इतिहासको खोज : सम्जुरको मुस्लिम गाउँ

के.बि. मसाल

पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन। पर्यटनमा इतिहास र संस्कृतिको बारेमा खोज अध्ययन गर्ने धेरै पर्यटकहरुको रुचि हुन्छ । पर्यटन क्षेत्रमा इतिहास पुरानो हुँदैन । पर्यटन मूलतः अनुभूति र रोचकतासँग जोडिएको हुन्छ। यी अनुभूतिहरु समयसँगै पुराना हुँदैनन्। पर्यटनले इतिहासलाई वर्तमानसँग जोडछ। त्यसैले इतिहासका कुरा पनि वर्तमानका अवसर र भविष्यका सम्भावना बन्छन । पर्यटनको क्षेत्र शताब्दीऔँ पुराना भए पनि हरेक पुस्ताले नयाँ अनुभवका रुपमा लिने गर्दछन । ऐतिहासिक स्थलले पनि पर्यटकहरुलाई आकर्षण गर्दछ । पर्यटक जब कुनै ऐतिहासिक ठाउँमा पुग्दछ उसको लागि नयाँ अनुभव हुन्छ । तनहुँको भानु नगरपालिका पर्यटनका लागि इतिहास, सस्कृति, साहित्य तीर्थ, धर्म र संस्कार सबैको खोज अनुसन्धानमा रुचि भएका पर्यटकहरुका लागि पुग्नै पर्ने ठाउँ हो । भानुमा पर्यटनको क्षेत्रमा लुकेका धेरै इतिहास, संस्कृति, धर्म र सस्कार छन ।

सम्जुरको मुस्लिम गाउँ भानु नगरपालिका–१३ मा पर्दछ । पर्यटकहरुले यात्रामा ऐतिहासिक मिर्लुङकोट, भानुभक्तको जन्मस्थल चुँदीरम्घा, तनहुँको प्रख्यात देवी थानिमाई र मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेस्थित मस्जिदको अध्ययन अवलोकन गर्न सक्दछन । पर्यटकहरुलाई आफ्नो भन्दा फरक धर्म र संस्कृतिमा खोज अनुसन्धानमा रुचि हुन्छ । धेरै पर्यटकहरुले आफ्ना धर्म र संस्कार बाहेक अरुको धर्म र संस्कृतिको बारेमा अध्ययन गर्न खोज्दछन। पर्यटनको क्षेत्र खुल्ला विश्व विद्यालय हो। इतिहासको पानामा नभएका ऐतिहासिक कुराहरु पर्यटकहरुले यात्रामा खोज्दछन । सम्जुर गाउँमा २०० घरधुरी मुस्लिमहरुको बस्ती रहेको छ। सम्जुर गाउँमा नयाँ पर्यटकहरु पुग्यो भने मुस्लिम र हिन्दु वा बौद्ध छुट्टाउन गारो पर्दछ । लवाई, भाषा र अन्य हाउभाउ पनि सबै मिल्दछ ।

सम्जुर गाउँमा मुस्लिम र हिन्दु समुदायले सदियौँदेखि शान्तिपूर्ण सहअस्तित्वमा जीवन बिताउँदै आएका छन । इतिहासमा रुचि राख्ने पर्यटकहरुका लागि सम्जुर गाउँमा कुनै शिलालेख त भेटिदैन । तर पनि सम्जुर गाउँमा ११०० सालमा बस्ती बसेको मानिन्छ । सुरुमा ६० घरको बस्ती हुँदा सम्जुर गाउँलाई पहिला साठीघरे समेत भन्ने गरेको पाइन्छ। सम्जुर गाउँमा मुस्लिमहरुको सातवटा मस्जिद रहेको छ। मस्जिदमा भेला भएर मुस्लिम अर्थात मुसलमान समुदायले प्राथना गर्ने गर्दछन । सम्जुर माझ गाउँमा ऐतिहासिक दर्गाह जामे मस्जिद विक्रम सम्वत १७१३ मा राजा मुकुन्दसेनकी श्रीमती तिलोत्तमा रानीले आफ्नो भाकल पुरा गर्न निर्माण गर्न लगाएको लोक कथन छ ।

तर, इतिहासमा नेपाल मध्यकालमा साना ठूला गरी ५२ भन्दा बढी राज्यमा विभाजित थियो । ती राज्यहरु मध्ये तनहुँ राज्य गण्डकी क्षेत्रमा अवस्थित चौबिसी राज्य अन्तर्गत पर्दथ्यो । तनहुँ राज्यको स्थापना पाल्पाका राजा मुकुन्दसेन प्रथमका साहिला छोरा भृङ्गी सेनले वि.सं. १६१० मा गरेका थिए। चौबीसी राज्यहरु बीच तनहुँ राज्य आर्थिक रुपमा सबल र सामारिक रुपमा महत्वपूर्ण राज्य मानिन्थ्यो। तनहुँ राज्यमा वि.सं. १६१० देखि १८३९ सम्म २२९ वर्षमा नौ जना सेनवंशी राजाहरुले राज्य गरेका थिए । तनहुँको राज्य तनहुँसुरमा भृङ्गी सेनपछि क्रमशः हम्बिर सेन, तुला सेन, दामोदर सेन, दिग्विजय सेन, कामराजदत्त सेन, त्रिविक्रम सेन, कामारीदत्त सेन र तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले शासन चलाए ।

वि.सं. १७५३ मा दामोदर सेनको मृत्यु भएपछि दिग्विजय सेन तनहुँका राजा भए। दिग्विजय सेन तनहुँका पाचौ राजा हुन । दिग्विजय सेनले मुगल वादशाहहरुसँग सम्बन्ध बढाउन थालेपछि तनहुँको तराई खण्डमा मात्र नभई पहाडी खण्डमा पनि मुसालमानहरुको आवतजावत बढन थाल्यो। मुसलमान व्यापारीहरु चम्पारनबाट चितवन हुँदै तनहुँ, गोरखा, कास्की, धादिङ, नुवाकोट र काठमाडौँ उपत्यकासम्म व्यापार गर्न थाले (अधिकारी, वि.सं. २०५५) । दिग्विजय सेनले यी मुसलमानहरुलाई व्यापार गर्न प्रोत्साहित गरी बसोबास गर्नका लागि आफ्नै तनहुँ राज्यको सम्जुर भन्ने गाउँमा बस्ने व्यवस्था मिलाई दिएको कुरा इतिहासमा उल्लेख छ ।

इतिहास भनेको बितेका सत्यतथ्य घटनाहरुको यथार्थ विवरण हो । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो। इतिहासको खोज अनुसन्धान अहिल्य सकिदैन । सम्जुर गाउँको इतिहास खोजको बिषय हुन सक्दछ । सम्जुर गाउँ धार्मिक–साँस्कृतिक र पर्यटनको सम्भावना भएको गाउँ हो। सम्जुरको शाब्दिक अर्थ मुस्लिमहरुको बस्ती भएको गाउँ हो । सम्जुर गाउँ पनि त्यस्तै एउटा बस्ती हो। जसले धार्मिक, साँस्कृतिक विविधता, पुराना मस्जिदहरु र सामुदायिक सहअस्तित्व मार्फत पर्यटकलाई आकर्षित गर्ने गाउँमा पर्दछ ।

स्थानीय अभिलेख र मौखिक इतिहास अनुसार सम्जुर गाउँका मुस्लिम समुदाय दशकौँअघि व्यापार, प्रशासन वा सैनिक सेवाका क्रममा आएको मानिन्छ । कालान्तरमा मस्जिद, मदरसा निर्माण गर्दै स्थायी बसोबास गरेका हुन । सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । तीमध्ये एउटा मस्जिदलाई स्थानीयले नेपालको पुरानो मस्जिदमध्ये एक मान्ने गर्छन । सम्जुर गाउँका मस्जिदहरु मुस्लिम धर्मावलम्बीको धार्मिक आस्था मात्रै नभई पर्यटकका लागि ऐतिहासिक धरोहर पनि हो। सम्जुरमा हिन्दू र मुस्लिम परिवारहरु ईद, रमजान, दशैँ, तिहारजस्ता पर्वहरुलाई आपसी सदभावसहित मनाउने गर्दछन । त्यति मात्र होइन आजभोली हिन्दु र मुश्लिम बिचमा बिवाहवारी समेत चल्न थालेको छ। सम्जुर गाउँमा यस्तो सामुदायिक विविधता देख्दा पर्यटकहरु अचम्म मान्दछन ।

पर्यटनका लागि सम्जुर गाउँको पहाडी जनजीवन अवलोकन गर्न सकिने भूगोल पर्दछ । अर्को तर्फ हरियाली वन पाखा अनि स्वच्छ चिसो हावा, सिरसिर चल्ने शीतल पवन । पवनसँगै विभिन्न चराचुरुङ्गीको मिठो आवाज सुन्दा सम्जुर गाउँमा पुग्ने पर्यटकहरुको मनै लोभ्याउँछ। सम्जुर गाउँ वरपर हरियो खेतबारी, चिलाउनेखर्कजस्ता डाँडाकाँढ र ग्रामीण जीवनको रमणीयता देख्न सकिन्छ ।

नेपालका मुस्लिम बसोबासको इतिहास बुझन खोज्ने अनुसन्धानकर्ताका लागि सम्जुर एउटा लिभिङ म्युजियम जस्तै छ। सम्जुर गाउँ केवल मुस्लिम समुदायको बस्ती मात्र होइन, नेपालभित्रको धार्मिक सहिष्णुताको जीवन्त उदाहरण पनि हो । सम्जुरबाट नागबेली पहाडी श्रृंखला वरिपरि देखेपछि पर्यटकहरुको मनमा छुट्टै आनन्द आउँछ । गर्मीको समयमा शितलता र शान्त वातावरणमा रमाउने पर्यटकहरुका लागि सम्जुर गाउँ पुग्नै पर्दछ ।

सम्जुर गाउँमामा मुस्लिमहरुको बाक्लो बस्ती रहेको छ । मुस्लिमहरुले पछिसम्म पनि महिलाहरुले लगाउने चुरा पोते, टिका, सिन्दुर, चुरोट लगायत बस्तुहरु डोकामा बोकेर गाउँ गाउँमा गएर बिक्री गर्दथे । बिशेष गरी चुरा बेच्ने भएकोले उनिहरुलाई चुरेटा भन्ने गरिएको पाइन्छ। सम्जुर गाउँका मुस्लिम महिलाहरुले अनुहार ढाक्न प्रयोग गर्ने वस्त्र नकाब, बुर्का र हिजाब अर्थात सिर, घाँटी र कपाल ढाक्ने वस्त्र पनि प्रायः लगाउँदैनन् । तर कसैले भने धार्मिक निष्ठा, सुरक्षा, सांस्कृतिक पहिचान वा आत्मसम्मानको रुपमा स्वइच्छाले लगाउने गर्छन । अर्को तर्फ पुरुषहरुले लगाउने टोपी कुल्ली टोपी अथवा ताकिया टोपी सादा सेतो टोपी जुन नमाज पढदा मात्र लगाउने गर्दछन । तर अन्य समयमा ढाका टोपी लगाउने गर्दछन । पुरुषहरुले केहिले दाह्री पाल्छन् भने धेरैजसोले काटने गर्दछन् ।

सम्जुर गाउँमा हिन्दुहरुको बिवाह भयो भने हिन्दु भन्दा बढी मुस्लिमहरु देखिन्छन। सम्जुरमा मुस्लिमहरु आपसी कुराकानी गर्दा अरबी, केही फारसी, केही हिन्दी शब्दहरुको पनि समायोजन भएको असाधारण भाषा बोल्दछन । बोल्द पुच्छारमा तोरे, तन, होई जस्ता शब्द जोडेर एकआपसमा बोल्ने गर्दछन । यस्ता भाषालाई चुरौटी भाषा भनिन्छ। त्यही कारणले जनगणनामा चुरौटी भाषालाई मातृभाषाको रुपमा सूचिकृत गरिएको छ ।

सम्जुरका मुस्लिमहरु विवाहमा कलश राख्दछन तर पुजा गर्दैनन्। आजभोली शाहीपाटाको प्रचलन भने सुरुवात भएको छ । हिन्दुहरुको चाडपर्वमा टिका मात्र लगाउँदैनन् तर अन्य खानपिन कार्यमा सहभागि हुन्छन । तिहारमा टीका नलगाए पनि घरैमा रोटी पकाएर रमाइलो गर्ने चलन छ । गाई तिहारका दिन गाईलाई पूजा नगरे पनि गाईको शरीरमा हिन्दूहरुको चलन झैँ चामलको पीठो, वेसार, अवीर मुछि वेओराको छाप बनाई गाईको शरीरमा सेतो पहेलो र रातो छाप लगाउने फूलको माला लगाइदिने, गाई गोरुलाई पिडो अर्थात कुडो खुवाउने गर्दछन् । त्यसदिन गोरुलाई जोत्ने पनि गर्दैनन् । सम्जुर गाउँमा धेरै कुरामा हिन्दु जातीहरुसंग मुस्लिमहरुको रीतिरिवाज र रहनसहनमा स्थानीयकरण भएतापनि आफ्नो धर्म, संस्कृति र संस्कार भने जोगाएका छन । गाउँमा हिन्दु र मुस्लिमहरुमा मित्रता साइनो समेत लगाउने प्रचलन छ । सम्जुरमा पर्यटकहरुले झट्ट मुस्लिमहरु र हिन्दु प्राय छुट्टाउन सक्दैनन् । तर, आ–आफ्नो धार्मिक संस्कारबाट मात्र छुटिन्छ ।

सम्जुर गाउँमा मुश्लिमहरुले आफ्नो धार्मिक मान्यता अनुसार रोजा, इद (उल) फितर, ईद (उल) जुहा (बकरीद), मुहर्रम (हाइदोश), शबबरात, ईद मिलादुनवि जस्ता चाडपर्वहरु मान्ने गर्दछन । बकर इद मुस्लिम समुदायको हज तीर्थाटन र बलिदानको रुपमा मनाइन्छ । सम्जुर गाउँमा इच्छुक मुस्लिमहरु हज गर्न साउदी अरबको मक्का र मदिना जाने प्रचलन पनि छ । हज गरेर आउनेलाई हाजीको सम्मान दिइन्छ ।

इतिहासमा रुचि राख्ने पर्यटक सम्जुर गाउँ जादा मिर्लुङकोट पुगेन भने उस्को यात्रा अधुरो जस्तै हुन्छ । मगर भाषामा मिर भनेको ठूलो र लुङ भनेको ढुङ्गा हो । मिर्लुङकोट नजिकै पोखरीछापको शिद्धथान नजिक ठूला ढुङ्गा पनि छ। तनहुँ मिर्लुङकोटको चुचुरोमा राजा धर्मागत सेनले शासन गरेको र उनको दरवारको भग्नाबशेष देख्न पाइन्छ। राजा धर्मागत सेनको दरवार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशवाट परेको पानीबाट बनेको पोखरीमा पानी कहिल्यै पनि सुक्दैन थियो । तर, पछिल्लो केही वर्ष यता लामो खडेरी तथा गाईवस्तुको चरिचरण कम हुँदै गएपछि हिउँदको समयमा पानी सुक्ने गरेको छ ।

तनहुँका राजा भृङ्गी सेनको मृत्यु पछि राज्यको शासन राजकुमार हम्विरसेन रधर्मागत सेनको बिचमा हुन आयो । दुईभाईको भागबण्डामा तनहुँको शासनभार हम्विरसेनको हातमा आयो । तनहुँको राज्य शासन दाज्युको हातमा गएपछि धर्मागतले राज्यको दावा छाडी मिर्लुङकोटमा स्वतन्त्र राज्य स्थापना गरेका हुन। त्यसबेला सेन राजा धर्मागतले मादी भन्दा पूर्व क्यामिनकोट, मिर्लुङकोट, ज्यामरुककोट, चोकचिसापानीकोट र पुर्कोटका घले राजाहरुलाई परास्त पारी बिशाल मिर्लुङ राज्यको स्थापना गरेका थिए ।

तनहुँको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट समुन्द्री सतहबाट १ हजार ६५४ मिटर उचाइमा पर्दछ। मिर्लुङकोट प्राकृतिक भ्युटावर पनि हो । पर्यटकहरुले मिर्लुङकोटबाट तनहुँ जिल्लाको बिभिन्न स्थानका मात्र नभएर लमजुङ, गोरखा, मनाङ र कास्कीका बिभिन्न गाउँ ठाउँहरु अवलोकन गर्न सक्दछन। सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको मिर्लुङकोटमा प्राकृतिक सुन्दरताले पर्यटकहरु रमाउँछन । मिर्लुङकोट क्षेत्र प्राकृतिक, साँस्कृतिक, धार्मिक र जैविक विविधतामा धनि छ ।

मिर्लुङको पश्चिम तर्फ शक्तिदेवको रुपमा मानिने शिखर कटेरी भयरको मन्दिर र त्यसको ठीक उत्तरतर्फ नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद पार्क रहेको छ । ऐतिहासिक महत्व, पहिचान र विशेषता बोकेको स्थल हो मिर्लुङकोट । मिर्लुङकोट क्षेत्रको माथिल्लो खण्डमा गुरुङ समुदायको वसोवास रहेको छ । पर्यटकहरुले गुरुङ समुदायको भाषा, संस्कृति, रितिरिवाज, परम्पराको अवलोकनका साथै खानाका परिकारको स्वाद लिन सक्दछन। मिर्लुङकोटसम्म पैदल यात्रा गर्नका लागि बाघको खोरदेखि कोटसम्म सिढी निर्माण गरिएको छ ।

सम्जुर गाउँ कसरी पुग्ने ?

तनहुँको डुम्रे बजारबाट प्रवेश गरी भन्सार, सेपाबगैचा, चन्द्रवती हुँदै मिर्लुङ जान सकिन्छ । डुम्रेबाट मिर्लुङसम्मको दुरी १८ किलोमिटर पर्दछ । चन्द्रवती बजारबाट बिभिन्न ५ वटा सहायक मार्ग मार्फत मिर्लुङका बिभिन्न स्थानहरु रतनपुर, आरवाजे, राइपाली भज्ञ्याङ जान सकिन्छ । सम्जुर गाउँ पुग्नको लागि चन्द्रवतीबाट सिमलचौर, कर्मीडाडा, माझगाउँ भएर उपल्लो सम्जुर पुगिन्छ । यस्तै, सदरमुकाम दमौलीस्थित भोर्लेटारचोकबाट कलेस्ति, गजौडे, विर्ता हुँदै सम्जुरको बाँकेपसल, पोखरीछाप, बासपानी हुँदै मिर्लुङकोट पुग्ने सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker