तनहुँका दलित पुरोहितद्वारा जनै धारण सहित सामुहिक रक्षावन्धन
भञ्ज्याङ समाचारदाता/दमौली

वैदिक कर्मकाण्ड अंगाल्दै आएका तनहुँका दलित पुरोहितहरुले जनै पूर्णीमाको दिन विहीबार स्वयंले जनै धारण सहित सामुहिक रक्षाबन्धन गरेका छन् ।
वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँमा आवद्ध दलित पुरोहितहरुले व्यास नगरपालिका-३ व्यास गुफा परिसरमा वैदिक विधि अनुसार रुद्री पाठ र ऋषि तर्पणी पाठ गरी जनै धारण सहित सामुहिक रक्षा बन्धन गरेका हुन्।
वेदको सारलाई आम नागरिकसम्म पुर्याउन सके सभ्य समाजको निर्माण हुने ठानेर आफूहरुले विधिवत रुपमा जनै धारण सहित सामुहिक रक्षा बन्धन गरेको पुरोहित समाजका अध्यक्ष तिलक विश्वकर्माले बताए ।
जनै धारण सहित रक्षाबन्धन कार्यमा पूर्ण विश्वकर्मा घिमिरे, विश्ववुढा परियार, माधवबहादुर विश्वकर्मा र सूर्यबहादुर परियार लगायतका दलित समुदायका पुरोहितहरु खटिएका थिए । समाजद्वारा व्यास नगरपालिका-३ अनसन चौतारीमा सयौं सर्वसाधारणलाई रक्षा बन्धन गरेका थिए ।
समाजमा जातिय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि आफूहरुले जनै धारण सहित अभियान थालेको वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँका सचिव वुढा परियारले बताए ।
दलितहरु पनि आर्य समुदाय अन्तर्गत पर्ने भएपनि जातिय विभेद झेल्दै आउनु दुःखद् भएको र यस्ता धार्मिक कार्यक्रमले वेदको सारको व्यवहारिक प्रयोग गर्नेतर्फ सबैलाई अग्रसर गराउने सुनचाँदी व्यवसायी संघ तनहुँका अध्यक्ष विकास सुनारले बताए ।
दलित समुदायका पुरोहितहरु संगठित भई वैदिक ज्ञान प्रसारमा लाग्नु सकारात्मक भएको वैदिक पुरोहित समाज तनहुँका अध्यक्ष तुलसीराम पौडेलले बताए । वेदले जातिय विभेद नगरेकोले सबै जात समान भएको उनले बताए ।










