इतिहासको खोज : सम्जुरको मुस्लिम गाउँ
के.बि. मसाल

पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन। पर्यटनमा इतिहास र संस्कृतिको बारेमा खोज अध्ययन गर्ने धेरै पर्यटकहरुको रुचि हुन्छ । पर्यटन क्षेत्रमा इतिहास पुरानो हुँदैन । पर्यटन मूलतः अनुभूति र रोचकतासँग जोडिएको हुन्छ। यी अनुभूतिहरु समयसँगै पुराना हुँदैनन्। पर्यटनले इतिहासलाई वर्तमानसँग जोडछ। त्यसैले इतिहासका कुरा पनि वर्तमानका अवसर र भविष्यका सम्भावना बन्छन । पर्यटनको क्षेत्र शताब्दीऔँ पुराना भए पनि हरेक पुस्ताले नयाँ अनुभवका रुपमा लिने गर्दछन । ऐतिहासिक स्थलले पनि पर्यटकहरुलाई आकर्षण गर्दछ । पर्यटक जब कुनै ऐतिहासिक ठाउँमा पुग्दछ उसको लागि नयाँ अनुभव हुन्छ । तनहुँको भानु नगरपालिका पर्यटनका लागि इतिहास, सस्कृति, साहित्य तीर्थ, धर्म र संस्कार सबैको खोज अनुसन्धानमा रुचि भएका पर्यटकहरुका लागि पुग्नै पर्ने ठाउँ हो । भानुमा पर्यटनको क्षेत्रमा लुकेका धेरै इतिहास, संस्कृति, धर्म र सस्कार छन ।
सम्जुरको मुस्लिम गाउँ भानु नगरपालिका–१३ मा पर्दछ । पर्यटकहरुले यात्रामा ऐतिहासिक मिर्लुङकोट, भानुभक्तको जन्मस्थल चुँदीरम्घा, तनहुँको प्रख्यात देवी थानिमाई र मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेस्थित मस्जिदको अध्ययन अवलोकन गर्न सक्दछन । पर्यटकहरुलाई आफ्नो भन्दा फरक धर्म र संस्कृतिमा खोज अनुसन्धानमा रुचि हुन्छ । धेरै पर्यटकहरुले आफ्ना धर्म र संस्कार बाहेक अरुको धर्म र संस्कृतिको बारेमा अध्ययन गर्न खोज्दछन। पर्यटनको क्षेत्र खुल्ला विश्व विद्यालय हो। इतिहासको पानामा नभएका ऐतिहासिक कुराहरु पर्यटकहरुले यात्रामा खोज्दछन । सम्जुर गाउँमा २०० घरधुरी मुस्लिमहरुको बस्ती रहेको छ। सम्जुर गाउँमा नयाँ पर्यटकहरु पुग्यो भने मुस्लिम र हिन्दु वा बौद्ध छुट्टाउन गारो पर्दछ । लवाई, भाषा र अन्य हाउभाउ पनि सबै मिल्दछ ।

सम्जुर गाउँमा मुस्लिम र हिन्दु समुदायले सदियौँदेखि शान्तिपूर्ण सहअस्तित्वमा जीवन बिताउँदै आएका छन । इतिहासमा रुचि राख्ने पर्यटकहरुका लागि सम्जुर गाउँमा कुनै शिलालेख त भेटिदैन । तर पनि सम्जुर गाउँमा ११०० सालमा बस्ती बसेको मानिन्छ । सुरुमा ६० घरको बस्ती हुँदा सम्जुर गाउँलाई पहिला साठीघरे समेत भन्ने गरेको पाइन्छ। सम्जुर गाउँमा मुस्लिमहरुको सातवटा मस्जिद रहेको छ। मस्जिदमा भेला भएर मुस्लिम अर्थात मुसलमान समुदायले प्राथना गर्ने गर्दछन । सम्जुर माझ गाउँमा ऐतिहासिक दर्गाह जामे मस्जिद विक्रम सम्वत १७१३ मा राजा मुकुन्दसेनकी श्रीमती तिलोत्तमा रानीले आफ्नो भाकल पुरा गर्न निर्माण गर्न लगाएको लोक कथन छ ।
तर, इतिहासमा नेपाल मध्यकालमा साना ठूला गरी ५२ भन्दा बढी राज्यमा विभाजित थियो । ती राज्यहरु मध्ये तनहुँ राज्य गण्डकी क्षेत्रमा अवस्थित चौबिसी राज्य अन्तर्गत पर्दथ्यो । तनहुँ राज्यको स्थापना पाल्पाका राजा मुकुन्दसेन प्रथमका साहिला छोरा भृङ्गी सेनले वि.सं. १६१० मा गरेका थिए। चौबीसी राज्यहरु बीच तनहुँ राज्य आर्थिक रुपमा सबल र सामारिक रुपमा महत्वपूर्ण राज्य मानिन्थ्यो। तनहुँ राज्यमा वि.सं. १६१० देखि १८३९ सम्म २२९ वर्षमा नौ जना सेनवंशी राजाहरुले राज्य गरेका थिए । तनहुँको राज्य तनहुँसुरमा भृङ्गी सेनपछि क्रमशः हम्बिर सेन, तुला सेन, दामोदर सेन, दिग्विजय सेन, कामराजदत्त सेन, त्रिविक्रम सेन, कामारीदत्त सेन र तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले शासन चलाए ।

वि.सं. १७५३ मा दामोदर सेनको मृत्यु भएपछि दिग्विजय सेन तनहुँका राजा भए। दिग्विजय सेन तनहुँका पाचौ राजा हुन । दिग्विजय सेनले मुगल वादशाहहरुसँग सम्बन्ध बढाउन थालेपछि तनहुँको तराई खण्डमा मात्र नभई पहाडी खण्डमा पनि मुसालमानहरुको आवतजावत बढन थाल्यो। मुसलमान व्यापारीहरु चम्पारनबाट चितवन हुँदै तनहुँ, गोरखा, कास्की, धादिङ, नुवाकोट र काठमाडौँ उपत्यकासम्म व्यापार गर्न थाले (अधिकारी, वि.सं. २०५५) । दिग्विजय सेनले यी मुसलमानहरुलाई व्यापार गर्न प्रोत्साहित गरी बसोबास गर्नका लागि आफ्नै तनहुँ राज्यको सम्जुर भन्ने गाउँमा बस्ने व्यवस्था मिलाई दिएको कुरा इतिहासमा उल्लेख छ ।
इतिहास भनेको बितेका सत्यतथ्य घटनाहरुको यथार्थ विवरण हो । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो। इतिहासको खोज अनुसन्धान अहिल्य सकिदैन । सम्जुर गाउँको इतिहास खोजको बिषय हुन सक्दछ । सम्जुर गाउँ धार्मिक–साँस्कृतिक र पर्यटनको सम्भावना भएको गाउँ हो। सम्जुरको शाब्दिक अर्थ मुस्लिमहरुको बस्ती भएको गाउँ हो । सम्जुर गाउँ पनि त्यस्तै एउटा बस्ती हो। जसले धार्मिक, साँस्कृतिक विविधता, पुराना मस्जिदहरु र सामुदायिक सहअस्तित्व मार्फत पर्यटकलाई आकर्षित गर्ने गाउँमा पर्दछ ।

स्थानीय अभिलेख र मौखिक इतिहास अनुसार सम्जुर गाउँका मुस्लिम समुदाय दशकौँअघि व्यापार, प्रशासन वा सैनिक सेवाका क्रममा आएको मानिन्छ । कालान्तरमा मस्जिद, मदरसा निर्माण गर्दै स्थायी बसोबास गरेका हुन । सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । तीमध्ये एउटा मस्जिदलाई स्थानीयले नेपालको पुरानो मस्जिदमध्ये एक मान्ने गर्छन । सम्जुर गाउँका मस्जिदहरु मुस्लिम धर्मावलम्बीको धार्मिक आस्था मात्रै नभई पर्यटकका लागि ऐतिहासिक धरोहर पनि हो। सम्जुरमा हिन्दू र मुस्लिम परिवारहरु ईद, रमजान, दशैँ, तिहारजस्ता पर्वहरुलाई आपसी सदभावसहित मनाउने गर्दछन । त्यति मात्र होइन आजभोली हिन्दु र मुश्लिम बिचमा बिवाहवारी समेत चल्न थालेको छ। सम्जुर गाउँमा यस्तो सामुदायिक विविधता देख्दा पर्यटकहरु अचम्म मान्दछन ।
पर्यटनका लागि सम्जुर गाउँको पहाडी जनजीवन अवलोकन गर्न सकिने भूगोल पर्दछ । अर्को तर्फ हरियाली वन पाखा अनि स्वच्छ चिसो हावा, सिरसिर चल्ने शीतल पवन । पवनसँगै विभिन्न चराचुरुङ्गीको मिठो आवाज सुन्दा सम्जुर गाउँमा पुग्ने पर्यटकहरुको मनै लोभ्याउँछ। सम्जुर गाउँ वरपर हरियो खेतबारी, चिलाउनेखर्कजस्ता डाँडाकाँढ र ग्रामीण जीवनको रमणीयता देख्न सकिन्छ ।

नेपालका मुस्लिम बसोबासको इतिहास बुझन खोज्ने अनुसन्धानकर्ताका लागि सम्जुर एउटा लिभिङ म्युजियम जस्तै छ। सम्जुर गाउँ केवल मुस्लिम समुदायको बस्ती मात्र होइन, नेपालभित्रको धार्मिक सहिष्णुताको जीवन्त उदाहरण पनि हो । सम्जुरबाट नागबेली पहाडी श्रृंखला वरिपरि देखेपछि पर्यटकहरुको मनमा छुट्टै आनन्द आउँछ । गर्मीको समयमा शितलता र शान्त वातावरणमा रमाउने पर्यटकहरुका लागि सम्जुर गाउँ पुग्नै पर्दछ ।
सम्जुर गाउँमामा मुस्लिमहरुको बाक्लो बस्ती रहेको छ । मुस्लिमहरुले पछिसम्म पनि महिलाहरुले लगाउने चुरा पोते, टिका, सिन्दुर, चुरोट लगायत बस्तुहरु डोकामा बोकेर गाउँ गाउँमा गएर बिक्री गर्दथे । बिशेष गरी चुरा बेच्ने भएकोले उनिहरुलाई चुरेटा भन्ने गरिएको पाइन्छ। सम्जुर गाउँका मुस्लिम महिलाहरुले अनुहार ढाक्न प्रयोग गर्ने वस्त्र नकाब, बुर्का र हिजाब अर्थात सिर, घाँटी र कपाल ढाक्ने वस्त्र पनि प्रायः लगाउँदैनन् । तर कसैले भने धार्मिक निष्ठा, सुरक्षा, सांस्कृतिक पहिचान वा आत्मसम्मानको रुपमा स्वइच्छाले लगाउने गर्छन । अर्को तर्फ पुरुषहरुले लगाउने टोपी कुल्ली टोपी अथवा ताकिया टोपी सादा सेतो टोपी जुन नमाज पढदा मात्र लगाउने गर्दछन । तर अन्य समयमा ढाका टोपी लगाउने गर्दछन । पुरुषहरुले केहिले दाह्री पाल्छन् भने धेरैजसोले काटने गर्दछन् ।

सम्जुर गाउँमा हिन्दुहरुको बिवाह भयो भने हिन्दु भन्दा बढी मुस्लिमहरु देखिन्छन। सम्जुरमा मुस्लिमहरु आपसी कुराकानी गर्दा अरबी, केही फारसी, केही हिन्दी शब्दहरुको पनि समायोजन भएको असाधारण भाषा बोल्दछन । बोल्द पुच्छारमा तोरे, तन, होई जस्ता शब्द जोडेर एकआपसमा बोल्ने गर्दछन । यस्ता भाषालाई चुरौटी भाषा भनिन्छ। त्यही कारणले जनगणनामा चुरौटी भाषालाई मातृभाषाको रुपमा सूचिकृत गरिएको छ ।
सम्जुरका मुस्लिमहरु विवाहमा कलश राख्दछन तर पुजा गर्दैनन्। आजभोली शाहीपाटाको प्रचलन भने सुरुवात भएको छ । हिन्दुहरुको चाडपर्वमा टिका मात्र लगाउँदैनन् तर अन्य खानपिन कार्यमा सहभागि हुन्छन । तिहारमा टीका नलगाए पनि घरैमा रोटी पकाएर रमाइलो गर्ने चलन छ । गाई तिहारका दिन गाईलाई पूजा नगरे पनि गाईको शरीरमा हिन्दूहरुको चलन झैँ चामलको पीठो, वेसार, अवीर मुछि वेओराको छाप बनाई गाईको शरीरमा सेतो पहेलो र रातो छाप लगाउने फूलको माला लगाइदिने, गाई गोरुलाई पिडो अर्थात कुडो खुवाउने गर्दछन् । त्यसदिन गोरुलाई जोत्ने पनि गर्दैनन् । सम्जुर गाउँमा धेरै कुरामा हिन्दु जातीहरुसंग मुस्लिमहरुको रीतिरिवाज र रहनसहनमा स्थानीयकरण भएतापनि आफ्नो धर्म, संस्कृति र संस्कार भने जोगाएका छन । गाउँमा हिन्दु र मुस्लिमहरुमा मित्रता साइनो समेत लगाउने प्रचलन छ । सम्जुरमा पर्यटकहरुले झट्ट मुस्लिमहरु र हिन्दु प्राय छुट्टाउन सक्दैनन् । तर, आ–आफ्नो धार्मिक संस्कारबाट मात्र छुटिन्छ ।

सम्जुर गाउँमा मुश्लिमहरुले आफ्नो धार्मिक मान्यता अनुसार रोजा, इद (उल) फितर, ईद (उल) जुहा (बकरीद), मुहर्रम (हाइदोश), शबबरात, ईद मिलादुनवि जस्ता चाडपर्वहरु मान्ने गर्दछन । बकर इद मुस्लिम समुदायको हज तीर्थाटन र बलिदानको रुपमा मनाइन्छ । सम्जुर गाउँमा इच्छुक मुस्लिमहरु हज गर्न साउदी अरबको मक्का र मदिना जाने प्रचलन पनि छ । हज गरेर आउनेलाई हाजीको सम्मान दिइन्छ ।
इतिहासमा रुचि राख्ने पर्यटक सम्जुर गाउँ जादा मिर्लुङकोट पुगेन भने उस्को यात्रा अधुरो जस्तै हुन्छ । मगर भाषामा मिर भनेको ठूलो र लुङ भनेको ढुङ्गा हो । मिर्लुङकोट नजिकै पोखरीछापको शिद्धथान नजिक ठूला ढुङ्गा पनि छ। तनहुँ मिर्लुङकोटको चुचुरोमा राजा धर्मागत सेनले शासन गरेको र उनको दरवारको भग्नाबशेष देख्न पाइन्छ। राजा धर्मागत सेनको दरवार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशवाट परेको पानीबाट बनेको पोखरीमा पानी कहिल्यै पनि सुक्दैन थियो । तर, पछिल्लो केही वर्ष यता लामो खडेरी तथा गाईवस्तुको चरिचरण कम हुँदै गएपछि हिउँदको समयमा पानी सुक्ने गरेको छ ।

तनहुँका राजा भृङ्गी सेनको मृत्यु पछि राज्यको शासन राजकुमार हम्विरसेन रधर्मागत सेनको बिचमा हुन आयो । दुईभाईको भागबण्डामा तनहुँको शासनभार हम्विरसेनको हातमा आयो । तनहुँको राज्य शासन दाज्युको हातमा गएपछि धर्मागतले राज्यको दावा छाडी मिर्लुङकोटमा स्वतन्त्र राज्य स्थापना गरेका हुन। त्यसबेला सेन राजा धर्मागतले मादी भन्दा पूर्व क्यामिनकोट, मिर्लुङकोट, ज्यामरुककोट, चोकचिसापानीकोट र पुर्कोटका घले राजाहरुलाई परास्त पारी बिशाल मिर्लुङ राज्यको स्थापना गरेका थिए ।
तनहुँको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट समुन्द्री सतहबाट १ हजार ६५४ मिटर उचाइमा पर्दछ। मिर्लुङकोट प्राकृतिक भ्युटावर पनि हो । पर्यटकहरुले मिर्लुङकोटबाट तनहुँ जिल्लाको बिभिन्न स्थानका मात्र नभएर लमजुङ, गोरखा, मनाङ र कास्कीका बिभिन्न गाउँ ठाउँहरु अवलोकन गर्न सक्दछन। सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको मिर्लुङकोटमा प्राकृतिक सुन्दरताले पर्यटकहरु रमाउँछन । मिर्लुङकोट क्षेत्र प्राकृतिक, साँस्कृतिक, धार्मिक र जैविक विविधतामा धनि छ ।

मिर्लुङको पश्चिम तर्फ शक्तिदेवको रुपमा मानिने शिखर कटेरी भयरको मन्दिर र त्यसको ठीक उत्तरतर्फ नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद पार्क रहेको छ । ऐतिहासिक महत्व, पहिचान र विशेषता बोकेको स्थल हो मिर्लुङकोट । मिर्लुङकोट क्षेत्रको माथिल्लो खण्डमा गुरुङ समुदायको वसोवास रहेको छ । पर्यटकहरुले गुरुङ समुदायको भाषा, संस्कृति, रितिरिवाज, परम्पराको अवलोकनका साथै खानाका परिकारको स्वाद लिन सक्दछन। मिर्लुङकोटसम्म पैदल यात्रा गर्नका लागि बाघको खोरदेखि कोटसम्म सिढी निर्माण गरिएको छ ।
सम्जुर गाउँ कसरी पुग्ने ?
तनहुँको डुम्रे बजारबाट प्रवेश गरी भन्सार, सेपाबगैचा, चन्द्रवती हुँदै मिर्लुङ जान सकिन्छ । डुम्रेबाट मिर्लुङसम्मको दुरी १८ किलोमिटर पर्दछ । चन्द्रवती बजारबाट बिभिन्न ५ वटा सहायक मार्ग मार्फत मिर्लुङका बिभिन्न स्थानहरु रतनपुर, आरवाजे, राइपाली भज्ञ्याङ जान सकिन्छ । सम्जुर गाउँ पुग्नको लागि चन्द्रवतीबाट सिमलचौर, कर्मीडाडा, माझगाउँ भएर उपल्लो सम्जुर पुगिन्छ । यस्तै, सदरमुकाम दमौलीस्थित भोर्लेटारचोकबाट कलेस्ति, गजौडे, विर्ता हुँदै सम्जुरको बाँकेपसल, पोखरीछाप, बासपानी हुँदै मिर्लुङकोट पुग्ने सकिन्छ ।











