म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकामा कृषक लक्षित ‘कृषि तथा जलवायु सूचना केन्द्र’ स्थापना गरिने भएको छ । बदलिँदो मौसम र जलवायु जोखिमबाट प्रभावित स्थानीय समुदायलाई समयमै सूचना उपलब्ध गराउँदै अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त केन्द्र स्थापना गर्न लागिएको हो ।
यस सम्बन्धमा गाउँपालिका र श्रमिक बालबालिकाहरूको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन–नेपाल) बीच मंगलबार सहमति भएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
स्थापना हुने केन्द्रमार्फत कृषक तथा सर्वसाधारणलाई मौसम पूर्वानुमान, वर्षा, खडेरी, हुरीबतास, असिना लगायतका सम्भावित मौसमी घटनाबारे समयमै जानकारी प्रदान गरिनेछ। साथै कृषि उत्पादनसँग सम्बन्धित सल्लाह, चेतनामूलक सामग्री तथा जलवायु जोखिम न्यूनीकरणका उपायहरू नियमित रूपमा प्रसारण गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।
केन्द्रले जलवायु अनुकूल कृषि अभ्यासलाई विशेष प्राथमिकता दिने जनाइएको छ। यसअन्तर्गत थोपा सिँचाइ, टनेल तथा ग्रीनहाउस खेती, मल्चिङ जस्ता प्रविधिबारे जानकारी र सीप हस्तान्तरण गरिनेछ। यस्ता प्रविधिको प्रयोगले उत्पादन वृद्धि, खाद्य सुरक्षामा सुधार र कृषकको जीवनस्तर उकास्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सहमति अनुसार केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा सूचना संकलन–प्रसारणको जिम्मेवारी गाउँपालिकाले लिनेछ। चिल्ड्रेन–नेपालले ‘जलवायु उत्थानशील समुदाय परियोजना’ अन्तर्गत दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउनेछ भने प्राविधिक सहयोग, सामग्री निर्माण तथा जनचेतना अभिवृद्धिमा समेत सहकार्य गर्नेछ ।
यस केन्द्रमार्फत जल तथा मौसम विज्ञान विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभाग लगायतका निकायबाट प्राप्त सूचनालाई स्थानीय सन्दर्भअनुसार रूपान्तरण गरी कृषकसम्म पु¥याइनेछ । सूचना डिजिटल बोर्ड, मोबाइल सन्देश, फेसबुक तथा ह्वाट्सएप समूहमार्फत समेत प्रसारण गरिने व्यवस्था मिलाइने जनाइएको छ। गाउँपालिकाका अनुसार उक्त केन्द्र एक महिनाभित्र सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker