सम्पादकीय – योग : स्वास्थ्य, चेतना र जीवन व्यवस्थापनको पुनर्जागरण

एघारौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । उत्तरायण सुरु हुने मकर संक्रान्तिको दिनलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने सरकारी निर्णय केवल एक सांकेतिक पर्व घोषणा मात्र होइन, नेपाली समाजलाई आफ्नै मौलिक ज्ञान परम्परातर्फ फर्काउने एउटा महत्वपूर्ण प्रयासका रुपमा पनि लिन सकिन्छ । वैदिक कालदेखि हिमालयको काखमा विकसित योग आज विश्वव्यापी रूपमा स्वीकार गरिँदा नेपालले आफ्नै भूमिमा जन्मिएको यो ज्ञानलाई पुनः आत्मसात् गर्न थालेको सन्देश पनि यो दिवसले दिएको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्दै यसको संयोजनको जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा भएको यो निर्णयले योगलाई केवल धार्मिक वा साधु–सन्तको अभ्यासका रूपमा होइन, राष्ट्रिय स्वास्थ्य र जीवनशैलीसँग जोड्ने आधार तयार ग¥यो । तर, दिवस घोषणा मात्रै पर्याप्त होइन, यसको सार्थकता व्यवहारिक कार्यान्वयनमा निर्भर हुन्छ ।
नेपालमा योगको अभ्यास नयाँ होइन । विसं २०३६ देखि उत्तरायणको दिन पारेर योग दिवस मनाउन सुरु गरिएको इतिहास छ । डा हरिप्रसाद पोखरेलजस्ता अभियन्ताको सक्रियतामा योगसँग सम्बन्धित संस्थाहरूले लामो समयदेखि यस क्षेत्रमा योगदान दिँदै आएका छन् । तर विडम्बना के छ भने, वैदिक कालमा ऋषिमुनिहरूले प्रतिपादन गरेको योग आफ्नै जन्मभूमिमा क्रमशः लोपोन्मुख बन्दै गयो। आधुनिक जीवनशैली, उपभोक्तावाद र पश्चिमी चिकित्सा पद्धतिप्रतिको अन्धविश्वासका कारण योगलाई पुरातन र अप्रासंगिक ठान्ने प्रवृत्ति बढ्यो । यद्यपि समय फेरिएको छ । तनाव, अवसाद, दीर्घरोग र असन्तुलित जीवनशैलीले ग्रस्त आधुनिक मानवले पुनः योग र ध्यानको महत्व बुझ्न थालेको छ। रोचक त के छ भने, नेपाली समाजले बिर्सदै गएको योग युरोप र अमेरिकामा उपचार, मानसिक शान्ति र जीवन सन्तुलनको प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएपछि नेपालमै पनि यसको महत्वबोध बढ्न थालेको हो । विदेशी भूमिमा लोकप्रिय बनेपछि आफ्नै संस्कृतिप्रति आकर्षित हुनु नेपाली समाजको पुरानै मनोविज्ञान हो।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेद मानव जीवनका अभिन्न अङ्ग थिए। आयुर्वेदिक ग्रन्थ चरकसंहितामा वर्णित सत्वावजय चिकित्सा पद्धति यसको उदाहरण हो, जसले मनलाई नियन्त्रण गरी रोगमाथि विजय प्राप्त गर्ने दर्शन प्रस्तुत गर्छ। अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ भनिएको छ भने गीतामा ‘योग कर्मसु कौशलम्’ भनेर कर्म र योगबीचको सम्बन्ध स्पष्ट पारिएको छ । योग केवल शारीरिक व्यायाम होइन, चेतना, अनुशासन र जीवन व्यवस्थापनको समग्र विज्ञान हो । नेपालमा योग र आयुर्वेदलाई संस्थागत रूपमा अघि बढाउने प्रयास पनि भएका छन्। विसं २०४८ देखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु भयो भने विसं २०५८ देखि दाङको विजौरीस्थित क्षेत्रीय आयुर्वेद चिकित्सालयमा पनि योगमार्फत स्वास्थ्यलाभ गराउन थालिएको छ । नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन–अध्यापन हुँदै आएको छ। प्रवेशिका उत्तीर्णदेखि स्नातकोत्तर तहसम्मका कार्यक्रम स्वीकृत हुनु सकारात्मक पक्ष हो ।
तर यति हुँदाहुँदै पनि योग शिक्षा अपेक्षित रूपमा विस्तार हुन सकेको छैन। विसं २०५१ देखि कक्षा ९ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद समावेश गरिए पनि दक्ष जनशक्तिको अभावका कारण प्रभावकारी कार्यान्वयन हुन सकेन । पाठ्यक्रम कागजमा सीमित हुँदा योग राष्ट्रिय जीवनशैली बन्न सकेको छैन । दिवस मनाउने र कार्यक्रम गर्ने क्रम बढे पनि विद्यालय, समुदाय र कार्यस्थलमा नियमित योग अभ्यासको संस्कार अझै कमजोर छ । आजको सन्दर्भमा योग स्वास्थ्यसँग मात्र होइन, कार्यक्षमता, मानसिक स्थिरता र सामाजिक सद्भावसँग पनि जोडिएको छ। जुन मान्छे जहाँ छ, त्यहीँबाट व्यवस्थित रूपमा अघि बढ्ने माध्यम योग हो । पश्चिमी देशले यसलाई ‘लाइफ म्यानेजमेन्ट साइन्स’ भन्न थालेका छन्। योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान समेटिएको तथ्यले यसको वैज्ञानिक आयामलाई थप पुष्टि गर्छ।
यसैले एघारौँ राष्ट्रिय योग दिवसका अवसरमा केवल औपचारिक कार्यक्रम र भाषणमा सीमित नगरी योगलाई शिक्षा, स्वास्थ्य र दैनिक जीवनसँग जोड्ने ठोस नीति आवश्यक छ । विद्यालयदेखि सरकारी कार्यालय, अस्पतालदेखि समुदायसम्म योग अभ्यासलाई प्रोत्साहन गर्ने संरचनागत व्यवस्था आजको आवश्यकता हो। आफ्नै सभ्यताबाट जन्मिएको यो ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र राष्ट्रिय योग दिवसको औचित्य सार्थक हुनेछ । योग केवल आसन होइन, यो जीवन जिउने कला हो । आजको दिनले यही सन्देश नेपाली समाजमा गहिरोसँग रोप्न सकोस ।










