तनहुँका पोखरेल र विश्वकर्माद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तनहुँबाट रामचन्द्र पोखरेल र डोवाटे विश्वकर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने १४औं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
यसपालि पार्टी केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने पोखरेलले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनले भने, ‘यसपटक जित र हारको प्रवाह नगरी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको छु ।’
‘नयाँ पुस्तालाई ठाउँ दिन पनि केन्द्रीय सदस्यमा जान लागेको हो ।’ नेता पोखरेलले भने ‘तलको ठाउँ युवालाई खाली गर्दै म केन्द्रमा जान लागेको हुँ ।’ महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पोखरेलले भने, ‘केन्द्रीय कार्यसमिति सदस्यमा मेरो उम्मेदवारी रहने संकल्पको घोषणा गर्दछु ।’
त्यस्तै, कांग्रेसको नयाँ कार्य समिति चयनका लागि हुने महाधिवेशनमा गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउँदै आएका मन्त्री विश्वकर्माले पार्टीको १४औं महाधिवेशनमा दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गरिब तथा निमुखाको उत्थानका लागि कांग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउन मन्त्री विश्वकर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन् । धनको लोभलालचमा नभई स्वच्छ राजनीतिलाई बचाइराख्न र विपिको धारणालाई कार्यान्वयनमा ल्याउनका लागि उम्मेदवारी दिने उनले बताए ।










