एमाले उम्मेदवार खनाललाई देवघाट कोटावासीले भने : एमालेले नजितेसम्म यो क्षेत्रको विकास हुँदैन
भञ्ज्याङ समाचारदाता/दमौली

आगामी वैशाख १० गते तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्य उपचुनावको मिति नजिएसंगै उम्मेदवारहरुले चुनावी प्रचार अभियानलाई तीब्रता दिएका छन् ।
उपचुनावका लागि नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल अहिले ग्रामीण क्षेत्रका गाउँगाउँमा पुगेका छन् । तनहुँको कर्णालीका नामले परिचित देवघाट गाउँपालिकाको कोटाबैदी क्षेत्रका बासिन्दाको घरदैलोमा पुगेका एमाले उम्मेदवार खनाललाई स्थानीयले मत दिएर विजयी गराउने प्रतिवद्धता जनाएका छन्।
मत माग्दै गएका एमाले उम्मेदवार तथा नेता कार्यकर्ताहरुसंग कोटका बासिन्दाले नेकपा एमालेले नजितेसम्म यो क्षेत्रको विकास सम्भव नरहेको बताएका छन् । एकचोटी बाहेक सबै पटक यो क्षेत्रमा नेपाली कांग्रेसले जितेको बताउँदै उनीहरुले कोटा विकासमा पछाडि परेको गुनासो गरेका छन् ।
स्थानीसंग मत माग्दै उम्मेदवार खनालले विकासमा पछाडि परेको कोटालाई विशेष प्राथमिकतामा राखेर योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘गाउँमै रोजगारीको वातावरण सृजना गर्न यहाँको सम्भाव्यता अध्ययन गरी कार्यक्रम सञ्चालन गर्न आफु लागिपर्ने र युवालाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्नेछु ।’
‘रोजगार नै नभई बाध्य भएर विदेश जाने अवस्थाको अन्त्य गरिनुपर्छ । त्यसतर्फ हामी योजनाबद्ध भएर लाग्छौ’, उम्मेदवार खनालले भने, ‘ग्रामीण क्षेत्र त्यसमा पनि सामाजिक, आर्थिक रुपमा पछाडी परेका समुदायको उत्थानका लागि आफू सधै लागिपर्ने छु ।’
एमाले उम्मेदवार खनालले आफू नेपाल प्रहरीमा सेवा गर्दा गरेका कामका विषयमा मतदातालाई जानकारी गराउँदै अब जनप्रतिनिधि भएर मुलुकको शान्ति, अमनचयन र विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाएका छन् । नेपाल प्रहरीले २०७५ कार्तिक ११ गते ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम आफैले सञ्चालन गरेको बताउँदै उनले नेपाल प्रहरीले सञ्चालन गरेका विभिन्न कार्यक्रम मध्ये ‘समुदाय-प्रहरी साझेदारी अहिलेसम्मकै वृहत् र सर्वाधिक प्रभावकारी कार्यक्रम ठहरिएको बताए ।
यो कार्यक्रम लिएर नेपाल प्रहरी हजारौं विद्यालयमा, ७५३ वटै स्थानीय तहमा पुगेको छ । हजारौं वडामा पुगेको छ । समाजको विभिन्न वर्ग, समुदाय र तहतप्कामा पुगेको छ । जनतालाई नेपाल प्रहरीसँग जोड्ने यो लोकप्रिय र प्रभावकारी कार्यक्रम ‘समुदाय-प्रहरी साझेदारी’को सुरुवातकर्ता नेपाल प्रहरीका तत्कालिन प्रहरी महानिरिक्षक खनाल थिए ।
अपराध रोकथाम, सामाजिक बिृकती र बिसंगती विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिबृद्धी गर्ने र समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहको विचमा संस्थागत साझेदारी गर्ने उद्देश्यले नेपाल प्रहरीले यो कार्यक्रम सन्चालन गरेको थियो । ‘समुदाय प्रहरी साझेदारी’ अभियान छोटो समयमै देशभर फैलियो ।
समुदायसँग बसेर विकृति र विसंगसतिसँग लड्दै अपराध न्यूनीकरण गर्नमा यो कार्यक्रम प्रभावकारी ठहरिएको छ । नेपाल प्रहरी र स्थानीय तहबीच समझदारी गरेर साझा संयन्त्र मार्फत् सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारीको अवधारणा ल्याइएको तत्कालिन महानिरिक्षक खनाल बताउँछन् ।
न्यून आयस्रोत, बेरोजगार, महँगीजस्ता आर्थिक विशृंखलताले समाजमा अपराध बढाएका छन् । अर्कोतिर, विभिन्न विकृतिले सामाजिक मूल्यमान्यता क्षयीकरण गराएर अपराध जन्मिने भूमि उर्वर बनाएको छ । फलतः जुवा, तास, मादक पदार्थ, लागूऔषध, गुन्डागर्दी, संगठित र पेसेवर आपराधिक क्रियाकलाप लगायतका सामाजिक अपराध डरलाग्दा भएका छन् महिलामाथिका यौनजन्य र अन्य दुर्व्यवहार, छुवाछूत, छाउपडीजस्ता महिला तथा बालबालिका विरुद्धका अपराध भयावह बढेको अवस्थामा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमले यस्ता अपराध रोक्न निकै सहयोग पुगेको नेपाल प्रहरीको विश्लेषण छ ।
यो अभियान सातवटै प्रदेश, ७७ वटै जिल्ला र ७५३ स्थानीय तहमा एकैचोटि सुरु भएको थियो । हरेक जिल्ला, पालिका, वडा, टोल र स्थानीय विद्यालयमा कार्यक्रम सञ्चालन भएका छन् । समुदाय र विद्यालय केन्द्रित सचेतना र अन्तरक्रिया भइरहेका छन् । सुरक्षात्मक पर्चा, पम्प्लेट वितरण गरिएका छन् । सचेतनामूलक भिडियो क्लिप र समाचार प्रसारण भइरहेका छन् । सामुदायिक सुरक्षा पाठ्यक्रम तयार गरी सोहीअनुरुप शिक्षक र विद्यार्थीलाई परिचालन गरिएको छ ।
यो अभियानबाट आधारभूत मानवीय सुरक्षा, मानव बेचबिखन सुरक्षा, महिला, बालबालिका र वृद्धहरूको सुरक्षा, बालविवाह रोकथाम, दाइजो अन्त्य, छाउपडी, बोक्सी लगायतका सामाजिक विकृतिको निराकरण, सडक सुरक्षा, एकीकृत सेवा प्रवाह, लागूऔषध, मदिरा, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न मद्दत पुगेको छ ।
प्रहरी महानिरीक्षकको जिम्मेबारी सम्हालेपछि सर्वेन्द्र खनालले ‘समुदाय प्रहरी साझेदारी’ को अवधारणा र्सार्वकजनिक गरेका थिए । सरकार र प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न सक्ने नभएकाले समुदायको सहभागिता अनिवार्य भएको महसुस गर्दै यो अवधारणा ल्याईएको खनालले बताए । अन्ततः खनालले सोचे झैं ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सफल हुँदै गएको छ । आमनागरिक बर्दीविनाको प्रहरी भएकाले प्रहरीले सञ्चालन गर्ने अपराध नियन्त्रण अभियानमा समुदायको सहभागिता अनिवार्य भएको हुँदा ‘समुदाय-प्रहरी साझेदारी’ अभियानको अवधारणा ल्याईएको खनालले बताए।
‘यो अभियानले महिला हिंसा, बालबालिकामाथिको बलात्कार, हत्या र अपहरण लगायतका घटनालाई नियन्त्रण गर्न नयाँ पहल कदमी लिएको भन्दै खनालले शान्ति सुरक्षा समृद्ध समाज निर्माणको महत्वपूर्ण पक्ष भएको बताए । समृद्ध नेपाल सुखी नेपाली निर्माणका लागि शान्तिसुरक्षा र अपराध मुक्त समाज पहिलो प्राथमिकता भएको चर्चा गर्दै खनालले समाजलाई अपराधमुक्त बनाउन यो अभियान सफल भएको बताए ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा खनाल नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदबार बनेका छन् । चुनावी अभियानको क्रममा पनि खनालले आफु जागिरे जीवनमा अपराधमुक्त समाज निर्माणकालागि सक्रिय भएको र अव राजनीतिकको अपराध सङ्लो बनाउन चुनावी मैदानमा आएको बताए । उनले सांसदमा निर्वाचित भएपछि अपराधीलाई कडा भन्दा कडा कारवाही गर्ने कानुन बनाउन पहल गर्ने बताएका छन् ।
खनालले आफु प्रहरी सेवामा हुँदा अपराधीलाई कारवाहीको दायरामा ल्याएपनि कानुनमा भएको छ्रि्र प्रयोग गरेर अपराधीहरुले उन्मुक्ति पाउने गरेको बताए । अव आफ्नो मुख्य ध्यान कानुनका ति छ्रि्रहरु टाल्ने भएको हुँदा त्यसकोलागि संसदमा जानु पर्ने आवश्यकता भएको उनले बताए । खनालले आफ्नो प्रहरी सेवाको क्रममा आफ्नो मुख्य ध्यान अपराध नियन्त्रण, शुशासन, भ्रष्टाचारको अन्त्य, गुन्डाराजको अन्त्य, मिटरव्याजीहरुलाई निस्तेज, अपहरणकारी, हप्ता अशुली, विद्युत चुहावट, म्याज फिक्सिङ, मानव बेचबिखन, दाईजो प्रथा जस्ता कुरीति र अपराधलाई जरैदेखी उखेल्ने प्रयास भएको बताए । तर त्यस्ता अपराधीहरुको विरुद्धमा प्रहरीले मुद्धा चलाइसकेपछि कानुनका छिद्र प्रयोग गरेर उनीहरुले उन्मुक्ति पाउने र त्यस्तै अपराधीहरु अहिले राजनीतिको मुलधारमा समेत आएको भन्दै खनालले त्यही कानुनको छिद्रलाई टाल्न आफु पनि राजनीतिको मैदानमा आएको बताएका छन् ।










