सामाजिक अगुवा शंखमान भुजेलको निधन

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–५, भुजेलगाउँ निवासी सामाजिक अगुवा शंखमा (शंखबहादुर) भुजेलको सोमबार ७६ वर्षको उमेरमा निधन भएको छ ।
अल्पसंख्यक भुजेल समुदायका एक अग्रज व्यक्तित्व रहेका स्व. भुजेलको निधनले गाउँ शोकमा डुबेको स्थानीयले बताएका छन् । समाजको रीतिरिवाज जोगाउनेदेखि विद्यालय, मोटरबाटो, विजुली–बत्ती, खानेपानीलगायत आधारभूत पूर्वाधार निर्माणमा उनले निभाएको भूमिकालाई स्थानीयले अमूल्य योगदानको रुपमा स्मरण गरेका छन्।
आँदिमूल भुजेल सेवा समितिका पूर्व अध्यक्ष समेत रहेका स्व. भुजेल भुजेल गाउँका एक महत्त्वपूर्ण आधारस्तम्भका रूपमा परिचित थिए। “आफ्नो चुलो बलोस नबलोस समाज विकासमा योगदान त गर्नै पर्छ” भन्ने विश्वासका साथ उनले भुजेल आँदिबराही आधारभूत विद्यालयको स्थापना गरेका थिए।
उमेरको उत्तरार्धमा समेत बाँसको चोयाबाट नाङ्लो, डालोलगायतका सामग्री निर्माणमा सक्रिय रहेका उनी पछिल्लो वर्षहरूमा दम र ग्यास्ट्रिक समस्याबाट पीडित रहेको उनका छोरा रामबहादुर भुजेलले बताए ।
स्व. भुजेलको परिवारमा श्रीमती, ३ छोराछोरी र ६ छोरीहरू छन् । उनको निधनबाट भुजेल गाउँले एक श्रमजीवी, विनम्र र प्रेरणादायी व्यक्तित्व गुमाएको स्थानीय समाजले जनाएको छ ।










