तनहुँ-१ मा उपनिर्वाचन : मतदाताको उत्साहजनक सहभागिता (फोटोफिचर सहित)

नारायण खड्का/तनहुँ

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । १५२ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ ।

गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो ।

तनहुँ-१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराइ, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् ।

मतदानमा सहभागि भएका मतदाताहरुले आफुले चुनेको जनप्रतिनिधिले आम नागरिकको आधारभूत आवश्यकताको परिपूर्ति तथा मुलुकको हित, विकास निर्माण, आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान र समृद्धिका लागि काम गरिदिए हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका छन् ।

यस्तै, मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका सदरमुकाम दमौली स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइनेछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन् । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ-१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ ।

२ नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ मतदान स्थलमा १५२ मतदान केन्द्र कायम गरिएको छ । उपनिर्वाचन सम्पन्न गर्नका लागि ७६० जना कर्मचारी खट्टएिका छन् ।

गत मंसिर ४ गतेको निर्वाचनमा तनहुँ १ मा १ लाख २३ हजार ४९० मतदाता रहेकोमा उपनिर्वाचनका लागि १ लाख २३ हजार ३०५ कायम भएका छन् । मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइूसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मंसिर ४ गतेको निर्वाचनमा ६६ हजार ९६५ मत खसेको थियो

उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । १३ वटा वडा रहेको भानु नगरपालिकाको २१ मतदानस्थलको ५० मतदान केन्द्रबाट ४० हजार ८४४ मतदाता सहभागि हुँदैछन् । देवघाट गाउँपालिकामा कम मतदाता रहेका छन् । ५ वडा रहेको यस गाउँपालिकामा १२ हजार ७१२ मतदाताका लागि ८ मतदानस्थलमा १५ मतदान केन्द्र कायम गरिएको छ ।

यस्तै आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडाका ९ मतदानस्थलमा १७ मतदान केन्द्रबाट १३ हजार ६२२ मतदाता सहभागि हुँदैछन् । बन्दिपुर गाउँपालिकाका ६ वटा वडाका १५ हजार ६७८ मतदाताका लागि ११ मतदानस्थलमा २२ मतदान केन्द्र कायम गरिएको छ । व्यास नगरपालिकाका वडा नं. ५ र ६ बाहेकका १२ वटा वडामा ४० हजार ४४९ मतदाता रहेका छन् । यी मतदातालाई २० मतदानस्थलमा ४८ मतदान केन्द्र कायम गरिएको छ ।

उपनिर्वाचनका लागि विभिन्न ९ राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तनहुँ १ को उपनिर्वाचनमा अहिले मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बीच भइरहेको छ ।

मंसिर ४ गतेको आमनिर्वाचनमा ४ स्वतन्त्र उम्मेदवार र ११ वटा दल गरी १५ जना यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका थिए । नेपाली कांग्रेस र नेकपा -एमाले) बिच मुख्य प्रतिस्पर्धा भएको थियो । उनीहरुलाई स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीका बिकास सिग्देलले पछ्छाइरहेका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८४, मंगोल नेशनल अर्गनाइजेशनले ३६०, राष्ट्रिय जनमुक्ति पार्टीले ३०१, हाम्रो नेपाल पार्टीले २८४, जनता समाजवादी पार्टीले २६० मत प्राप्त गरेका थिए ।

यस्तै, समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३, रास्वपाले १२ हजार ७७३, माओवादी केन्द्रले ७ हजार ३२६, राप्रपाले ३ हजार ५७७, नेकपा -एकीकृत समाजवादी)ले ९५०, मंगोल नेशनल अर्गनाइजेशनले ४५७, राजपाले ३६१, जसपाले ३२३ मत प्राप्त गरेका थिए ।

तीन निर्वाचन क्षेत्र कायम हुँदा २०४८ मा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल ०५१ मा भने तनहुँ-२ बाट विजयी भए । त्यसपछि लगातार तीन पटक (०५६, ०६४ र ०७०) उनले तनहुँ-२ बाटै जिते । मुलुक संघीय संरचनामा गएसंगै तनहुँमा दुइवटा मात्रै निर्वाचन क्षेत्र कायम भएको छ । पाँच पटक जित हासिल गरेका पौडेल २०७४ मा तनहुँ-१ बाट उम्मेदवारी दिएका थिए । पौडेल तत्कालिन एमालेका कृष्णकुमार श्रेष्ठ -किसान)संग ६ हजार मतान्तरले पराजित भएका थिए । हाल एकीकृत समाजवादीमा रहेका श्रेष्ठ सत्ता गठबन्धनबाट बारा-४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा देवघाट, आँवुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाका, व्यास नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४ वडा रहेका छन् । यस क्षेत्रको व्यास र भानुको प्रमुख उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । आँबुखैरेनीको अध्यक्ष उपध्यक्षमा माओवादी केन्द्रले बिजयी हासिल गरेको छ । देवघाटमा अध्यक्षमा नेपाली कांग्रेस र उपध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित छन् । बन्दिपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भए । यस क्षेत्रमा ४२ वटा वडा छन् । जसमध्ये २६ वटा वडामा नेपाली कांग्रेस, ९ वटा वडामा एमाले, ५ वटा वडामा माओवादी केन्द्र र २ वटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा तारबारले सुरक्षित गरेको छ भने मतगणना स्थलको निगरानीका लागि सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले बताए । उनका अनुसार दुइवटा कोठामा मतगणना गरिनेछ गणना सुरु भएको दुइ दिन भित्र मतगणना सक्ने गरी जनशक्ति तयारी गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker