तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना

दमौली : तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो ।
आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले १७ हजार आठ सय ७५ प्रतिष्ठानको कागजी प्रश्नावलीमार्फत र ७३ प्रतिष्ठानको इ–सेन्ससमार्फत गणना गरिएको जानकारी दिनुभयो ।
तनहुँ जिल्लामा २०७५ सालमा गरिएको आर्थिक गणनामा १२ हजार चार सय ३३ प्रतिष्ठानको गणना गरिएको थियो । हालको गणना कार्यका लागि १७ हजार तीन सय ६६ लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी प्रतिष्ठानको गणना गरिएको सिग्देलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लक्ष्यभन्दा १०३ प्रतिशत बढीले गणना कार्य सम्पन्न भएको छ । गणना सङ्ख्या अझै बढ्नेछ र असार मसान्तसम्ममा प्रतिष्ठानको अन्तिम सङ्ख्या प्राप्त हुनेछ ।”
आर्थिक गणनामा गणनाको दायराभित्र पर्ने सन्दर्भ अवधि (आर्थिक वर्ष २०८१/८२) मा आर्थिक क्रियाकलाप सञ्चालन गरेका सबै प्रतिष्ठानहरूको तथ्याङ्क सङ्कलन गरिएको छ । सिग्देलले यो पूर्ण गणना भएको हुनाले कुन पनि प्रतिष्ठान छुट्नु हँुदैन र प्रतिष्ठान नछुटुन् भन्ने अभिप्रायले कार्यालयले जिल्लास्थित विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका विभिन्न सङ्घसंथासँग समन्वय तथा सहकार्य गरिएको सिग्देलले बताउनुभयो ।
गणना कार्य समन्वय गर्न जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला आर्थिक गणना समन्वय समिति गठन भएको छ भने पालिकास्तरमा स्थानीय तह प्रमुखको संयोजकत्वमा समन्वय समितिहरू गठन भएका छन् । त्यसैगरी वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा आर्थिक गणना वडा सहजिकरण समिति क्रियाशील रहेको छ ।
गणनामा कुनै पनि प्रतिष्ठान छुटे नछुटेको अनुगमन गर्नका लागि आइतबार नै तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला आर्थिक गणना अधिकारीसमेतको समूहले जिल्लाका म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाको अनुगमन निरीक्षण गरेको छ । सो अवसरमा होटल व्यवसायी सङ्घ तनहुँका अध्यक्ष गिरीबहादुर थापा, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, स्थानीय उद्योग व्यवसायी तथा फिल्डमा खटिएका गणक तथा सुपरिवेक्षकसँग भेटघाट तथा अन्तरक्रिया गरिएको थियो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले गणना कार्यको प्रगति तथा समस्याका बारेमा जानकारी लिनुभएको थियो भने सो अवसरमा प्रमुख जिल्ला अधिकारीबाट शुक्लागण्डकीस्थित कृषिउपज सङ्कलन बिक्री केन्द्रको अनुगमन गर्नुभएको थिो ।










