दौडमै भविष्य देखेका आँबुखैरेनी बरादीका २६ वर्षीय सनम

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किनुभएका उहाँले आफ्नो भविष्य दौडमा देख्नुभएको छ ।

विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आउनुभएका सनमले आफ्नो अथक मिहिनेत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता हासिल गर्नुभएको छ । उहाँले हालसम्म एक सयभन्दा बढी दौड प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । तनहुँसहित लमजुङ, गोरखा, स्याङ्जा, चितवन, बागलुङ र धादिङलगायत विभिन्न जिल्लामा आफ्नो क्षमता प्रस्तुत गरिसक्नुभएका उहाँले ७० भन्दा बढी पदक जित्न सफल हुनुभएको छ । यो उहाँका लागिमात्र नभई आँबुखैरेनी र तनहुँ जिल्लाका लागि पनि गर्वको विषय बनेको छ ।

विशेषगरी तनहुँका विभिन्न स्थानमा आयोजित प्रतियोगितामा उहाँले बारम्बार प्रथम स्थान हासिल गर्दै आफ्नो पहिचान स्थापित गर्नुभएको छ । गुरुङले सोमबारमात्रै गोरखामा आयोजित दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँका अनुसार दौड प्रतियोगिताबारे जानकारी पाउन अहिले सामाजिक सञ्जाल मुख्य माध्यम बनेको छ । “कतिपय प्रतियोगिताको जानकारी फेसबुकजस्ता प्लेटफर्मबाट थाहा हुन्छ, कहिलेकाहीँ आयोजकले नै सम्पर्क गर्नुहुन्छ, साथीभाइले पनि खबर गर्छन्”, उहाँ भन्नुहुन्छ । साथै विभिन्न सञ्चारमाध्यममा आउने खेलसम्बन्धी समाचार पनि उहाँका लागि उपयोगी स्रोत बनेका छन् ।

सनमको सफलताको पछाडि उहाँको परिवार, विशेषगरी आमाको महत्त्वपूर्ण भूमिका रहेको छ । उहाँ आमासँगै बस्दै आउनुभएको र आमाले हरेक पाइलामा साथ दिँदै उहाँलाई प्रेरणा दिइरहेको बताउनुहुन्छ । “आमाको साथ र विश्वासले मलाई अझ बलियो बनाएको छ”, सनम भन्नुहुन्छ ।

आर्थिक दृष्टिले खेलकुद क्षेत्रमा चुनौतीहरू रहे पनि उहाँले पैसाभन्दा सन्तुष्टिलाई ठूलो ठान्नुभएको छ । “दौडमै मेरो भविष्य देखेको छु । मिहिनेत गरिरहेको छु । अहिलेसम्म विदेश जाने सोच बनाएको छैन”, उहाँ भन्नुहुन्छ । उहाँका लागि दौड केवल प्रतिस्पर्धामात्र होइन, जीवनको उद्देश्य र आत्मसन्तुष्टिको माध्यम बनेको छ ।

भविष्यमा अझ ठूला प्रतियोगितामा सहभागिता जनाउँदै देशको नाम उँचो बनाउने लक्ष्य राख्नुभएका सनम अहिले पनि नियमित अभ्यासमा व्यस्त हुनुहुन्छ । आवश्यक पूर्वाधार र अवसरको अभावका बाबजुद उहाँले हार नमानी आफ्नो यात्रालाई निरन्तरता दिइरहनुभएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker