तनहुँको व्यास र म्याग्देमा चैते धान खेती अनुगमन तथा कृषि सामग्री हस्तान्तरण

दमौली : कृषि विकास कार्यालय तनहुँले व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा व्यवसायिक रुपमा गरिएको चैते धान खेतीको स्थलगत अनुगमन गर्नुका साथै किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । तनहुँ क्षेत्र नं. २-क) का सांसद श्यामराजा महत, वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारी, सम्बन्धित वडाध्यक्ष, जिल्ला समन्वय समिति सदस्य डोलबहादुर सुनार सहितको अनुगमन टोलीले कृषकको खेतीको स्थलगत अवलोकन तथा समस्याका विषयमा जानकारी लिएका थिए ।
उक्त अवसरमा सांसद महतले कृषि प्रधान देशलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको आधुनिकीकरण आवश्यक रहेको बताए । उनले किसानलाई प्रोत्साहन गर्न बजेट विनियोजनमा आफू सक्रिय रहेको उल्लेख गरे ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत व्यास नगरपालिका–५ स्थित युगबोध कृषि सहकारी संस्थामार्फत रु. ९ लाख ५० हजार ४९० बराबरका कृषि सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष चिरञ्जीवि पण्डितले जानकारी दिए ।
उनका अनुसार ७५ प्रतिशत अनुदानमा ९०० केजी चैते धानको बीउ, तीन वटा कम्बाइन मिल, ४० वटा त्रिपाल र एक डिजिटल तराजु उपलब्ध गराइएको छ । साथै, ८५ प्रतिशत अनुदानमा २३१ मिटर लामो कुलो निर्माण सम्पन्न भएको सचिव केशव वाग्लेले बताए। जसमा रु. ६ लाख ६० हजार ४१२ खर्च भएको छ ।
यस्तै, म्याग्दे गाउँपालिका–३ स्थित आम्बोटे कृषक समूहले ७५ प्रतिशत अनुदानमा २०० केजी बीउ, एक कम्बाइन मिल, दुई मिनीटिलर र २५ त्रिपाल प्राप्त गरेको समूहका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए । ८५ प्रतिशत अनुदानमा १६७ मिटर कुलो निर्माण गरिएको छ भने कुल रु. ५ लाख ६२ हजार ३३९ बराबरको सहयोग प्राप्त भएको उनले बताए ।
स्यागेटारी साना किसान कृषक समूहले पनि ८५ प्रतिशत अनुदानमा २३१ मिटर कुलो निर्माणका साथै ७५ प्रतिशत अनुदानमा दुई मिनीटिलर, १० त्रिपाल र ५० केजी बीउ प्राप्त गरेको सचिव मिनराज घिमिरेले जानकारी दिए।
त्यसैगरी, म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहले ५० प्रतिशत अनुदानमा तरकारी बीउ, सिँचाइ ड्रम, मिनीटिलर, स्प्रेयर, हजारी, मल्चिङ प्लास्टिक र पोली ब्याग लगायत सामग्री गरी रु. ३ लाख ४० हजार ८०० बराबरको सहयोग पाएको समूहकी अध्यक्ष जीतमाया रानाले बताइन् ।
कार्यालयका अनुसार यस वर्ष १ हजार ९०० रोपनी लक्ष्य रहेकामा ३ हजार ८०० रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको छ, जुन लक्ष्यभन्दा दोब्बर हो । चैते धान खेतीको क्षेत्रफल वर्षेनी बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले अनुदान कार्यक्रमले किसानलाई कृषि पेशातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार यस्ता कार्यक्रमले किसानमा उत्साह बढाउनुका साथै उत्पादन वृद्धि गर्न मद्दत पुगेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker