“पृथ्वीराजमार्गका बस्ती क्षेत्रमा सुरक्षित वस्ती अवधारणा लागू गर्न माग”

तनहुँ : पोखराबाट मुग्लिनसम्मको पृथ्वीराजमार्ग खण्डमा रहेका प्रमुख बस्ती क्षेत्र दिनानुदिन दुर्घटना जोखिम, यातायातको चाप र कमजोर पूर्वाधारका कारण संवेदनशील बन्दै गएको भन्दै भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई संयुक्त रूपमा विस्तृत ज्ञापनपत्र पेश गरिएको छ ।
ई. श्रीराम न्यौपाने तथा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको टोलीले राजमार्ग सुरक्षा, यातायात संरचना, स्मार्ट प्रविधि तथा अलपत्र परेका निर्माण आयोजना अगाडि बढाउन माग गर्दै तीनै मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञानपपत्रमा पृथ्वीराजमार्गका कोत्रे, दुलेगौंडा, खैरेनिटार, थर्पु, जामुने, गुणादी, दमौली, कमलबारी, डुम्रे, सत्रसय, आँबुखैरेनीलगायत बस्ती क्षेत्रमा बालबालिका, वृद्ध, विद्यार्थी तथा दैनिक यात्रु निरन्तर दुर्घटनाको जोखिममा रहेको र राज्यले तत्काल प्रभावकारी सुरक्षा संरचना निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भीडभाड क्षेत्र, चोक तथा जोखिमयुक्त मोडमा ऊर्जा–कुशल स्मार्ट सडक बत्ती जडान, आवश्यकता अनुसार फ्लाइओभर÷अन्डरपास निर्माण, दुबैपट्टि नाला ढाकी रेलिङ राखेर बालबालिका सिधै सडकमा ननिस्कने व्यवस्था, दृश्यता कमजोर तथा दुर्घटना दोहोरिने मोडको पुनःडिजाइन, चौडाइ सुधार र सुरक्षित मोड निर्माण, पार्किङ, सार्वजनिक शौचालय, चमेना गृह तथा इलेक्ट्रिक सवारी साधान चार्जिङ स्टेशन सहितका सुविधा निजी क्षेत्र सहभागितामा निर्माण गर्न वातावरण तयार पार्न माग गरिएको छ ।
यस्तै, आकस्मिक घटनामा छिटो उपचारका लागि पृथ्वीराजमार्ग क्षेत्रमा छुट्टै एम्बुलेन्स सेवा तथा साना दुर्घटनाका लागि प्राथमिक उपचार अस्पताल स्थापना, अपराध नियन्त्रण, दुर्घटना निगरानी र ट्राफिक व्यवस्थापनका लागि राजमार्गभरि सिसिटीभी नेटवर्क विस्तार, गति सीमा, लेन मार्किङ र लेन अनुशासन कडाइका साथ कार्यान्वयन, सडक मापदण्ड अनुसारका चिन्ह, रिफ्लेक्टर, ट्राफिक गाइडलाइन व्यवस्थित राखी कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
राजमार्ग छेउका बस्तीलाई दीर्घकालीन योजना अनुसार सुरक्षित, स्वस्थ र व्यवस्थित वस्तीमा रूपान्तरण गर्न सरकारसँग माग गरिएको ज्ञापनपत्रमा विगत करिब एक दशकदेखि रोकिएका भिमाद स्वास्थ्य चौकी भवन, रिसिङ–घिरिङ क्षेत्रका श्रृङ्गपथ, कृष्णमार्ग, बुद्धसिंह मार्ग तथा मुग्लिन–नारायणगढ सडकसँग जोडिने घुमाउनेको पुल तत्काल निर्माण थाल्न पनि जोडदार माग गरिएको छ । यी परियोजना लम्बिँदा स्थानीय जनजीवन प्रभावित भएको उल्लेख गर्दै मन्त्रालयले शीघ्र पहल गर्न आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “पृथ्वीराजमार्गका बस्ती क्षेत्र दिनप्रतिदिन जोखिममा छन्। बालबालिका, विद्यार्थी, वृद्ध नागरिकलगायत दैनिक यात्रु सुरक्षित रहन राज्यले तुरुन्तै आधुनिक, सुरक्षित र मानवीय राजमार्ग–पूर्वाधार निर्माण गर्नैपर्छ ।”
स्थानीय बासिन्दाको जीवन, स्वास्थ्य र सम्पत्तिको सुरक्षा राज्यको मौलिक दायित्व भएकोले यातायात, ऊर्जा र सहरी पूर्वाधारसँग सम्बन्धित तीनवटै मन्त्रालयले समन्वित रूपमा यी मागलाई आगामी नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै, ज्ञापनपत्र बुझाउने क्रममा टोलीले मन्त्रीहरूलाई प्रदेश–केन्द्रित तथा स्थानीय आवश्यकतामा आधारित ‘सुरक्षित, ध्रुत र मानव–केन्द्रित यातायात प्रणाली’ तत्काल कार्यान्वयन गर्न माग गरेको थियो ।










