तनहुँमा दैनिक संक्रमितको संख्या बढ्दै, अधिकांश संक्रमितहरु होम आइसोलेशनमा
तनहुँमा विहीबार २९ जनामा संक्रमण पुष्टि, १४५ जना सक्रिय संक्रमित
- भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमितका संख्या दैनिक जसो बढ्दै जान थालेको छ । स्वास्थ्यमा समस्या देखिएपछि, कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वयं व्यक्ति तथा स्थानीय पालिकाहरुले परीक्षणको दायारा बढाउन थालेपछि अहिले जिल्लामा दैनिक जसो संक्रमितको संख्यमा वृद्धि हुन थालेको छ । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १४५ जना पुगेको छ । विहीबार मात्र जिल्लाका २९ जनामा संक्रमण पुष्टि भएको छ । व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका क्षेत्रमा बढि सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको भानु नगरपालिकामा १ जना, व्यास नगरपालिकामा ५२ जना, शुक्लागण्डकीमा ५१ जना, भिमादमा ३३ जना, म्याग्देमा २ जना, घिरिङमा १ जना, ऋषिङमा २, देवघाटमा २, बन्दिपुरमा १ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा संक्रमण पुष्टि भएका अधिकांश संक्रमितहरु आवश्यकम स्वास्थ्य सुरक्षाका सावधानी अप्नाएर होम आइसोलेशनमै बसेका छन् । यसरी होम आइसोलेशनमा बस्नेहरुको स्वास्थ्य अवस्थाका विषयमा सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीहरुले समयसमयमा संक्रमितहरुको जानकारी लिने गरेका छन् । संक्रमित भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशनमै बसेको शुक्लागण्डकीका ५७ वर्षीय कोरोना संक्रमित पुरुषले बताए । उनले भने, ‘पहिले रुघाखोकी लाग्दा पिसिआर परीक्षण गरेको थिए, रिपोर्ट पोजेटिभ आएको ५ दिन भयो अहिले अवस्था सामान्य छ ।’
यसरी आइसोलेट भएर बस्दा स्वास्थ्यकर्मीले फोन गरेर ‘स्वास्थ्य अवस्था के छ, केही असहज भए हामीलाई सर्म्पर्क गर्नुहोला’ भनी स्वास्थ्य सम्बन्धी जानकारी लिएको उनले बताए । उनले भने, ‘यसरी होम आइसोलेशनमा बस्नेलाई समयसमयमा फोन गरेर उत्प्रेरण जगाउने, स्वास्थ्य सम्बन्धी सचेत गराउने जानकारी दिने हो भने संक्रमितहरुलाई थप हौसला मिल्नेछ ।’
यस्तै, शुक्लागण्डकीकी २४ वर्षीया युवती स्वास्थ्यमा समस्य देखिएपछि विगत एक हप्तादेखि होम आइसोलेशनमा बसेको बताउँछिन् । ‘चार दिनदेखि ज्वोरो आएको कारण सोमबार पीसिआर परीक्षणका लागि स्वाब पठाएको थिए । बुधबार बिहानै पोजेटिभ आयो’, उनले भनिन्, ‘म आफै स्टाफ नर्स पढ्दै छु । स्वास्थ्य सुरक्षाका सावधानी अप्नाएर आवश्यक औषधीको सेवन गर्दै आएको छु ।’
४१ वर्षीया अर्की संक्रमित महिलाको अवस्था पनि सामान्य छ । उनी पनि होम आइसोलेशनमै बसेकी छन् । ‘सामान्य रुघाखोकी लाग्दा पिसिआर परीक्षण गरेकी थिए’, उनले भनिन्, ‘समय समयमा स्वास्थ्य कार्यालयबाट फोन गरी स्वास्थ्य सम्बन्धी जानकारी लिई राख्नुभएको छ ।’ संक्रमित भई स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितहरु होम आइसोलेशनमै बसेका स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘होम आइसोलेशनमा बसेकाहरुको पनि समयसमयमा निग्रानी गरिरहेका छौ र फोन मार्फत स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइरहेका छौं ।’
कोभिड अस्पताल अथवा स्थानीय तहले निर्माण गरेको आइसोलेशनमा बसेका भन्दा होम आइसोलेशनमा बसेका चाढै निको भएका देखिएपछि होम आइसोलेशनमा बस्न राज्यले र जिल्लाले पनि आग्रह गरेको बताउँदै उनले भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गए आइसोलेशनमा ल्याउने व्यवस्था पनि गरेका छौं ।’
जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ५ वेड सघन कक्ष सहित ३० वेड क्षमताको कोभिड अस्पताल, दमौली अस्पतालमा ४ भेन्टिलेटर सहितको ७ वेडको आईसियु कक्ष, बन्दीपुर गाउँपालिकामा १५ वेडको आइसोलेशन, भानुमा ५ वेडको आइसोलेशन र आँबुखैरेनी गाउँपालिकामा १२ वेडको अक्सिजन सहितको आइसोलेशन कक्ष रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यस्तै, संक्रिय संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बैशाख २२ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञ जारी गरेको छ । तनहुँका २२ हजार २४० जनामा पहिलो मात्रको र ४ हजार ३८१ जनामा दोश्रो मात्रको कोभिड विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।










