पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर वडासदस्यको मृत्यु
भञ्ज्याङ न्यूज
तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्थानीय ६८ वर्षीय ओमबहादुर नेपालीको करेन्ट लागेर मृत्यु भएको हो ।
नेपाली कांग्रेस व्यास नगरपालिका-१ का वडासदस्य समेत रहेका नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ । छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तरकारी बारीमा सिंचाइका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेपछि घाइते भएका नेपालीको उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।










