व्यास नगरपालिकामा स्वास्थ्य सेवा : उपलब्धि सँगसँगै चुनौतीका चाप

स्वास्थ्य क्षेत्रलाई सहज र पहुँचयोग्य बनाउन सबैको साझा सहकार्यको खाँचो : नगरप्रमुख न्यौपाने

बैकुण्ठ न्यौपाने
नगरप्रमुख : व्यास नगरपालिका
तनहुँको व्यास नगरपालिकाले स्वास्थ्य सेवा विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि स्रोत, जनशक्ति र समन्वय अभाव प्रमुख चुनौतीका रूपमा देखिएका छन् । नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार नगरपालिकाभित्र १४ वडामा २९ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका र तीमध्ये ३ वटा आयुर्वेदसँग सम्बन्धित तथा २६ वटा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् ।
‘स्वास्थ्य संस्थामार्फत प्राथमिक स्वास्थ्य सेवा प्रवाह हुँदै आएको भए पनि गाउँघरमा ज्येष्ठ नागरिक र दीर्घरोगीको संख्या बढ्दै जाँदा सेवा विस्तारको माग उच्च रहेको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘मागअनुसार सेवा दिन कठिनाइ भएपछि नगरपालिकाले समय समयमा घुम्ती शिविर र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगको सहकार्यमा मुटु रोगसम्बन्धी शिविर तथा भरतपुर क्यान्सर अस्पतालसँगको समन्वयमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन गरिएको थियो।’
नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा आर्थिक रूपमा विपन्न वर्गलाई लक्षित गरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ भने जटिल प्रकृतिका बिरामीका लागि १५ हजार रुपैयाँसम्म आर्थिक सहयोग तथा अत्यन्त गम्भीर अवस्थामा ३५/४० हजार रुपैयाँसम्म सहयोग प्रदान गरिँदै आएको नगरप्रमुख न्यौपानेले जानकारी दिए।
त्यस्तै, नगरपालिकामा सुत्केरी महिलालाई पोषण खर्चस्वरूप प्रति व्यक्ति पाँच हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा रहेको छ । मानसिक स्वास्थ्य तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सेवा तथा सहयोग कार्यक्रमसमेत सञ्चालन गरिएको उनले बताए ।
नगरपालिकाले आफ्नै स्वामित्वमा १५ शय्याको व्यास नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोभिड–१९ महामारीका बेला परीक्षण, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा सक्रिय भूमिका खेलेको नगरपालिकाले कुनै रोग महामारीकै रुपमा संक्रमण फैलन गएमा आवश्यक व्यवस्थापनको तयारीमा रहेको जनाएको छ। ‘स्थानीय तहको क्षमताले मात्रै विशेषज्ञ अस्पताल सञ्चालन गर्न कठिन हुने रहेछ’, नगरप्रमुख न्यौपाने भने, ‘अहिले राजमार्गको सडक विस्तारका कारण पोखरा र नारायणघाट जान आउन सहज बन्दै गएकाले जटिल उपचारका लागि बिरामीहरू त्यहाँ पठाउने गरिएको छ ।’
स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको नगरप्रमुख न्यौपानेले जोड दिए। उनले सडक विस्तारसँगै दुर्घटना बढ्दै गएको सन्दर्भमा उपचार प्रणालीलाई सुदृढ बनाउन साझा पहल आवश्यक रहेको र त्यसका लागि व्यास नगरपालिका तथा राजमार्ग आसपासको क्षेत्रमा सुविधासम्पन्न अस्पताल अति आवश्यक रहेको बताए। ‘सडक विस्तारसँगै दुर्घटना पनि बढिरहेका छन्, पृथ्वीराजमार्ग क्षेत्रमा दैनिक दुर्घटना हुँदा मानिसहरु गम्भिर घाइते हुने गरेका छन्, समयमै उपचार पाउन नसक्दा ज्यान समेत जाने गरेको छ’, उनले भने, ‘यस्ता अवस्थामा उपचार प्रणालीलाई व्यवस्थित गर्न सबै तहको साझा प्रयास आवश्यक छ ।’ स्वास्थ्य सेवा महँगो बन्दै जाँदा विपन्न वर्गमा थप समस्या देखिएको भन्दै उनले दीर्घकालीन योजना, पर्याप्त बजेट र स्रोत व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गरे ।
नगरपालिकाले आफ्नै स्वामित्वको व्यास नगर अस्पताल आकस्मिक अवस्थामा महत्वपूर्ण आधार बनेको छ । कोभिड–१९ महामारीका बेला व्यास नगरपालिकाले परीक्षण र उपचार व्यवस्थापनमा अग्रसरता देखाएको थियो। ‘त्यतिबेला परीक्षणको सुविधा नहुँदा हामीले प्रदेश र संघ सरकारसँग समन्वय गरेर पीसीआर परीक्षण सेवा सुरु ग¥यौं], नगरप्रमुख न्यौपानेले भने, ‘क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापनका लागि आदिकवि भानुभक्त क्याम्पस, विभिन्न विद्यालय तथा कृषि विकास कार्यालय प्रयोग गरिएको थियो । त्यो अनुभवले आगामि दिनमा आइपर्ने जटिलतालाई सहजिकरण गर्न सक्ने अवस्थामा हामी छौ।’
नगरपालिकाले ५० शय्याको अस्पताल स्थापनाको प्रक्रिया अघि बढाएको भए पनि विशेषज्ञ सेवा दिने ठूलो अस्पताल सञ्चालन क्षमताभन्दा बाहिर रहेको नगरप्रमुख न्यौपानेको भनाइ छ । ‘स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि जिल्लास्तरमै साझा दृष्टिकोण आवश्यक छ’, उनले भने, ‘कोभिडका बेला शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सबै पालिकाको सहकार्यमा करिब ७० लाख रुपैयाँ लगानी गरी संरचना निर्माण गर्नु सहकार्यको नमुना उदाहरण हो । त्यसैले स्वास्थ्य क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहकार्य र हातेमालोको खाँचो छ।’
नगरप्रमुख न्यौपानेले स्वास्थ्य सेवा सुधारका लागि नगरपालिकाले आफ्नो क्षमताभित्रका सबै प्रयास गरिरहेको उल्लेख गरे । तर समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, पर्याप्त बजेट, जनशक्ति व्यवस्थापन र साझा दृष्टिकोण आवश्यक रहेको उनले स्पष्ट पारे ।
प्रमोद सोती : स्वास्थ्य शाखा प्रमुख
व्यास नगरपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा विस्तार र सुधारका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती बताउँछन् । उनका अनुसार आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनेदेखि डिजिटल प्रणालीमार्फत सेवा व्यवस्थापनसम्मका पहलहरू सकारात्मक देखिए पनि बढ्दो नसर्ने रोग, जनशक्ति अभाव र भौगोलिक असन्तुलनजस्ता चुनौती अझै कायमै छन्।
स्वास्थ्य शाखा प्रमुख सोतीका अनुसार ७८ हजार ९३९ जनसंख्या रहेको नगरपालिकामा हाल सरकारी अस्पताल २, निजी अस्पताल ५, स्वास्थ्य चौकी १०, शहरी स्वास्थ्य केन्द्र १०, आधारभूत स्वास्थ्य केन्द्र ५, जिल्ला आयुर्वेद औषधालय १, आयुर्वेद औषधालय ३ र २१ निजी क्लिनिक सञ्चालनमा छन्। यसले नगरभित्र स्वास्थ्य सेवाको आधारभूत संरचना विस्तार भएको देखाउँछ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ७ करोड ६५ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ, जुन कुल बजेटको ४.२१ प्रतिशत हो । सोतीका अनुसार यो बजेटबाट नसर्ने रोगको स्क्रिनिङ, मानसिक स्वास्थ्य सेवा विस्तार, क्षयरोगमुक्त अभियान, बर्थिङ सेन्टर विस्तार, ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन भइरहेका छन् ।
नगरपालिकाले सरुवा रोग, खोपबाट बच्न सकिने रोग, किटजन्य तथा जलवायु संवेदनशील रोगको निगरानीलाई पनि प्राथमिकतामा राखेको छ । साथै आयुर्वेद सेवा र योग शिविरमार्फत वैकल्पिक स्वास्थ्य अभ्यासलाई समेत प्रवर्द्धन गरिएको स्वास्थ्य शाखा प्रमुख सोती बताउँछन् ।
नगरभित्र रहेको प्रदेश अस्पताल दमौली सहित निजी अस्पतालहरूबाट २४सै घण्टा स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ । नगरपालिका मातहतको चार स्वास्थ्य संस्थाबाट निःशुल्क प्रसूति सेवा प्रदान गरिँदै आएको छ । प्रमुख सोतीले भने, ‘प्रयोगशाला, एक्स–रे तथा भिडियो एक्स–रे सेवा समेत उपलब्ध छन् । विशेषतः गर्भवती महिलाका लागि ग्रामीण क्षेत्रमा नै भिडियो एक्स–रे सेवा पु¥याइएको छ, जसले सेवा पहुँचमा सुधार ल्याएको छ ।’
नगरपालिकामा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन्, जसबाट लक्षित वर्गलाई निःशुल्क सेवा दिइँदै आएको छ। जटिल अवस्थाका बिरामीलाई प्रदेश अस्पताल दमौलीमा प्रेषण गर्ने व्यवस्था मिलाइएको उनले बताए । स्वास्थ्य क्षेत्रमा स्वीकृत १२३ दरबन्दीमध्ये १०५ जना मात्र कार्यरत छन् भने १८ पद रिक्त छन् । हाल स्थायी ४६ र करारमा ५९ जना स्वास्थ्यकर्मी कार्यरत छन् । सोतीका अनुसार जनशक्ति अभावका कारण सेवा विस्तारमा दबाब परेको छ । दुर्गम क्षेत्रमा कर्मचारी टिकाइ राख्न आवास सुविधा र तालिममा प्राथमिकता दिइए पनि पर्याप्त जनशक्ति व्यवस्थापन चुनौतीकै रूपमा रहेको छ ।
नगरपालिकामा संस्थागत सुत्केरी दर ३१.१९ प्रतिशत रहेको छ । ४९ खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रवाह भइरहेको छ। व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ, जसले खोपजन्य रोगबाट हुने बालमृत्युदर शून्यमा झार्न मद्दत गरेको छ । कुपोषण न्यूनीकरणका लागि गर्भवती महिलालाई पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको छ भने पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाको पोषण अवस्था नियमित रूपमा अनुगमन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै, नगरपालिकामा उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वाससम्बन्धी रोग, अम्लपित्त, आँखा र दाँतसम्बन्धी समस्या प्रमुख देखिएका छन् । यसलाई नियन्त्रण गर्न ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी नसर्ने रोग स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ। टोलटोलमा स्वास्थ्यकर्मी पुगेर परीक्षण, उपचार र परामर्श सेवा दिइरहेका छन् । मानसिक स्वास्थ्य सेवा पनि विस्तार गरिएको छ। २६ वटै स्वास्थ्य संस्थाबाट मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
पछिल्ला वर्षमा नगरपालिकाले सबै नागरिकमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख सोतीले दाबी गरे । ‘खोपजन्य रोगबाट हुने बालमृत्युदर शून्यमा झारिएको, स्वास्थ्य सूचना प्रणालीलाई डिजिटलाइज गरिएको, सरुवा रोगको दरमा कमी आएको तथा क्षयरोग नियन्त्रणमा प्रगति हासिल भएको प्रमुख उपलब्धिका रूपमा रहेका छन्’, उनले भने, ‘नगरपालिकाले आफ्नै स्वामित्वमा नगर अस्पताल सञ्चालन गरी उपचारात्मक सेवा विस्तार गरेको छ ।’
भौगोलिक रूपमा स्वास्थ्य संस्था र जनसंख्याको अनुपात मिल्न नसक्नु, औषधिको अभाव, नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या बढ्नु प्रमुख चुनौती रहेको प्रमुख सोती बताउँछन् । बढ्दो शहरीकरणसँगै सडक दुर्घटना वृद्धि, डेंगु, कोभिडजस्ता महामारीको जोखिम तथा आधुनिक जीवनशैलीका कारण स्वास्थ्य समस्या थप जटिल बन्दै गएका उनको भनाई छ। दुर्गम क्षेत्रका नागरिकले यातायात अभाव र आर्थिक कमजोरीका कारण समयमै उपचार नपाउने समस्या अझै कायम रहेको उनले बताए ।
नगरपालिकाले संघ र प्रदेश सरकारसँग गुणस्तरीय सेवा विस्तार, पर्याप्त जनशक्ति, औषधि आपूर्ति, डिजिटल प्रणाली सुदृढीकरण, आपतकालीन तयारी तथा बजेट व्यवस्थापनमा सहयोग अपेक्षा गरेको छ । स्वास्थ्य शाखा प्रमुख सोतीका अनुसार आगामी दिनमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन, सेवा गुणस्तर अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवा सहज पहुँचमा पुर्याउने तथा राष्ट्रिय लक्ष्यअनुसार कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको छ ।
उनले भने, ‘नागरिकको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नगरपालिकाले काम गरिरहेको छ, तर त्यसका लागि पर्याप्त स्रोत, जनशक्ति र समन्वय अत्यावश्यक छ ।’
(भञ्ज्याङ प्रकाशनको ४५औं वर्ष प्रवेशका अवसरमा २०८३ वैशाख ०१ गते प्रकाशित विशेषाङ्कमा प्रकाशित)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker