सार्वजनिक स्थलमा निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन व्यास नगरपालिकाको निर्देशन

दमौली : तनहुँको व्यास नगरपालिकाले सडक पेटी तथा सार्वजनिक आवागमनमा अवरोध हुने गरी निर्माण गरिएका पक्की संरचना, कम्पाउन्ड, टहरा, सिँढी, बरन्डा तथा सडक अधिकार क्षेत्रभित्र पर्ने अन्य संरचना सात दिनभित्र हटाउन सम्बन्धित घरधनीलाई निर्देशन दिएको छ ।

नगर कार्यपालिकाको २०८३ जेठ २२ गते बसेको २३५औँ नियमित बैठकको निर्णयअनुसार नगरपालिकाले सडक पेटी तथा सार्वजनिक आवागमनमा अवरोध हुने संरचना हटाउन यसअघि नै सूचना जारी गरेको थियो । नगरपालिकाले पहिलोपटक जेठ २५ गते ३५ दिने सूचना र त्यसपछि साउन १ गते १५ दिने सूचना प्रकाशित गरेको थियो ।

सूचनाको म्याद समाप्त भइसकेपछि पनि धेरै घरधनीले आफूले निर्माण गरेका संरचना हटाए पनि केही घरधनीले अझै संरचना नहटाएको नगरपालिकाले जनाएको छ । संरचना नहटाउने घरधनी तथा सम्बन्धित पक्षलाई व्यक्तिगत रूपमा समेत संरचना स्वयं हटाउन पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पछिल्लो सूचनामार्फत उक्त सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अनिवार्य रूपमा संरचना स्वयं हटाई सडक पेटी तथा सार्वजनिक आवागमन सहज बनाउन अन्तिम पटक सूचित गरेको छ ।

तोकिएको समयभित्र संरचना नहटाए नगरपालिकाले प्रचलित कानुन तथा नगर कार्यपालिकाको निर्णयबमोजिम आफैँ संरचना हटाउने चेतावनी दिएको छ । त्यसरी संरचना हटाउँदा लागेको सम्पूर्ण खर्च सम्बन्धित घरधनी वा पक्षबाट असुलउपर गर्नुका साथै आवश्यक कानुनी कारबाहीसमेत अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको निर्णयले सडक पेटी, सडक अधिकार क्षेत्र तथा सार्वजनिक स्थान अतिक्रमण गरी निर्माण गरिएका संरचनाका कारण पैदलयात्री तथा सवारी आवागमनमा हुने अवरोध हटाउने उद्देश्य राखेको छ । नगरपालिकाले सार्वजनिक सडक तथा आवागमनको क्षेत्रलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker