महिला दिवस राम्रो ठाउँमा हुनेहरुका लागि मात्र हो, हाम्रो दुःख कस्ले देख्छ र ?
राजकुमार आले (दुलेगौंडा)
मार्च ८ तारिख, १११औं अन्तर्राष्ट्रिय नारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइयो । सरकारी, गैरसरकारी संस्थाका कर्मचारी, बैँक तथा वित्तीय संस्थादेखि विद्यालयका कर्मचारीहरुलाई विदा थियो । सामाजिक संघ संस्थामा आवद्ध महिलाहरु महिलाको सुरक्षा, सम्मान् र रोजगार, समृद्ध नेपालको आधार भन्ने नारा लगाउँदै नारी दिवस कार्यक्रममा सरिक भए । तर वास्तविक श्रमिक महिलाहरु भने सदा झैँ दिनभर काममा संलग्न भए ।
तनहुँको शुक्लागण्डकी-४, गाछेपानीस्थित शुक्लागण्डकी कागज कारखानामा काम गर्ने दिदीबहिनीहरुलाई पनि नारी दिवसले छोएन । उनीहरु सधैँ झैँ आफ्नै काममा व्यस्त देखिन्थे । उनीहरुलाई नारी दिवस के हो, किन मनाइन्छ र नारी दिवसको महत्व के छ, केही थाहा छैन । कारखानामा काम थालेकी सरस्वती सापकोटाले नारी दिवस भन्ने सुनेको भएपनि किन मनाइन्छ भन्नेबारे अनविज्ञता प्रकट गरिन् ।
उनले भनिन्, ‘नारी दिवस ठाउँमा हुनेहरुका लागि हो, हाम्रो लागि त कागलाई बेल पाक्यो हर्ष न विष्मात् ! दिवसबारे थाहा पनि छैन कहिल्यै मनाइएको पनि छैन । हामी जस्तालाई काम नै ठुलो हो, काम गर्न पाए यसमै खुसी छौँ ।’
नारीपुरुष सरोबरी, सँधै भरि बरोबरी भन्ने नाराका साथ लैङ्गकि समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्ने गरिन्छ। नेपालको संविधानमा मौलिक हक अन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था पनि गरेको छ । महिला दिवसको विजारोपण अमेरिकाबाट सन् १९०८ मा भएको थियो ।

नारी दिवसको इतिहास निकै पुरानो भए पनि नेपाली समुदायका श्रमिक महिलाहरुले दिवसको महत्व बुझन सकेका छैनन् र बुझनेले बुझाउन पनि सकेनन् । श्रमिकहरुको नेता मञ्चको भाषणमै सिमित रहे । यसै गरी सोही कारखनामा कार्यरत म्याग्दीकी गोमा रसाइलीले लैङ्गिक समानाताको कुरा उठेपनि व्यवहारमा अझैसम्म विभेद नै रहेको बताउँछिन् । ‘हामीहरु पुरुषकै दाँजोमा काम गर्र्छौ, तर ज्यालामा अन्यायमा परिरहेका छौँ, खै त समानता ? हामी अन्यायमा परेको कहाँ गएर भन्ने, हाम्रो आवाज कस्ले पो सुनिदिन्छ र ? उनले दुखेसो पोखिन् ।’
सोही कारखानामा काम गर्ने कास्कीकी सन्ध्या खत्रीले नारी दिवस र महिला हकअधिकारको कुरा गर्ने वित्तिकै आखाँबाट आँशु झारिन् । बुबा आमाको अनुमति बेगर सानैमा भागेर विवाह गरेकी उनी अहिले श्रीमानबाट पीडित छिन् । दुइ सन्तानकी आमा सन्ध्याका श्रीमानले अर्कै श्रीमती बिहे गरेर विदेश गएपछि छोरीहरुको पालन पोषण आफै गर्दै आएकी छिन् ।
‘मलाई यो दिवसबारे केही थाहा छैन, काम गरेर एक/दुइ पैसा कमाउन पाए, छोरीहरलाई खाजा खर्च र कापी कलम किन्न पाइन्थ्यो भन्ने हुन्छ’, उनले भनिन् ‘सानैमा भागेर विहे गरे । पहिला त्यति माया गर्ने श्रीमानले अर्कै विहे गरेर बसेका छन् । म अन्यायमा परेकी छु । बाआमालाई पनि केही भन्न सक्दिन । मेरो पक्षमा बोलिदिने कोही छैन ।’
यसै गरी तनहुँ म्याग्दे गाउँपालिकास्थित थर्पु बजार छेबैमा नारी दिवसको कार्यक्रम भइरहेको थियो । महिलाहरु महिला हकअधिकारका प्लेकार्ड सहित आ-आफ्ना जातीय पोशाकमा सजिएर विभिन्न ठाउँबाट कार्यक्रममा सहभागी भएका थिए । तर कार्यक्रमको स्टेज पछाडीपट्टी इट्टाको थुप्रो थियो । त्यही इट्टा बोक्दै थिइन् मनहरीकी नमुना श्रेष्ठ ।
निकै जिज्ञासाका साथ कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरुलाई हेर्दै र इट्टा बोक्दै गरेकी नमुनालाई आज नारी दिवस भन्ने नै थाहा रहनेछ । महिलाहरुको कार्यक्रमम सहभागी भएर हेर्न सुन्न मन भए पनि आफुहरु जस्तो काम गरेर खानेहरुका लागि काम नै ठुलो हुने बताइन् । ‘महिलाहरुको कार्यक्रम भनेपछि सुन्न र हेर्न मन लाग्छ’, उनले भनिन्, ‘तर के गर्नु हामीलाई त केही थाहा हुदैन, जहिले काम भन्यो, ढुङ्गागिटी, बालुवा, इट्टा बोक्नै ठिक्क छ, अरु बाहिरी कुरा बारे केही थाहा छैन ।’
बर्षेनी नारी दिवस मनाइन्छ । सभा, समारोह तथा मञ्चहरुमा समानता र नारी सुरक्षाका चर्का भाषणहरु हुन्छन् । तर वास्तविक श्रमिक महिलाहरुको अवस्था भने उस्तै छ । दिवसपिच्छे फेरिने नारा, नारामै सिमित भइरहेको छ । कानुनमा हरेक हकअधिकारको व्यवस्था गरिएको भएपनि व्यवहारमा कार्यान्वयन नहुँदा समस्या देखिएको छ ।










