बन्दिपुरको भानु माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण, एक हप्ता विद्यालय बन्द
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-२ स्थित एक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । बन्दिपुर स्थित भानु माध्यमिक विद्यालयका ७ विद्यार्थी र २ शिक्षकमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएपछि ५२ जनाको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको विद्यालयका प्रधानध्यापक ऋषिराम ढकालले बताए ।
‘विद्यालयले सञ्चलान गरेको होस्टलमा अध्ययनरत कक्षा १० का दुइ जना विद्यार्थीलाई गत हप्तादेखि नै कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएको थियो’, उनले भने, ‘त्यसको केही दिनमा नै अन्य १०/१२ जनामा पनि त्यस्तै लक्षण देखिन थालेपछि गत बुधबार गरिएको परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ देखियो ।’

एकदुइ हप्तादेखि विद्यालयका अन्य विद्यार्थीलाई पनि ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्ने जस्ता समस्य देखिएको प्रधानध्यापक ढकालले बताए । अन्य विद्यार्थीहरु पनि उच्च जोखिममा रहेका हुँदा संक्रमण नफैलियोस् भनि पुष १ देखि ७ गतेसम्मका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएकालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई होम आइसोलेशनमा बस्न लगाइएको छ भने अन्य विद्यार्थीलाई पनि स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर घरमै सुरक्षित बस्न भनिएको विद्यालयले जनाएको छ ।
यस्तै, एकै विद्यालयका शिक्षक विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले आग्रह गरेका छन् ।

बिहीबार एक विज्ञाप्ति जारी गर्दै अध्यक्ष थापाले कोरोना संक्रमण जोखिम उच्च बन्दै गएको हुँदा गाउँपालिकाका सबै विद्यालयलाई पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पठनपाठन गराउन आग्रह गरिएको छ ।
गाउँपालिकाले कोरोनाको जोखिम कायम रहेसम्म शैक्षिक भ्रमण, बाषिर्कोत्सव लगायतका उच्च संख्यामा भौतिक उपस्थिति हुने गरी कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।










