तनहुँको भानुमा कक्षा ८ को प्रश्नपत्र निर्माण कार्यशाला सञ्चालन
भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिकामा प्रश्नपत्र निर्माण कार्यशाला शुरु गरिएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले कक्षा ८ को प्रश्नपत्र निर्माण कार्यशाला सञ्चालन गरेको हो । भानु-२ नारेश्वरटारस्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा आयोजित कार्यशालाको नगर उपप्रमुख उमा गोतामेले शुभारम्भ गरेकी थिइन् ।
कार्यशालामा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले कार्यशालाको उद्देश्य, महत्व र औचित्य माथि प्रकाश पारेका थिए। आधारभूत तह कक्षा ६-८ मा अध्यापनरत विषयगत शिक्षकको प्रश्नपत्र निर्माण सीपको विकास गर्राई स्तरीय प्रश्नको माध्यमबाट मर्यादित र गुणस्तरीय मूल्यांकनको आधार तयार गर्ने कार्यशालाको मूल उद्देश्य रहेको उनले बताए ।
पहिलो चरणको यस कार्यशालामा भानुमा आधारभुत तह कक्षा ८ मा अध्यापनरत गणित र विज्ञान विषयका शिक्षकहरूको सहभागिता रहेको छ । कार्यशालामा सहजकर्ताको रूपमा शिक्षकहरु ज्ञानेन्द्र पण्डित, यदुनाथ न्यौपाने र सञ्जय श्रेष्ठ रहेको शिक्षा अधिकृत सरस्वती गुरूङ ढकालले जानकारी गराइन।
कार्यशालाको पहिलो सत्रमा प्रश्नपत्र निर्माण सम्बन्धित सैद्धान्तिक, व्यवहारिक, पाठ्यक्रम र विशिष्टीकरण तालिका लगायत साझा विषयमा छलफल गरिएको थियो ।
कार्यशालाको दोस्रो सत्रबाट विषयगत अलगअलग समूहमा छलफल भई प्रश्नपत्र निर्माणको कार्य प्रारम्भ भएको छ । कार्यशालाको अन्तसम्म प्रत्येक विषयका ५-५ सेट प्रश्नपत्र निर्माण भई प्रस्तुतीकरण समेत गरिने भएको छ । दुबै समुहमा गरी ४८ जना शिक्षकहरूको सहभागिता रहेको कार्यशाला समापन भएपछि लगत्तै बाँकी तीन विषयहरू अंग्रेजी, नेपाली र सामाजिकको प्रश्नपत्र निर्माण कार्यशाला सञ्चालन गरिने भएको छ ।










