भानुमा युवा लक्षित सीप मुलक कार्यक्रम सञ्चालन

तनहुँको भानु नगरपालिमा युवा लक्षित कार्यक्रम सञ्चालित गरिएको छ । नगरपालिकाको सामाजिक शाखाले युवा लक्षित कार्यक्रम अन्तर्गत हलुका सवारी चालक तालिम र हाते ट्रयाक्टर, मिनि टिलर मर्मत तालिम संचालन गरिएको छ ।
एक महिने सवारी चालक तालिमको सोमबार समापन गरिएको छ । तालिममा नगरपालिका भित्रका १३ वटा वडाका ६ जना महिला सहित २६ जनाको सहभागिता रहेको थियो । सहभागिलाई मर्स्याङ्दी ड्राइभिङ सेन्टर पालुङटार-७ गोरखाले तालिम प्रदान गरेको सामाजिक शाखाका प्रमुख कृपाहरि लौडारीले बताए ।
युवालाई सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले हाते ट्रयाक्टर मिनिटिलर मर्मत तालिम समेत प्रदान गरिएको छ । १५ दिने उक्त तालिममा प्रतेक वडाबाट २ जनाका दरले २६ जना युवाहरुले सीप सिकेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।
युवा लक्षित कार्यक्रम अन्तर्गत पालिकाका ५२ जना युवाहरुलाई सीप प्रदान गरिएको र तालिम प्राप्त गरेका युवाहरुका लागि सहयोग पुग्ने खालका कार्यक्रम आगामी वर्षमा योजना बनाएर अगाडि बढ्ने नगरपालिकाले तयारी गरेको छ ।
युवाहरुको हातमा सीप भए स्वरोजगार बन्ने र आर्थिक समृद्धि हासिल गर्न सहज हुने हुँदा र सीप भएकाहरुले जुनकुनै ठाउँमा जाँदा समेत अवसर पाउने भएकाले नगरपालिकाले सीप मूलक कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।










