व्यास नगरपालिकाको अस्थायी डम्पिङसाइडमा आगजनी
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले फोहोर बिसर्जन गर्दै आएको अस्थायी डम्पिङ साइडमा मंगलबार साँझ आगजनी भएको छ। व्यास-१३ स्थित कोइदिम नजिक फुटेको ढुंगा स्थित अस्थायी फोहोर व्यवस्थापन क्षेत्रमा अज्ञात समूहद्वारा आगजनी गरिएको नगरपालिकाको वन वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए ।
उक्त अस्थायी फोहोर विसर्जन केन्द्रमा मंगलबार दिउँसो ४ बजेदेखि आगलागी भएको उनले बताए । उनले भने, ‘फोहोरमा हिजै बेलुकादेखि आगो लागेको भएपनि हामीलाई बुधवार बिहान मात्र जानकारी भएको थियो । जानकारी हुनसाथ नगरपालिकाले आगो नियन्त्रणका लागि बारुणयन्त्र र जेसिबी परिचालन गरेको थियो ।’
आगो कसले लगायो भन्ने बारेमा भने अनुसन्धान भइरहेको उनले बताए । उनले भने, ‘कसैले नियतवस् आगो लगाइदिएको हुन सक्ने अनुमान गरिएको भएता पनि ठोस प्रमाण नभेटिएकाले छानविन भइरहेको छ ।’
‘घटनाको प्रकृति हेर्दा कसैले जानीजानी आगो लगाइ दिएको जस्तो देखिन्छ, त्यसको खोजी कार्य भइरहेको छ’, उनले भने, ‘भीषण रुपमा अगलागी भएकाले नियन्त्रणमा कठिन भएको छ । जेसिवीले माटो हाल्ने र बारुण यन्त्रले पानी हाल्ने गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ ।’ प्रज्वलनलशील फोहोरको मात्रा बढी भएकाले पनि आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ ।
यसरी फोहोरमैलामा आगो लगाउँदा जंगल क्षेत्रमा आगो फैलिन गइ प्रकोपको स्थिति सिर्जना हुने जोखिम पनि बढेको छ । प्लाष्टिकजन्य फोहोर बल्दा यसले वरपरको बस्तिमा दुर्गन्ध फैलिएको छ भने आगो फैलिन सक्ने खतरा समेत बढेको बताइएको छ ।
उक्त क्षेत्रको फोहोरमैला केन्द्रको ठेक्का लिएका लालबहादुर श्रेष्ठले विसर्जन केन्द्र सुरक्षित नहुँदा पटक पटक यस्ता घटना हुँदै आएको बताए । आगो कसले लगाउँछ भन्ने बारे भने आफु अज्ञात रहेको बताउँदै उनले भने, ‘यसअघि पनि यस्तो भएको थियो, कसैले व्यक्तिगत रिसिवि साध्न यस्तो गरेको हुनसक्छ ।’
व्यास नगरपालिकाले स्थायी फोहोरमैला सरसफाइ केन्द्रको अभावमा लामो समयदेखि समस्या भोग्दै आएको छ । सुरक्षित र व्यवस्थित विसर्जन केन्द्र नहुँदा असुरक्षित रुपमा खुल्ला ठाउँमा फोहोर फालिदै आइएको छ । साथै फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त जग्गा व्यवस्थापन गर्न नसक्दा पटक पटक अस्थायी फोहोरमैला व्यवस्थापन केन्द्र सार्नु पर्ने बाध्यताबाट नगरपालिका गुज्रदै आएको छ ।
करिब ३० वर्षसम्म पनि नगरपालिकाले स्थायी फोहरमैला केन्द्र बनाउन सकेको छैन । स्थायी र दीर्घकालीन फोहोरमैला व्यवस्थापन केन्द्रको अभावमा बिगत एक वर्षदेखि बुद्धसिं मार्गको छेउ तथा सेती नदीको खोचमा फोहोर फाल्दै आएको छ। सो क्षेत्रमा अव्यवस्थित रुपमा सडकलाई नै प्रभाव पार्ने गरी जथाभावी फोहोर फालिएको पाइन्छ । जसले गर्दा वरपरको वातावरण दुर्गन्धित बन्दै गएको छ ।

व्यास-३ मादी नदी किनारस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहोरले भरिएपछि फोहोर फाल्ने ठाउँ नपाएर नगरपालिकाले उक्त क्षेत्रलाई वैकिल्पक रुपमा फोहोर विर्सजन केन्द्रको रुपमा प्रयोग गर्दै आएको छ । तर उक्त विसर्जन क्षेत्र सुरक्षित र व्यवस्थित छैन । सो क्षेत्रमा सडक फोहोर भएको छ भने अर्को तिर नदीलाई प्रभावित पर्दै गएको छ ।
सडक किनारमा दैनिक ५ वटा गाडीले फोहोर ओसारपसार गर्छन् । बजार क्षेत्रबाट दैनिक १२ टन फोहर संकलन हुन्छ । नगरपालिकाको वडा नं. २, ३ र ४ बाट दैनिक रूपमा फोहर संकलन गर्दै आएको छ । जसमा कुहिने फोहोरलाई व्यास-१० बैरेनीमा मल उत्पादनका लागि प्रयोग गरिन्छ भने बाँकी फोहोर उक्त क्षेत्रमा फाल्दै आइएको छ ।
एक बर्ष अघि डेण्टर प्रक्रिया मार्फ ३ लाख ९० हजारमा फोहर विच्छेदनको ठेक्का रामलाल श्रेष्ठलाई दिईएको थियो । ठेक्का अनुसार उनले पुनः प्रयोग हुने खालका फोहोर छुटाउने गर्छन । फोहोर छुटाउने क्रममा काम नलाग्ने फोहोर जथाभावी छोड्दा झनै भद्रगोल देखिने गरेको छ । फोहोर केलाउने ठाउँ नहुँदा सडकमै काम गर्न परेकाले सडक फोहोर भएको श्रेष्ठ बताउँछन् ।
नगरपालिकाले व्यास-१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरेकोमा त्यस क्षेत्रका स्थानीयले विरोध गरेपछि जग्गा खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन । अहिले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नगरपालिकाले व्यास-१३ मा ४० रोपनी जग्गा खरिद प्रक्रिया अगाडि बढाएको छ ।










