।’ २०५३ सालमा अमेरिका गएर करिब एक दशकअघि नेपाल फर्केका उनी टेलिकम्युनिकेसन इन्जिनियर हुन् ।

कुनै बेला कांग्रेसमा निर्णायक प्रभाव राख्ने ‘एकेजीबी’ (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छादार) समूह थियो । तीमध्ये खुमबहादुरको निधन भइसकेको छ भने अन्य नेताको पार्टीमा बलियो प्रभाव छैन ।

पार्टीबाट निष्कासित भएका गोविन्दराजको राष्ट्रिय राजनीतिमा प्रभाव घटे पनि गृहजिल्ला तनहुँमा भने अझै निर्णायक राजनीतिक सामर्थ्य छ । ‘उहाँ पार्टीबाट निष्कासित भए पनि पार्टीभित्र र बाहिर हुने निर्वाचनमा निर्णायक हैसियत रहेको छ,’ २०५३ देखि करिब डेढ दशकसम्म पार्टीका जिल्ला सभापति रहेका रघु पौडेल भन्छन्, ‘एक्लै लडेर कहीं पनि जितिन्न तर जितका लागि निर्णायक भोट भने उहाँसँग रहेको छ ।’

जोशीले स्थानीय तह निर्वाचनमार्फत आफ्नो शक्ति स्थापित गर्न एमालेसँग व्यवस्थित तालमेल गरेका छन । छोरा दीपकराजलाई व्यासको नगर प्रमुख र आफ्नो समूहका केशु गुरुङलाई बन्दिपुर गाउँपालिकाको उपाध्यक्षमार भानु नगरपालिकाको उपमेयरमा केशबहादुर गुरुङलाई उम्मेदवार बनाएका छन् ।

भानु नगरपालिका ११ र १३, व्यास नगरपालिका १, २, १२ र १४ तथा आँबुखैरेनी गाउँपालिकाको २ र ५ मा वडाध्यक्ष उठाएका छन् । जोशीको प्रभाव क्षेत्र मानिने यी ठाउँमा एमालेले जोशीका उम्मेदवारलाई सघाउने भएको छ । एमालेले व्यासको उपप्रमुखमा बसुन्धरा घर्ती र बन्दिपुरको अध्यक्षमा सुरेन्द्र थापालाई उठाएको छ । कांग्रेसविरुद्ध कांग्रेसकै बागी उम्मेदवार रहेका अन्य केही पदमा बागीलाई सहयोग गर्ने जोशी समूहको तयारी छ ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका वैकुण्ठ न्यौपाने १३ हजार ५६ मत ल्याएर व्यास नगरप्रमुखमा विजयी भएका थिए। उनलाई माओवादी केन्द्रको पनि समर्थन थियो । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत पाएका थिए ।

यस पटक व्यासमा कांग्रेसले पुनः बैकुण्ठ न्यौपानेलाई उम्मेदवार बनाई एक्लै चुनावी मैदानमा उत्रिएको छ । तर जोशीको प्रभाव क्षेत्र भएको नगरमा एमालेको र्समर्थनमा जोशीकै छोरा दीपकराज उम्मेदवार बनेपछि प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ ।

कांग्रेसका पूर्वजिल्ला सचिवसमेत रहेका अधिवक्ता विश्व बाँस्तोला भ्रष्टाचारसम्बन्धी मुद्दा र पार्टीको कारबाहीका कारण राष्ट्रिय राजनीतिमा कमजोर भूमिका रहेपनि स्थानीयस्तरमा भने जोशीको ओज अझै नघटेको बताउँछन् । ‘उहाँले जिल्लामा लामो समयसम्म शिक्षण र वकालत गर्नुभयो, पावरमा भएको बेला जनतालाई गुन पनि लगाउनुभयो होला,’ उनी भन्छन्, ‘त्यसको प्रभावले अहिले पनि उहाँको पछि लाग्नेको कमी छैन ।’

२०३१ सालमा तनहुँ कांग्रेसका संस्थापक सभापति बनेका जोशी पार्टीबाट निष्कासित हुने अवस्थामा पुग्नुको मुख्य कारण तनहुँकै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको तिक्ततापूर्ण सम्बन्ध हो । जोशी सभापति हुँदा पौडेल जिल्ला कार्यसमिति सदस्य थिए । बीपी कोइरालासँगको निकटता र राष्ट्रिय राजनीतिमा बढ्दो पहुँचको कारण पौडेलले आफूलाई सधैं जोशीभन्दा माथि रहेको व्यवहार गरे । यही टवकरावले दुइबीच कहिल्यै सुमधुर सम्बन्ध बन्न सकेन ।

२०४८, २०५१, २०५६ र २०६४ को निर्वाचनमा दुवै जना निर्वाचन लडे पनि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पौडेलको जोडबलमा उनी टिकट पाउनबाट बञ्चित भए । भ्रष्टाचारसम्बन्धी अदालतमा मुद्दा चलिरहेको भए पनि जोशी उम्मेदवार हुन पाउँथे । तर जोशीले प्रत्यक्षमा त टिकट पाएनन्, समानुपातिक उम्मेदवारका लागि आएको सिफारिससमेत पौडेलकै बलमा काटियो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि टिकट नपाएपछि जोशी पौडेल उम्मेदवार बनेको तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बने । तर पौडेलको उजुरीमा निर्वाचन आयोगले जोशीलाई उम्मेदवार बन्न नपाउने निर्णय गर्‍यो । त्यसपछि आक्रोशित बनेका जोशीले एमालेलाई सहयोग गर्दा पौडेल संसदीय निर्वाचनमा पहिलो चोटी पराजित भए ।

जोशी अनुशासनको कारबाहीमा पार्टीबाटै निष्कासन भए । यही निर्वाचनबाट जोशी र एमालेबीच सम्बन्ध सुरुवात भएको मानिन्छ । यो सम्बन्धलाई आसन्न स्थानीय तह निर्वाचन हुँदै आगामी राजनीतिक यात्रामा थप बलियो बनाउँदै लग्ने एमाले र जोशीको तयारी छ । तनहुँमा कांग्रेस र एमालेबीच प्रमुख प्रतिस्पर्धा छ ।

क्षेत्र नं. १ मा राम्रो प्रभाव भएका जोशीको सहकार्यले दुवै पक्षलाई फाइदा पुग्ने एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ बताउँछन् । ‘उहाँ (जोशी) राम्रो जनाधार भएको नेता हुनुहुन्छ, भविष्यमा सँगै मिलेर अघि बढ्ने सम्भावनालाई नकार्न मिल्दैन,’ उनले भने । जोशीनिकट एक नेताले आगामी संसदीय निर्वाचनमा उनी एमालेको र्समर्थनमा तनहुँ-१ बाट निर्वाचन लड्ने तयारीमा रहेको बताए ।

तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेलसहित प्रदीप पौडेल, शंकर भण्डारी, ध्रुव वाग्ले र गोविन्द भट्टराइ केन्द्रीय सदस्य छन्। जोशी अहिले चुनावी रणनीति निर्माणदेखि चुनाव प्रचार-प्रसार अभियानलाई तीव्र पार्दै गाउँघर डुल्न थालेका छन् । दमौली बजारस्थित निवास र नजिकै रहेको चुनाव प्रचार-प्रसारको सर्म्पर्क कार्यालयबाट आफ्नो शक्ति स्थापित गर्ने अभियानलाई अघि बढाइरहेका छन् ।

जोशी यही निर्वाचनबाट आफ्नो छोरा र पार्टीगत गुटको रूपमा रहेको शक्तिलाई स्वतन्त्र राजनीतिक शक्तिका रूपमा स्थापित गर्न चाहन्छन् । उनीनिकट एक नेताले स्थानीय निर्वाचनमा सफलता पाएको खण्डमा जोशी समूह थप शक्तिशाली र निर्णायक हुने बताए ।

यस्तै, पार्टीबाट निष्कासित भए पनि जोशीले पार्टीमा आफ्नो गुटलाई बचाइराखेका छन् । तनहुँमा अहिले पनि पौडेल र जोशी समूहमा विभाजित छ । पार्टीको १४औं महाधिवेशनमा जिल्ला सभापतिका लागि भएको निर्वाचनमा जोशी समूह निर्णायक हुँदा जितप्रकाश आलेले जितेका थिए । करिब १ हजार ८ सय क्षेत्रीय प्रतिनिधिमध्ये झन्डै १५० जना जोशी समूहमा खुलेका थिए ।

‘आखिर जोशी समर्थकको यही मत निर्णायक भयो,’ पूर्वसभापति पौडेलले भने । पछिल्लो समय वरिष्ठ नेता पौडेल केन्द्रमा सभापति शेरबहादुर देउवासँग निकट भए पनि उनको समूहका नेताहरू जिल्लामा विभाजित छैनन् । उनीहरूले जिल्लाको सन्दर्भमा पौडेललाई नेता मान्दै आएका छन् । ‘पार्टीमा नरहे पनि केही नेता-कार्यकर्ताले जोशीलाई समूहको नेता मानिरहेका छन्, माथि जे भए पनि यहाँ त जोशी र पौडेलकै समूह छन्,’ कांग्रेसका पूर्वजिल्ला सचिव विश्व बाँस्तोलाले भने ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेस ठुलो दल बनेको थियो । पाँच स्थानीय तहमा प्रमुख/उपप्रमुख दुवै पदमा जित हासिल गरेको कांग्रेसले एकएक स्थानीय तहमा प्रमुख/उपप्रमुखमा जित हासिल गरेको थियो ।

व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले प्रमुख/उपप्रमुख दुवै पदमा जितेको थियो । शुक्लागण्डकी नगरपालिकामा प्रमुख र देवघाट गाउँपालिकामा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । ८५ मध्ये ५० वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारको पल्ला भारी भएको थियो।

एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख/उपप्रमुख दुवै जित्यो । देवघाटमा प्रमुख र शुक्लागण्डकीमा उपप्रमुख मात्र जित्न सफल भयो । ३० वडामा वडाध्यक्ष एमालेले जितेकामा तीन वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

माओवादी केन्द्रले बन्दिपुर गाउँपालिकाको प्रमुख/ उपप्रमुखसहित जिल्लाका पाँच वडाध्यक्ष जितेको थियो । आसन्न स्थानीय निर्वाचनमा सत्ता साझेदार पाँच दलले गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिने निर्णय गरेपनि त्यो तनहुँमा पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

तनहुँमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर निर्वाचनमा होमिन पटकपटक बैठक तथा छलफल गरेपनि त्यो पूर्णरुपमा सफल हुन भने सकेन । अहिले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, भानु नगरपालिकामा मात्र आंशिक पदमा गठबन्धन भएको छ भने अन्य पालिकामा आ-आफ्नै हिसावले चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ । गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहेको कांग्रेसले त्यो पनि त्यति सहज बनेको छैन । गठबन्धन गरे पनि कांग्रेसले कारबाही गरेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूह भने तनहुँ कांग्रेसलाई भारी बन्दै गएको छ ।

अघिल्लो निर्वाचनको मतपरिणामलाई जोड्दा तनहुँका १० स्थानीय तहमा घिरिङबाहेक अरु सबै स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुले पाएको मत बढी हुन्छ । तर, अघिल्लो निर्वाचनको तुलनामा तनहुँमा ४९ हजार ८६९ मतदाता थपिएका छन् । तिनै नयाँ मतदाता निर्णायक बन्न सक्ने राजनीतिका जानकारहरु बताउँछन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा दुइ लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । २०७४ सालमा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker