युवा पुस्ता दूरदर्शी नहुनु राष्ट्रघातको संकेत

सुरेशकुमार पाण्डे

साम्राज्यवादबारे हामीले पटक–पटक चर्चा गर्दै आएका छौं। तर जति बुझाउने प्रयास गरिए पनि नेपाली समाजमा, विशेषगरी युवा पुस्ताले, यसलाई प्रायः गलत रूपमा बुझ्ने गरेका छन्। यस्तो नकारात्मक बुझाइ किन विकसित हुन्छ भने बहुदलीय व्यवस्थाभित्र मौलाएको भ्रष्टाचारको जालोले उनीहरूलाई सही विकल्प देख्न नै दिँदैन। परिणामतः सबै पक्षलाई एउटै नजरले हेर्ने प्रवृत्ति बढ्दै गएको छ ।

जनआन्दोलनका क्रममा पनि यस्तै प्रवृत्ति देखिएको थियो। तत्कालीन शासकहरूप्रति असन्तुष्टि बढ्दै जाँदा उनीहरूलाई एउटै घानमा हालेर आक्रोश पोखिएको थियो। कतिसम्म भने राष्ट्रिय एकीकरणका पिता पृथ्वीनारायण शाहसमेत त्यसैको सिकार बने। उनको ऐतिहासिक योगदानको उचित मूल्याङ्कन नगरी उनलाई पनि आलोचनाको घेरामा राखियो ।

आजको सन्दर्भमा पनि बहुदलीय व्यवस्थाभित्रका सबै राजनीतिक दलहरूलाई एउटै रूपमा हेर्ने प्रवृत्ति बढ्दै गएको छ। को सही छ र को गलत भन्ने छुट्याउन नसक्नु वा छुट्याउन नचाहनु आफैंमा गम्भीर समस्या हो। सत्तामा बसेर देश र जनतालाई लुट्नेहरूसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा निरन्तर सङ्घर्ष गर्नेहरूको त्याग र बलिदानलाई समेत एउटै तराजुमा तौलिनु न्यायोचित हुँदैन। यथार्थमा, यिनै देशभक्त र जनतन्त्रप्रेमी शक्तिहरूका कारण देश जोगिएको छ र गणतान्त्रिक संविधान सुरक्षित रहेको छ।

कतिपय युवाहरूमा चरम असन्तुष्टि देखिन्छ। सरकारी कार्यालयमा बारम्बार ठगिएका, दुःख पाएका र सेवा नपाएका युवाहरू कहिलेकाहीँ त्यसै संरचनाप्रति आक्रोशित बन्छन्। यस्तो अवस्थामा भित्रको विकृति सुधार गर्ने धैर्य र सामथ्र्य नहुँदा उनीहरू सम्पूर्ण संरचना नै ध्वस्त पार्ने मानसिकतामा पुग्छन्। यसरी आवेगमा आधारित निर्णयले सही–गलत छुट्याउने क्षमता कमजोर बनाउँछ।

आजका दिनमा न्यायालयले अपेक्षित न्याय दिन सकेन भने न्यायालयमाथि नै आक्रोश व्यक्त गर्ने, कुनै धार्मिक संस्थामा विभेद भयो भने सम्पूर्ण संस्थामाथि नै हमला गर्ने जस्ता प्रवृत्तिहरू देखिन थालेका छन्। यस्ता विकृतिका जरा भ्रष्टाचार र विभेदमै भए पनि प्रश्न उठ्छ—युवाहरूलाई यस्तो अतिवादी बाटोतर्फ कसले डोर्याउँदैछ ?

यस सन्दर्भमा सिक्किमको इतिहास सान्दर्भिक उदाहरणका रूपमा लिन सकिन्छ। कुनै समय स्वतन्त्र र सार्वभौम राष्ट्र रहेको सिक्किम आज भारतको एक प्रान्तमा सीमित छ। त्यहाँ पनि प्रजातन्त्रको मागसहित आन्दोलन भएको थियो। तर त्यही आन्दोलनलाई विदेशी शक्तिले आफ्नै स्वार्थअनुसार प्रयोग ग¥यो। æविदेशीहरूलाई हटाएपछि मात्र प्रजातन्त्र सम्भव हुन्छÆ भन्ने नारा उठाइयो, जुन वस्तुतः त्यहाँका नेपाली मूलका बासिन्दाविरुद्ध लक्षित थियो ।

त्यस समय नेपाली मूलका नागरिकहरू इमान्दार र सरल स्वभावका भएकाले आन्दोलनमा अवरोध बन्न चाहेनन्। तर यही सरलताले उनीहरूलाई रणनीतिक रूपमा कमजोर बनायो। भारतले एकातिर प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने र अर्कोतिर राजतन्त्रलाई कमजोर पार्दै आफ्नो प्रभाव विस्तार गर्ने दोहोरो नीति अपनायो। विभिन्न असमान सन्धिहरू मार्फत सिक्किमको सुरक्षा, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा नियन्त्रण कायम गर्दै अन्ततः त्यसको सार्वभौमसत्ता नै समाप्त पारियो ।

इतिहासको यो पाठले देखाउँछ कि बाह्य शक्तिहरूले आन्तरिक असन्तुष्टिलाई प्रयोग गरेर राष्ट्रलाई कमजोर पार्न सक्छन्। नेपालमा पनि यस्ता प्रयासहरू विगतदेखि नै हुँदै आएका छन्। बहुदलीय आन्दोलनताका लगाइएको आर्थिक नाकाबन्दी त्यसकै उदाहरण हो। नेपालले आफ्नो राष्ट्रिय हितअनुसार निर्णय गर्दा बाह्य दबाब सिर्जना गरिनु कुनै नयाँ कुरा होइन ।

आज पनि कतिपय युवाहरूमा æविदेशी शक्तिले चाहेमा नेपाल सजिलै समाप्त हुन्छÆ भन्ने धारणा पाइन्छ । यथार्थमा, शक्ति सन्तुलनको राजनीतिमा सिधै हस्तक्षेपभन्दा पनि प्रभाव विस्तार र परनिर्भरता सिर्जना गर्ने रणनीति बढी प्रभावकारी हुन्छ। नेपालका युवाशक्तिलाई विभिन्न माध्यमबाट प्रयोग गर्ने प्रयासहरू पनि यही सन्दर्भमा बुझ्न सकिन्छ ।

दुःखको कुरा, आजका धेरै युवाहरूमा गहिरो अध्ययन र विश्लेषण गर्ने प्रवृत्ति कमजोर बन्दै गएको छ। सामाजिक सञ्जाल वा हल्लाका आधारमा धारणा बनाउने प्रवृत्ति बढ्दै गएको छ, जुन अत्यन्त खतरनाक संकेत हो। विशेषगरी राष्ट्रिय महत्वका विषयहरूमा अध्ययन, बहस र तथ्यका आधारमा निष्कर्ष निकाल्ने संस्कार विकास गर्न अत्यावश्यक छ ।

युवा पुस्ता कुनै पनि राष्ट्रको भविष्य हो। उनीहरू दूरदर्शी, विवेकशील र राष्ट्रप्रति प्रतिबद्ध भएमा देश सुदृढ बन्छ। तर यदि उनीहरू भावनामा बग्ने, अध्ययनविहीन र भ्रममा आधारित निर्णय गर्ने अवस्थामा पुगे भने त्यो केवल व्यक्तिगत कमजोरी मात्र होइन– राष्ट्रका लागि नै घातक संकेत बन्न सक्छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker