तनहुँको भानुमा थापिएको काठको खोरमा चितुवा पर्यो

तनहुँको भानु नगरपालिका-२ स्थित सामुदायिक वनमा थापिएको खोरमा चितुवा परेको छ । खोरमा परेको चितुवालाई आज बिहान सुरक्षित रुपमा नियन्त्रणमा लिइएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा चितुवा परेको हो ।
सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा दोस्रो पटक चितुवा परेर नियन्त्रणमा लिएको उनले बताए ।
गत वर्षसोही खोरमा एउटा चितुवा परेको थियो । खोरमा परेर नियन्त्रणमा आएको उक्त चितुवा एघारौँ हो । केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका-२ पौवागाउँमा थापिएको फलामको खोरमा परेर दशौँ चितुवा नियन्त्रणमा आएको थियो ।
जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतंक छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ ।
चितुवा आतंक बढेपछि डिभिजन वन कार्यालय तनहुँले भानुका २२ वटा सामुदायिक वनमा ६५ वटा ट्यापिङ क्यामरा जडान गरी गरेको अध्ययनमा वनमा चितुवाको संख्या बढि रहेको र चितुवाको आहारा प्रजातिको संख्या भने न्यून देखिएको छ ।










